डाक्टरकी पत्नी घरेलुहिंसा पीडित, ज्यान जोगाउन गरिन् हारगुहार
महोत्तरीकी नेहा चौधरीले प्रहरी महिला सेलमा जाँदा पनि न्याय नपाएको भन्दै न्यायको निम्ति सार्वजनिक रुपमा हारगुहार गरेकी छन् । औराही १, महोत्तरीकी २१ वर्षीया नेहा चौधरीले उक्त गुहार मागेकी हुन् ।
नेहाको बिहे रामगोपालपुर महोत्तरीका ३१ वर्षीय डाक्टर पंकज चौधरीसँग आठ महिना अगाडि भएको हो । उनीहरुको प्रेम पछि विवाहमा परिणत भएको बताइन्छ ।

विवाहमा डाक्टरको इच्छाअनुसार २० तोला सुन, फर्निचर र अन्य सामान खरिदमा १ करोड २५ लाख खर्च भएको नेहाको भनाइ छ । विवाह जनकपुरको राजदरबार होटल बाट भएको थियो ।
वैवाहिक जीवनले नयाँ मोड लिएपछि उनले रुँदै गुहार मागेकी हुन् । उनले भनेकि छन् ’मैले विवाहपछि सँगै काठमाडौं गएर बस्छु भनेँ । एक्कासी तेरो परिवारलाई काठमाडौंमा घर किन्न लगा भन्दै मुख र पेटमा हाने ।’
सासु सासुराको कुरो सुनेर डाक्टर श्रीमान्ले पटक पटक पिटेको उनको भनाइ छ । कुटाइका कारण शरीरमा ब्लड क्लट्स (कालो दाग) देखिन थाल्यो, तर पनि परिवारका कुनै पनि सदस्यले आफ्नो गुनासो नसुनेको नेहा बताउँछिन् ।

श्रीमतीलाइ महोत्तरीमा राखेर श्रीमान् काठमाडौंमा बसेर ग्राण्डी हस्पिटलमा काम गरिरहे । श्रीमानको पिटाइको दाग देखाउँदै नेहा प्रहरीको महिल सेल पुगेर उजुर गरिन् । त्यसको चार दिनपछि श्रीमान सेलमा उपस्थित भएको प्रहरीको भनाइ छ ।
त्यसपछि प्रहरीले नै श्रीमान श्रीमतीलाई सल्लाह गर्न लगाए । प्रहरीको सेलभित्रको गोप्य कोठामा नै डाक्टरले नेहामाथि हातपात गरेको उनी दाबी गर्छिन् । तर बाहिर निस्केर डाक्टरले उल्टै प्रहरीसँग श्रीमतीले हातपातको प्रयास गरेको आरोप लगाउँदा प्रहरीले सुनेकोमा उनी दुःख व्यक्त गर्छिन् । डाक्टर श्रीमान दुई दिन प्रहरी हिरासतमा बसेपछि आफूलाई स्वीकार्न नसक्ने भन्दै पन्छिएको नेहाको भनाइ छ ।
आफूले घरेलुहिंसाको मुद्दा दर्ता गराएकै दिन श्रीमानले सम्बन्ध विच्छेदको मुद्दा हालेका हुन् । मुद्दापछि घर छिर्न नदिएका ससुराले नेहाकी आमालाई धम्काउँदै छोरी फिर्ता लैजान चेतावनी दिए । श्रीमानले नेहाको अनुहार बिगरिदिने धम्की दिए ।
यतिखेर सम्बन्ध विच्छेद हुँदा अंश दिनुपर्ने डरले सासू ससुराले चल अचल सबै सम्पत्ति छोरीहरुको नाममा पास गरिदिएको बुहारी नेहा बताउँछिन् । घटनाबारे बुझ्न श्रीमान पंकजसँग उनको मोबाइलमा गरिएको सम्पर्क प्रयास सफल हुन सकेन ।
शिक्षित परिवारमा वैवाहिक सम्बन्ध राखेको एक वर्ष नपुग्दै घरेलु हिंसा पीडित बन्न पुगेकी नेहा अहिले माइतमा बसेको बताउँछिन् । सर्वत्रबाट धम्की आउन थालेपछि हारगुहार गरेको उनको भनाइ छ ।

टिप्पणीहरू