प्रहरीद्वारा २४ वर्षपछि महिला पक्राउ
चितवनमा एउटी महिलालाई प्रहरीले २३ वर्षअघिको गम्भीर अभियोगमा गिरफ्तार गरेको छ ।
पार्वती दवाडीले घिमिरे थरका गोर्खा छोप्राक निवासी शिक्षकसँग बाजा बजाएर दुई दशकअघि विधिपूर्वक विवाह गरेकी थिइन् । दम्पती विवाहपछि चितवन झरेको थियो । दुई दशकपछि पुस १६ गते जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले उनलाई घरबाटै गिरफ्तार गरेको हो ।
हिरासतमै रहेकी पार्वतीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । अघिल्लो साता प्रहरीले आमाको हातमा एक्कासी हत्कडी लगाउँदा बिहे गर्ने उमेर पुगेका छोराछोरीको मन कस्तो भयो होला !
लमजुङ दूधपोखरी–२ जल्केनी माइती भई गोर्खा छोप्राकमा विवाह गरेकी पार्वती दवाडी घिमिरे स्वयंले शायदै आफू यसरी प्रहरीको फन्दामा पर्छु भनेर सोचेकी थिइन् ।
चितवन महानगर–१६ इन्द्रपुरीस्थित घरमा लमजुङबाट गएको प्रहरी टोलीले पुर्जी थमाउँदा उनी एकछिन अकमक्क परिन् । ‘के अपराध गरेँ मैले ?’ भन्दै रातो मुख पनि लगाइन् । तर जब प्रहरीले कर्तुत खोलिदियो पार्वती मात्रै नभएर परिवार नै छाँगाबाट खसेझैँ भएको बताइन्छ ।
घटना २०५६ भदौ २९ को हो । त्यतिबेला बागेश्वरी माध्यमिक विद्यालय बिचौरकी छात्रा पार्वती एसएलसी नियमित परिक्षामा फेल भएपछि पुरक परीक्षा दिन सदरमुकाम बेसिशहर आइन् । त्यो समयमा पूर्वी लमजुङको बिचौरबाट तनहुँको बाइसजँघारसम्म पैदल यात्रा गर्नुपर्थ्यो ।
सवारी साधनको असुविधाका कारण आमालाई लिएर परिक्षा दिन सदरमुकाम आएकी पार्वती फर्किएर लमजुङ र तनहुँको सीमाना बाइसजँघारमुनिको झोलुङ्गे पुल आसपासको एक होटेलमा बसिन् । छोरी दुई जीउकी भएको आमालाई थाहा थिएन । पार्वतीले बास बसेकै होटलमा बच्चा जन्माइन् ।
‘चोर्न जान्ने,लुकाउन नजान्ने,’ भनेझैं जन्मिएको शिशुलाई नजिकको झाडीमा मिल्काएर आमाछोरी बाटो लागे । दिउँसो घाँस दाउरा गर्न आउनेले झाडीमा नवजात शिशु देखेपछि हल्लाखल्ला गरे । त्यसपछि उनै पार्वतीले राति शिशु जन्माएर मिल्काएको पत्ता लाग्यो ।
इलाका प्रहरी कार्यालय बिचौरले २०५६ भदौ २९ गते किटानीसहित कर्तव्य ज्यान कसुरमा पार्वतीविरुध्द जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरे पनि तत्कालीन समयमा कुनै खोजीनीति भएन । अहिले हुँदा उनी चितवनबाट प्रहरीको नियन्त्रणमा पुगिन् ।
टिप्पणीहरू