गैरकानुनी रुपमा बसेका नेपालीलाई प्रलोभनमा नपर्न दूतावासको आग्रह
मलेसियास्थित नेपाली दूतावासले भीसाको म्याद सकिएपछि पनि ‘ओभरस्टे’ बसेका नेपाली नागरिकलाई अनधिकृत व्यक्तिहरुको प्रलोभनमा नपर्न आग्रह गरेको छ ।
मलेसियामा गैरकानुनी रुपमा बसेका विदेशी नागरिकलाई कानुनी हैसियत दिलाइदिने प्रलोभनमा ठग्ने कार्य बढेकाले दूतावासले सतर्क रहन भनेको हो ।
गैरकानुनी रुपमा बस्दै आएका विदेशी नागरिकलाई आफ्नो मुलुक फर्किन मलेसियाले लागु गरेको ‘रिक्यालिब्रेसन’ कार्यक्रम गत जुन ३० गते सकिइसकेको छ ।
हाल त्यस्तो कुनै कार्यक्रम नभएको पनि दूतावासले जनाएको छ । अब त्यस्ता नागरिकले जरिवाना वा कैद सजाय भोगेर मात्र आफ्नो देश फर्किन पाउने मलेसियाको अध्यागमन कानून रहेको दूतावासले जानकारी गराएको छ ।
कुनै नेपाली श्रमिक त्यस्तो अवस्थामा भए र सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । त्यसका लागि दूतावासले आफ्नो हटलाइन नम्बर सार्वजनिक गरेको छ । यस्तै, इमेलमार्फत पनि सम्पर्क गर्न सकिने बताइएको छ ।

टिप्पणीहरू