रुपन्देही १ को निर्वाचन : पूर्व एमाले उम्मेदवारहरुको चेपुवामा वर्तमान एमाले
निर्वाचन प्रचार प्रसारको समय अवधि छोटिँदै जाँदा उम्मेदवारहरुमध्ये कसले जित्ला र हार्छ भनेर अड्कलबाजी हुन थालेको छ । यसैबीच रुपन्देही क्षेत्र नम्बर १ मा एमाले र पूर्व एमाले उम्मेदवारहरुबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
एमाले केन्द्रीय सचिव छबिलाल विश्वकर्मालाई राप्रपा र जसपाले समर्थन गरेर चुनावी प्रचारलाई तीव्रता दिएका छन् । एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले त्रीभुज चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवारको प्रचारमा व्यस्त छन् । उनलाई नेपाली काँग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमो, लोसपा र राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरेका छन् ।
अर्कोतिर टीकाराम चापागाईंले ४१ वर्षीय एमाले राजनीति छाडेर चापाकल चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमाले र पूर्व एमाले नेताहरुबीचको चुनावी प्रतिस्पर्धाबाट अन्ततः एक जना मात्रै विजयी हुने निश्चित छ । उता ढकिया चुनाव चिन्हका उम्मेदवार धनीराम चौधरी र महिला चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवारी दिएका पूर्वएमाले मातृका यादवको पनि प्रचार राम्रै देखिएको छ ।
यसअघि सोही क्षेत्रबाट ५ वर्ष प्रतिनिधि सभा सदस्य चुनिएका छबिलाल विश्वकर्मालाई अहिले सबैभन्दा अप्ठेरो परिस्थिति सृजना भएको छ । एमालेका तत्कालीन वरिष्ठ नेता घनश्याम भुसाल पार्टी परित्याग गरेर पाँचदलीय गठबन्धनको समर्थनमा चुनावी मैदानमा छन् भने यसअघि प्रचारको कमाण्डरको परिचय बनाएका चापागाई र यादवले पनि विश्वकर्माको विरुद्धमा उम्मेदवारी दिएका हुन् ।
विश्वकर्मालाई अघिल्लो पटक प्रतिनिधि सभा सदस्यमा सिफारिस गर्दा सबैभन्दा जोडबल गरेका चापागाईंले पार्टी छाड्नु नै मुख्य संकट देखिएको हो । चापागाईंले २०६४, २०७० र २०७४ मा सोही क्षेत्रमा एमालेको चुनावी कमाण्ड सम्हालेका थिए । उनकै नेतृत्वमा २०७४ मा विश्वकर्माले निर्वाचन जितेका हुन् । तर यतिबेला मुख्य चुनावी रणनीतिकारले आफ्नै विरुद्धमा उम्मेदवारी दिएका छन् ।
उता सोही क्षेत्रको दक्षिणी भुगोलमा राम्रो परिचय बनाएका एमालेका पुराना नेताले पनि छबिको साथ छाड्दा थप समस्या उत्पन्न भएको छ । छबिलाई यतिबेला नयाँ एमालेले साथ दिने र पुरानाले छाड्ने अवस्था बनेको हो । नयाँका भरमा उनले लड्ने चुनावी परिणाम कस्तो आउला त्यो भने मंसिर ४ पछि नै देखिने छ । तर यतिबेला रुपन्देही १ मा एमाले उम्मेदवारले हालसम्मकै सबैभन्दा ठूलो संकटको सामना गर्ने परिस्थिति उत्पन्न भएको ।
व्यक्तिगत शालिनता भए पनि जनताको पहुँचमा असहजता महशुस गराएका कारण घरदैलो गर्ने क्रममा विश्वकर्माले धेरै आलोचना खेपेका छन् । उता भुसालले एमालेकै सहानुभूति मत प्राप्त गर्ने प्रवल सम्भावना छ । सो क्षेत्रका मतादाता र यथार्थ विश्लेषण गर्दा रुपन्देही १ मा विश्वकर्माभन्दा भुसाल हाबी देखिएका हुन् ।
भुसाललाई सत्ता गठबन्धनसहित जनमुक्ति पार्टीको राम्रै मत आउने देखिन्छ । एमालेको असन्तुष्ट पक्षले पनि मतदान गर्ने सम्भावना उत्तिकै छ । अर्कोतिर भुसालको निर्वाचन क्षेत्र र उनले विगतमा पार्टीको जिल्ला सचिव तथा इञ्चार्ज भएर सो क्षेत्रमा सांगठनिक विस्तार गरेकोले पुराना मतदाताबीच उनी परिचित देखिएका हुन् । यी सबै परिवेशमा चुनावी माहौल भुसालको निम्ति सहज बन्दै गएको आकलन छ ।
टिप्पणीहरू