बर्मा गए कर्मसँगै, नेपाल आए कपालसँगै
राजकुमार शर्मा, म्यान्मार
‘बर्मा आए कर्मसँगै, नेपाल गए कपालसँगै’, यो उखान नेपालभित्रझैँ बर्माको नेपाली समुदायमा पनि प्रचलित छ ।
आफूसँगै कर्म लिएर बर्मा आएका ‘गोर्खा’ (नेपाली) समुदायलाई बर्मामा बाँच्न कुनै कठिनाई छैन तर मनमा पीडा भने अनेक छन् । नेपाली मूलका बर्मेलीहरू थातथलो छाडेर भाग्न बाध्य भएको विगतको त्यो समय, ती दिनहरू सम्झिँदा अहिले पनि भावुक हुन्छन् ।
दोस्रो विश्वयुद्धताका जापानी सेनासँग लड्दा–लड्दै सयौँ गोर्खाहरू शहीद भए तर बर्मालार्ई भने जोगाएरै छाडे । वीर गोर्खालीहरू जापानी फौजविरूद्ध डटेर युद्ध मैदानमा खटेका थिए ।
गौरवपूर्ण इतिहास बोकेका गोर्खाहरूको आज पनि आ–आफ्नै दुःख छ । उनीहरू कहिल्यै एक ठाउँमा थपक्क बस्न सकेनन् । पूर्वदेखि पश्चिमसम्म, बर्मादेखि भारतहुँदै नेपालसम्म, पहाडी गाउँदेखि समुन्द्री मैदानसम्म छरिएर बसोबास गर्नेहरूका अनेक कथा–व्यथा देखिन्छन्, सुनिन्छन् ।

युद्धको सन्त्रासले त्यतिबेला कयौँ नेपालीभाषीहरू मुलुक फर्के । जापान–ब्रिटिश युद्धको समयमा होस् या सैनिक तानाशाहले ‘कू’ गरी सत्ता हत्याएपछि मच्चिएको दङ्गा, बर्मेली–नेपालीहरूको सबैभन्दा कठिन समय हो, त्यो । कहानीजस्तै लाग्ने उक्त अवस्था गोर्खाहरूको वास्तविक भोगाइ हो ।
हिँडेरै भारत छिरेका कतिपय बर्मेली–नेपालीहरू त्यसै बसे । कति त मुलुक नै पुगे । थकानसँगै लामो बाटो हिँड्दा–हिँड्दै ज्यान गुमाउनेहरूको त लेखाजोखा नै छैन । संकटको अवस्थामा जन्मभूमि नछाड्नेहरूको संख्या पनि उत्तिकै थियो । उनीहरू बर्माका विभिन्न ठाउँमा जसोतसो रमाइरहेका छन् तर राजनीतिक उथलपुथलका कारण भने हैरान देखिन्छन् ।
मुलुक फर्किनेहरूको इतिहास हेर्दा यस्तो लाग्छ, अब कहिल्यै त्यो दिन नआओस् । कति लुटिए, कति ठगिए । कति धोकामा परे, कति मारिए । कति त बर्मामै लुकेर बसे ः बस्, बाँच्न कै लागि ।
निश्चल रगत र पसिनाले कमाएको धन–सम्पत्ति लुटिँदा टुलुटुलु हेर्ने अवस्था नै थिएन । कुनै न कुनै नयाँ उपाय सोच्नै पथ्र्यो । त्यसैले ‘कर्मसँगै बर्मा आएका’ नेपाली मिलिजुली बसेका थिए । राजनीतिक सङ्कटले दुःख दियो । आजको दिनसम्म पनि यहाँ बसोबास गर्ने नेपालीभाषीहरू एकताको सूत्रमै बाँधिएका छन् ।

छट्पटिँदै जीवनको गोरेटोमा यात्रारत गोर्खाहरू कुनै समय कडा पीडाका साथ बाँच्न बाध्य थिए । फोन थिएन, इण्टरनेट त झन् हुने कूरै भएन । माता–पिताहरू युद्ध मैदानदेखि गोठालोको दैनिकी भुलिरहेको बेला बिछोडिएका सन्तानहरू मणिपुर, असम हुँदै नेपालसम्म फैलिए तर सम्पर्कबिनै ।
कतिपयका छोरी–ज्वाइँ भारत, नेपाल पसे । मातापिता बर्मामै रहे । दाजुभाइ नै बर्मा, भारत र नेपालसम्म बाँडिए । रहरले होइन, बाध्यताले । आज पनि प्रायः बर्मेली–नेपालीहरू तीन देशमा तीनतिर छरिएर आ–आफ्नै दैनिकीमा भुलेका छन् ।
परिवारमा नयाँ सदस्य थपिए वा कसैको मृत्यु भए पनि महिनौंपछि मात्रै खबर मिल्थ्यो– त्यो समय । आज सामाजिक सञ्जाल छ र पो सजिलो छ । नत्र ती दिनका ती दुःख तिनीहरूलाई सोध– जसले अर्को जीवन पाएका थिए ।
सङ्कटले चारैतिर तितरबितर भएकाहरूले यहाँ नयाँ मुलुक बनाए । मिलेरै बसे । एकआपसमा नाता जोडे । कुनै जातपातको भेदभाव नगरी मित्रवत सम्बन्ध स्थापित गरे ।
मातापिता नेपाल फर्किएकाहरूले धर्म मातापिता बनाए । दाजुभाइ–दिदीबहिनीहरू पनि त्यसै गरी जोडिए । तीज, दशैँ र तिहारमा रमाउँदै–रमाउँदै आइरहेका छन् । सबैभन्दा ठूलो कुरा यहाँका नेपाली समुदायले तिहारमा कहिल्यै पनि आफ्नो निधार खाली बनाएनन् । नेपालीहरू आफ्नै संस्कार र संस्कृतिमा रमाए र बर्माको विभिन्न गाउँ–ठाउँमा विस्तार गरे ।
टिप्पणीहरू