राजधानीमा प्रहरीकै सामुन्ने जनयुद्ध र निर्वाचन बहिष्कारको खुल्ला चुनौती
चुनावको विरोध गर्दै आएका तीन कम्युनिष्ट पार्टीले ‘भण्डाफोर कार्यक्रम’ थालेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीसहित अन्य तीन दलले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विरोधमा ‘भण्डाफोर कार्यक्रम’ गर्दै आएको छन् ।
विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा र आहुतिको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले ललितपुर महानगरपालिका–१२, लगनखेल चोकमा आज दिउँसो विरोध सभा गरेका हुन् ।
उनीहरुले पर्चा बाँडेर कार्यक्रमलाई अघि बढाएका थिए । अनेरास्ववियू क्रान्तिकारी (विप्लव समूह) का जिल्ला अध्यक्ष निगम भण्डारीले राज्यसत्ताले जनतालाई कठ्पुतली बनाई निर्वाचनको नौटङ्की गरेको आरोप लगाएका छन् । ‘निर्वाचनमा पैसाको खोलो बगाएर पैसा कमाउनेको झुण्ड खडा भएको छ’, उनले भने, ‘हाम्रो पार्टी यसको विरोधमा छ ।’
वैज्ञानिक समाजवादीका नेता विकास घिमिरेले अहिलेको राज्यसत्तामा दलालहरुको समूह संलग्न भएको बताएका छन् । उनले यसलाई फालेर वैज्ञानिक समाजवादी शासनमा लैजानुपर्ने धारणा राखेका हुन् ।
त्यस्तै, नेकपा विप्लव पार्टीका नेता देवेन्द्र शाहीले वर्तमान शासन प्रणाली असफल रहेको दाबी गरे । उनले आगामी निर्वाचन बहिष्कार गर्न सम्पूर्ण जनसमुदायलाई आग्रह गरेका छन् ।
‘हामी यो निर्वाचन बहिष्कार गर्न सम्पूर्ण जनसमुदायलाई आग्रह गर्दछौं’, उनले भने, ‘यो व्यवस्था बदल्न क्रान्तिको आवश्यकता छ, चाहे हतियार नै किन उठाउन नपरोस् ।’
प्रदर्शनकारीहरुले नजिकै रहेका प्रहरीलाई सुनाउँदै निर्वाचन बहिष्कार र जनयुद्धको खुल्ला चुनौतीसमेत दिएका छन् । उनीहरुले सर्वसाधारणमा आमनिर्वाचनप्रति कुनै उत्साह नभएको ठहर गरेका हुन् ।
सामान्य सुधार गर्न नसक्ने व्यवस्था रक्षाका लागि निर्वाचन गरिएको उल्लेख गर्दै उनीहरुले यसको भण्डाफोर गर्नुबाहेक अन्य कुनै विकल्प नभएकोमा जोड दिएका थिए ।



टिप्पणीहरू