सिंहदरबारमा निर्वाचन सुरक्षाबारे गम्भीर छलफल

सिंहदरबारमा निर्वाचन सुरक्षाबारे गम्भीर छलफल

पर्सि हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाबारे आवश्यक छलफल गर्न सिंहदरबारमा बसेको बैठक भर्खरै सकिएको छ । गृह मन्त्रालयमा गृह सचिवको अध्यक्षतामा बसेको बैठकमा समग्र सुरक्षाबारे छलफल भएको बताइएको छ ।

बैठकमा गृहसचिव विनोद प्रकाश सिंहका साथै नेपाली सेनाका रथी सरोजप्रताप राणा, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको उपस्थिति रहेको मन्त्रालय स्रोतले बताएको छ । 

त्यसैगरी गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललगायत झण्डै डेढ दर्जन अधिकारीहरुको उपस्थिति रहेको बैठकमा हिजोदेखि राजधानीलगायत विभिन्न जिल्ला देखिएको सुरक्षा चुनौतीबारे सुक्ष्म ढंगले छलफल भएको हो । विशेषगरी निर्वाचन बहिष्कारको घोषणा गरेका विभिन्न राजनीतिक दल र विप्लव निकट माओवादीका नेता तथा कार्यकर्ताले राजधानीका धेरै ठाउँमा गएको राति शंकास्पद वस्तु राखेका हुन् ।

टिप्पणीहरू