गर्भवती सांसदको पेटमा लात हान्ने सांसदलाई जेल

source : africanews

गर्भवती सांसदको पेटमा लात हान्ने सेनेगलका दुई विपक्षी सांसदलाई जेल चलान गरिएको छ । संसदमा भइरहेको बजेटसम्बन्धी बहसका क्रममा गर्भवती सांसदलाई पेटमा लात हानेको अभियोगमा उनीहरुलाई छ महिनाको जेल सजाय सुनाइएको छ । 

गर्भवती सांसदले विपक्षी धार्मिक व्यक्तित्वको आलोचना गरेपछि ती पुरुष सांसदहरूले एमी एनडियामाथि संसदभित्रै आक्रमण गरेका थिए । न्यायाधीशले लात हान्ने मामाडो नियाङ र मासाटा साम्ब एनडियायेलाई ५० लाख सीएफए फ्रयांक क्षतिपूर्तिको आदेश पनि दिएका छन् । 

उक्त घटनाको व्यापक निन्दा र महिला अधिकारको बारेमा बहस थालिएको छ । अनलाइनमा व्यापक रूपमा शेयर गरिएको भिडियोमा नियमित बजेट बहसको क्रममा पहिले उनलाई थप्पड हानेको देखिन्छ । गर्भवती सांसदले कुर्सी हानेर बदला लिन्छिन्,तर तत्काल अर्का पुरुष सहकर्मीले उनको पेटमा लात हानेको भिडियोमा प्रष्ट छ । 

त्यसपछि अन्य सांसदहरूले स्थिति शान्त पार्न खोज्दा झडप भएको हो । सत्तारुढ गठबन्धनकी सदस्य गर्भवती सांसद एनडियाई आक्रमणपछि संसदमा बेहोस भएकी थिइन् । त्यसपछि उनको पेटको बच्चा गुम्ने डर बढेकाले  तत्काल अस्पताल लगिएको थियो । अस्पतालबाट डिस्चार्ज भए पनि उनको अवस्था अझै निकै संवेदनशील रहेको बताइन्छ ।

टिप्पणीहरू