सञ्चारमन्त्री कार्कीविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी
निर्वाचन प्रचार प्रसारको क्रममा ४० वटा चारपाङग्रे गाडी प्रयोग गरिएको भन्दै नेकपा एमालेले सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध उजुर गरेको छ । एमाले निर्वाचन परिचालन समिति सुनसरी ४ का संयोजक सरोज कुमार पोखरेलले आज मन्त्री कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीमा आचारसंहिता उल्लंघनको उजुरी दिएका हुन् ।
निर्वाचन प्रचारमा उम्मेदवारले बढीमा दुई वटा चार पाङ्ग्रे गाडी प्रयोग गर्न पाउने आचारसंहिता भए पनि मन्त्री कार्कीले ४० वडा गाडी प्रयोग गरेको एमालेको आरोप छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार समेत रहनुभएका मन्त्री कार्कीले सार्वजनिक सडकमा टेण्ट टाँगेर चुनावी सभा गरेको उजुरीमा उल्लेख छ ।
यस्तै एमालेले तीन पालिका प्रमुख र जिल्ला समन्वय समिति प्रमुखविरुद्ध पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आचारसंहिता उल्लंघनको उजुरी दिएको छ । जसमा हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र जिसस सुनसरीका प्रमुख राजन मेहता छन् । निर्वाचित जनप्रतिनिधिले राजनीतिक दल वा उम्मेदवारको पक्षमा भोट माग्न नहुने आचारसंहिता भए पनि उनीहरुले काँग्रेसबाट चुनावी प्रचार प्रसार गरिएको संयोजक पोखरेलको दाबी छ ।

टिप्पणीहरू