राजश्व कर्मचारीको भेषमा दिनदहाडै लाखौँ ठगि

आन्तरिक राजश्व विभाग कार्यालयका कर्मचारी हौँ भन्दै केही व्यक्तिहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गरेको पाइएको छ । कार्यालयको लाजिम्पाट कार्यालयबाट खटिएको कर्मचारी भन्दै होटल, रेष्टुरेन्ट र पसलबाट विभिन्न परिणाममा रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनीहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको छ । पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका थिए । स्थानीय व्यवसायीले शंका लागेर प्रहरीलाई खबर गरेपछि २३ मंसिरको साँझ प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राजीव विष्टको डेराबाट आन्तरिक राजश्व कार्यालयको जस्तै स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ । त्यस्तै, डेविड धामीको कोठाबाट पनि रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी प्रहरीले बरामद गरेको छ । 

उनीहरुविरुद्ध हालसम्म ४ जना ब्यवसायीले लिखित जाहेरी दिएको र पीडितहरु आउने क्रम जारी रहेको एसएसपी बोहराले जानकारी दिए । पक्राउ परेका सबैविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको उनले बताए ।

टिप्पणीहरू