नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खोलेर फेरि बन्द
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिनको लागि खुला रहने भएको छ । देवघाटधाममा लाग्ने माघे सङक्रान्ति मेलालाई लक्षित गरी पुस ३० गते र माघ १ गते सडकखण्ड खुला गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले ती दुई दिन दिउँसो चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने बताएका छन् । तीर्थालुको चाप अत्याधिक हुने भएकाले सडक खुला राख्न लागिएको उनको भनाइ छ ।
अहिले उक्त सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको र वेणीमा वारपार गर्न २२ वटा प्याफ्रिटङको व्यवस्था मिलाएको छ ।
दास ढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सो पुलको प्रयोग गर्न आह्वान गरिएको छ । साथै, स्नान गर्न आउनेहरु पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी, क्षेत्र विकास समितिले तयार गरेको उद्धार टोली तयारी अवस्थामा राखिदैँ छ ।
त्यस्तै, विघुत, खानेपानी, यातायात, पार्किङ, शैचालय आदिको व्यवस्थापन गर्न विभिन्न उपसमिति बनाइएको छ । सवारीको अत्याधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ ।
देवघाट जानेहरुलाई रामनगर हुदैँ जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ । साथै, दासदुङगाको पुलतर्फबाट जानआउन दुवै सुविधा रहने छ ।
टिप्पणीहरू