यो वर्षको शालीनदी मेला प्रारम्भ
काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ७ शालीनदी क्षेत्रमा आजदेखि स्वस्थानी मेला शुरु भएको छ । स्वस्थानी मेला आगामी माघ २२ गतेसम्म चल्नेछ । माधवनारायण स्वस्थानी मेला प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने गर्दछ ।
शालिनदी सुधार समितिले यस पटकको मेलामा ३० देखि ३५ लाखसम्म धार्मिक पर्यटकको भ्रमण हुने अनुमान गरेको छ । भक्तजनका लागि स्वास्थ्यकर्मीसहितको प्राथमिक उपचार कक्षको व्यवस्था गरेर निःशुल्क रुपमा औषधोपचार र निःशुल्क खानेपानी वितरण गरिने समितिले जनाएको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै निःशुल्क मास्कसमेत बाँडिने समितिले जानकारी दिएको छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिएर पुण्य कमाइने मान्यता पनि छ ।
टिप्पणीहरू