तेलको भाउ नघटाउने आयल निगमबिरुध्द मुध्दा दायर
उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँको संस्था उपभोक्ता हित संरक्षण मञ्चले नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी तथा पदाधिकारीविरुध्द कालोबजारीको कसुरमा मुध्दा दायर गरेको छ ।
इण्डियन आयल कर्पोरेशनले पटक पटक मूल्य सूची घटाएर पठाउँदा समेत नेपाल आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन नगरी उपभोक्ता ठगी गर्दै आएकोले आयल निगमका पदाधिकारीविरुध्द मञ्चले महानगरीय प्रहरी परिसर टेकूमा कालोबजार तथा केही सामाजिक अपराध ऐनअन्तरगत मुध्दा दायर गरेको हो ।
हिजैमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पर्दाथको मूल्य घटाउन वाणिज्य सचिवलाई निर्देशन दिनुभएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार पनि सोहीबमोजिम मूल्य समायोजन गर्न दाहालले वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई निर्देशन दिनुभएको भए पनि आयल निगमले त्यसलाई कार्यान्वयन गरेको छैन ।
प्रधानमन्त्रीको निर्देशनअनुसार हिजै नेपाल आयल निगमको बोर्ड बैठक राखेर पेट्रोलियम पर्दाथको मूल्य समायोजन गर्नुपर्नेमा सचिव रायाले हिजैका लागि डाकेको नेपाल आयल निगम सञ्चालक समितिको बैठक नै रध्द गरिदिएको उद्योग मन्त्रालय स्रोतले जनआस्थालाई जनाएको छ ।
स्रोतका अनुसार मंगलबार नै सचिव रायाले हिजोका लागि बोर्ड बैठक डाकेकोमा हिजै सचिवका रुपमा अर्थ मन्त्रालयमा आफ्नो सरुवा भएपछि अन्तिम समयमा उनले बैठक क्यान्सिल गरेका हुन् ।
वाणिज्यबाट बाहिरिँदा जाँदाजाँदै आफूले गरेको निर्णयले विवादमा पर्न सक्ने देखेर हिजोको लागि डाकिएको आयल निगम सञ्चालक समितिको बैठक क्यान्सिल गरेको आरोप छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्षमा वाणिज्य सचिव रहने प्रावधान छ । यस्तै अहिले आयल निगमको बोर्डमा सहसचिव राधिका अर्याल,आनन्द काफ्ले,दिलनाथ मिश्र,महेश भट्टराई लगायत रहेका छन् । उपभोक्तावादीहरुले यी पदाधिकारीविरुध्द कालोबजारी तथा केही सामाजिक अपराधअन्तरगत मुध्दा मामिला गर्ने जिम्मेवारी संस्थाको महासचिव विष्णुप्रसाद तिमिल्सिनालाई दिएको छ ।
टिप्पणीहरू