हामी निकै संयमित छौं : निर्वाचन आयुक्त भण्डारी

हामी निकै संयमित छौं : निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग यस पटकको निर्वाचनमा दण्डात्मक रुपमा प्रस्तुत भएको बताउनुभएको छ । आयुक्त भण्डारीले आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरेका कारण उल्लंघनका घटनामा कमी आएको उल्लेख गर्नुभयो ।

‘आयोगलाई उत्तेजित भएको आरोप लागे पनि हामी आचारसंहिता पालना गराउने सन्दर्भमा संयमित छौं,’ उहाँले भन्नुभयो । आचारसंहिता उल्लंघन हुने समय प्रचारप्रसारको अवधिमा धेरै हुने भएकाले सो अवधिलाई घटाएका कारण यस पटक अप्रिय घटना कम भएको उहाँको दाबी छ ।

‘प्रचारप्रसारको समय जम्मा १७ दिन दियौँ । झडप हुने, नमिठो अवस्था सिर्जना हुने अवस्था पनि यही हो । यसलाई नै छोट्याइदिएपछि आचारसंहिता उल्लंघन गर्ने, झडप हुने कम हुँदो रहेछ,’ उहाँले भन्नुभयो ।

आयोगमा आचारसंहिता उल्लंघनका १४९ वटा उजुरी परेका छन् । त्यसमध्ये ११६ जनालाई स्पष्टीकरण सोधिएको छ । आयोगले नौ वटामा आचारसंहिता उल्लंघन भएको निर्णय गरिसकेको बताइएको छ ।

टिप्पणीहरू