चुनावको सुरक्षाबारे कुरा गर्न प्रधानसेनापति निर्वाचन आयोगमा

चुनावको सुरक्षाबारे कुरा गर्न प्रधानसेनापति निर्वाचन आयोगमा

पर्सि आइतबार हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा छलफल गर्न प्रधान सेनापतिसहितको टोली निर्वाचन आयोग पुगेको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरूसँग प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गरेको बताइएको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउनुभएको हो । उहाँले हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको जानकारी गराउनुभएको आयोगले जनाएको छ । 

निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको प्रधान सेनापति शर्माले जानकारी गराउनुभएको हो ।

भेटमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुन शम्सेर जबराको उपस्थिति थियो । निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको आयोगको भनाइ छ ।

टिप्पणीहरू