नेतालाई मात्रै धारेहात लगाएर बन्दैन नेपाल

नेतालाई मात्रै धारेहात लगाएर बन्दैन नेपाल

– विराट अनुपम 

नेपालमा देशलाई राम्रोसँग विकास गर्न नसक्दा नेता तथा नीतिनिर्माताहरूले गर्ने केही रोचक बहानाबाजी छन् । कोही भन्छन्, नेपाल भूपरिवेष्ठित देश हो । निर्यात गर्न छिमेकीको भर पर्नुपर्ने हुन्छ । त्यसैले देश विकास भएन । कोही भन्छन्– नेपालको राजनीतिमा कुनै एक दलले एक्लो सरकार बनाउने बहुमत ल्याउँदैन । त्यसले राजनीतिक अस्थिरता ल्याउँछ र देश अगाडि बढ्दैन । अर्को थरीको तर्क छ– नेता खराब भएर देश बन्न सकेन । बूढा नेताहरूले मात्रै देश चलाए । यी र यीबाहेक पनि धेरै तर्क बजारमा छरिन्छन् जसको आडमा नेपाल विकासमा पछि परेको बाहेक विभिन्न बहानाबाजी चल्छन् । 

तर, चिरफार गर्ने हो भने सबै तर्क फितला छन् । भूपरिवेष्ठित देश नभएकाले विकास नभएको तर्क आफैँ कमजोर हो । समुद्रले नेपालमा जोडिएको छैन, यो सत्य हो । तर, यो पनि सत्य हो कि समुद्र मूलतः बजार भेट्न जाने मार्ग हो । नेपालले विशाल बजार भेट्न समुद्र नै कुर्नुपर्दैन । विश्वको पहिलो जनसंख्या तथा दोस्रो ठूलो अर्थतन्त्र चीन र दोस्रो ठूलो जनसंख्या तथा दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भारतसँग एकै राजमार्गले २०० किमि हाराहाराीमा जोड्ने भूगोल नेपालको छ । यो भूगोललाई एक्सप्रेस वे बनाएर दुई देश जोड्दै व्यापार, पारवाहन गर्न सकिन्छ । भूपरिवेष्ठित नहुँदा पनि नेपालले आफ्नो जमिनमा छोएका विश्वस्तरीय जनसंख्या र अर्थतन्त्र छोएकै छ । तर, त्यो छुवाइको सदुपयोग हुन सकेको छैन । अष्ट्रियादेखि स्विजरल्याण्ड हुँदै पछिल्लो समय अफ्रिकी सफलताको उदाहरण रुवाण्डा भूपरिवेष्ठित देश नै हुन् । 

जर्मनीकाे ७३६ सदस्यीय संघीय संसद अर्थात् बुन्डेसटागमा यस्तै खालका नतिजा अाउँछन् । तैपनि, त्यहाँ  सरकार ढल्दैन । इजरायली चुनावकाे अवस्था पनि यस्तै छ । कहिल्यै एक दलकाे बहुमत आउँदैन  ।

एकै दलको स्पष्ट बहुमत नआउने कारण देखाएर पनि नेपाल पछि परेको तर्क गरिन्छ । यो पनि सरासर गलत कुरा हो । जर्मनीदेखि इजरायली राजनीति हेर्ने हो भने त्यहाँ अहिलेको नेपालको जस्तै चुनावी नतिजा आउँछन् । उदाहरणका लागि एक वर्षअगाडिको जर्मन चुनावबाट आएका शीर्ष पाँच दलको चुनावी सिट क्रमशः २०६, १९७, ११८, ९२, ८३ छ । त्यो सिट ल्याउने दलहरूको नाम क्रमशः सोसल डेमोक्रेटिक पार्टी, क्रिश्चियन डेमोक्रेटिक युनियन, ग्रिन, फ्रि डेमोक्रेटिक पार्टी, अल्टरनेटिभ पार्टी हुन् । अहिले मात्रै हैन जर्मनीको ७३६ सदस्यीय संघीय संसद अर्थात् बुन्डेसटागमा यस्तै खालका नतिजा आउँछन् । तैपनि, त्यहाँ सरकार ढल्दैन । नयाँ चुनावपछि धेरै लामो लिखित सम्झौता गरेर सोको अक्षरशः पालना गरी सरकार बन्दै आएको छ । गठबन्धन सरकारले राम्रो प्रगति पनि गर्दै छ । त्यही प्रगतिकै मानकस्वरुप जर्मनी आज युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ । 

जर्मनी मात्रै होइन, इजरायली चुनावको अवस्था पनि यस्तै छ । इजरायलमा कहिल्यै एक दलको बहुमत आउँदैन । १२० सिटको इजरायली संसद निसेटमा गत महिना सम्पन्न चुनावको आधारमा शीर्ष पाँच दलको सिट संख्या क्रमशः ३२, २४, १४, १२ र ११ रहेको छ । त्यो संख्या पाउने दलमा क्रमशः लिक्विड, येय अतिद, रिलिजियस जियोनिष्ट, नेशनल युनिटी, सास छन् । यो पटक मात्रै हैन सधैँको चुनावमा इजरायलमा यस्ता परिणाम आउँछन् । शीर्ष पाँच दलको अदलीबदली रोचक तरिकाले हुँदै आएको छ । पछिल्ला चार वर्षमा पाँच चुनाव हुनुबाहेक इजरायली चुनावी नतिजाकै गणितका आधारमा विकासमा बाधा भएन । युद्धकै स्तरमा रहिरहने इजरायलमा राजनीतिक दलले स्पष्ट बहुमत ल्याउँदैनन् । तैपनि, त्यहाँ विकास व्यापक छ । 

जर्मनी र इजरायली गणितले हेर्दा के देखिन्छ भने संसदीय चुनावमा कुनै एकल दलको बहुमत नहुँदा पनि देश विकासमा बाधा हुन्न । मात्रै दल र नेताहरूले देश हितलाई प्राथमिकता दिनुपर्छ । नेपालमा पनि चाहिएको यही हो । चुनावी गणित बलियो होइन, चुनावपछि देश बनाउने प्रतिबद्धता बलियो चाहिएको छ नेपालमा । 

अर्को तर्क छ– नेताले देश बिगारे । यो पनि अर्धसत्य मात्रै हो । देशमा कस्ता नेता उत्पादन गर्ने भन्ने नेपालीको हातमा छ । यो राणाशासन हैन जहाँ बन्दुकले सत्ता बनाउँथ्यो । बन्दुकले सत्ता ढाल्थ्यो । अहिले सबैको हातमा एक भोट छ । त्यही भोटले सत्ता बन्न सक्छ । ढल्न पनि सक्छ । नेताहरू खराब भन्ने जनताले पनि नेतालाई खराब बनाउन भूमिका खेलेका छन् । नेतालाई मासुभातमा सौदाबाजी गरेर भोट हाल्ने जनता हुन् । नेतासँग पैसामा भोट निर्यात गर्ने पनि जनता नै हुन् । नेतासँगको पहुँच बनाएर सोर्सफोर्समा जोडबल गर्ने पनि जनता हुन् । त्यति मात्र हैन नेताले जत्तिकै भ्रष्टाचार गर्दा पनि फूलमाला लाउने जनता नै हुन् । यी कुरा हेरेर देश बनाउनमा नेताकोे मात्रै होइन जनताको पनि दोष देखिन्छ । नेतालाई मात्रै औँला ठड्याएर देश बन्दैन भन्ने उदाहरण सफल देशका असल नागरिकको भूमिका हेरेर बुझ्न सकिन्छ । 
 

टिप्पणीहरू