एमाले महासचिवले फेरि उठाउनुभयो राजधानीको प्रसङ्ग
एमाले महासचिव तथा दाङको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले लुम्बिनी प्रदेशको राजधानी यसअघि नै तोकिएकाले फेरि नयाँ चर्चा चलाउनुको तुक नभएको बताउनुभएको छ । उहाँले प्रदेशको राजधानी पटक–पटक तोक्न नमिल्ने उल्लेख गर्नुभएको छ ।
आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने क्रममा उहाँले यसअघिको अस्थायी राजधानी बुटवललाई दाङमा सारिएकाले फेरि त्यहि कुरो कोट्याउन नहुने बताउनुभएको हो । पोखरेलले भन्नुभयो, ‘प्रदेशको राजधानीबारे प्रदेशसभाले यसअघि नै टुङ्गो लगाइसकेकाले अब त्यहि कुरो दोहोर्याउनुको अर्थ छैन ।’
संविधानले प्रदेशको राजधानी एक पटक तोक्ने व्यवस्था गरेबमोजिम लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा तोक्ने काम प्रदेश सभाले गरिसकेको उहाँको भनाइ छ । घोराही उपमहानगरपालिका १३ का मतदातासँगको भेटघाट कार्यक्रममा एमाले महासचिवले प्रदेशसभाले तोकेको राजधानीलाई कार्यान्वयन गर्नैपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका मन्त्रालयहरु अझै पनि बुटवलबाट दाङ गएका छैनन् । अहिलेको सरकारले त्यसलाई कार्यान्वयन गर्न नसकेको उहाँको आरोप छ । आफ्नो धारणा राख्ने क्रममा पोखरेलले विपक्षी दलहरुप्रति संकेत गर्दै भन्नुभयो, ‘राजधानी तोक्ने कार्य कुनै मजाकको विषय होइन ।’
टिप्पणीहरू