घर जान लागेका जर्नेललाई विशेष बढुवा,अरु हेरेको हेर्यै

घर जान लागेका जर्नेललाई विशेष बढुवा,अरु हेरेको हेर्यै

नेपाली सेना अनुशासन,आचरण र जवाफदेहिताको थलो हो । भनिन्छ,अपवादबाहेक ‘यहाँ आफ्नोपन होइन,क्षमता हेरिन्छ ।’ तर,पछिल्लो समय सेना विभिन्न विवादमा तानिँदै आएको छ । क्षमता होइन निकटता हेर्न थालिएको छ । 

जसले गर्दा क्षमतावान फौजीहरु पछाडि परेका छन् । प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो मात्री पल्टन पल्टन "पुरानो गोरख (पिजी) "का सहयात्रीहरुलाई रोजीरोजी जिम्मेवारी प्रदान गर्दैै आएका छन् ।  यसै क्रममा हालै राष्ट्र बैंकको सुरक्षा जिम्मेवारी आफ्नो मनले खाएको पूर्व फौजीलाई दिएका छन् ।  

सेनासंग समन्वय गरेर सुरक्षाकर्मी खटाउने राष्ट्र बैंकको चलन छ  । बेलैमा महासेनानी हुन नसकेका पूर्व लेफ्टिनेन्ट कर्णेल रामेश्वरमान प्रधानलाई यसरी राष्ट्र बैंकमा छिराइएको हो । यतिमात्र नभएर बढुवाको पर्खाइमा रहेका पैदल फौजका सहायक रथीहरुलाई घर पठाएर प्राविधिक तर्फकालाई बिशेष बढुवा दिन लागिएको छ । 

यत्रो वर्षसम्म कुनै उन्नति नै नदेखिएका एक तारे जर्नेललाई विशेष बढुवा दिएर घर पठाउन लागिएपछि विरोधाभाष महशुस भएको ज्येष्ठ रथीहरुले बताएका छन् । इन्जिनियर एक तारे जर्नेल दिपक बाँस्तोलालाई दुई तारेमा बढुवा गर्न लागिएको खबरले अवसरबाट बन्चित  अन्य सहायक रथीहरु निराश भएको बताइन्छ । 

इन्फ्यान्ट्रीतर्फका सहायक रथीहरुलाई पाखा लगाएर प्राविधिकतर्फका बाँस्तोलालाई विशेष बढुवा दिन लागेको भन्दै असन्तुष्टि बढ्दो छ । पूर्व प्रधानसेनापति पूर्णचन्द्र थापाले मानार्थ बढुवासमेत दिन नमानेका बाँस्तोलालाई सीधै विशेष बढुवा दिनुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ । 

बाँस्तोलाको घर र प्रधानसेनापति निवास (शशी भवन) नजिकै पर्छ । छिमेकीसमेत रहेका बाँस्तोलालाई विशेष बढुवा दिन लाग्दै गर्दा बाहुनवाद राम्रैसङ्ग फस्टाएको आरोप लागेको छ । उडानतर्फ कमिकमजोरी देखिएपछि पूर्णचन्द्रको पालामा खुम्चिएका उनको बेमौकामा किन बिशेष बढुवा गर्न लागियो र उनको बिशेष योगदान के थियो ? प्रश्न उठेको छ । बाँस्तोलासंग एउटै ब्याचमा रहेका सागर केसी,इश्वरकान्त  मैनालीलगायतले मानार्थ बढुवा पाए पनि उनीहरुलाई विशेष बढुवा भने दिइएको थिएन । 

सेनामा प्राविधिकतर्फ ५७ वर्ष उमेर हद तोकिएको छ । अरुभन्दा एक बर्ष थप जागिर र बिशेष बढुवा पनि ! बाँस्तोलालाई पुसको दोस्रो हप्ता दुई तारे बनाएर बिदाई गरिँदैछ ।

टिप्पणीहरू