एमसीसी फिर्ता गर भन्दै आज पनि सर्भे टोलीलाई अवरोध र आन्दोलन
अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्तर्गत भनिएको तर एडिबीको सहयोगमा विद्युत प्राधिकरणले बनाइरहेको सबस्टेशन निर्माण कार्यको बिरोधमा काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ३ का स्थानीयले आज पनि विरोध प्रदर्शन गरेका छन् ।
बोजिनीको १९२ रोपनी जग्गामा निर्माणाधीन तामाकोशी विद्युत प्रशारण लाइनको काम तत्काल रोक्न माग गर्दै स्थानीयले आज नवौं दिनको आन्दोलन थालेका हुन् । विद्युत प्राधिकरणका कर्मचारीले प्रहरी टोलीको घेराउमा काम अघि बढाएपछि अपर तामाकोशी जलविद्युत पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित लामाको नेतृत्वमा तीन दर्जनले कालो ब्यानर बोकेर शान्तिपूर्ण विरोध गरिरहेका छन् ।
प्रदर्शनकारीहरुले ‘एमसीसी मूर्दावाद, एमसीसी चाहिदैन’,‘गो ब्याक एमसीसी’,‘नालायक गृहमन्त्री राजीनामा दे’,‘नालायक कुलमान मूर्दावाद’,‘हाम्रो भूमि फिर्ता गर’, प्रहरी दमन मूर्दावाद’,‘माफियाहरु होशियार’,‘महिला अधिकार हनन गर्न पाइँदैन’,‘आदिबासीको जग्गा अतिक्रमण गर्न पाँइदैन’, ‘सबस्टेशन स्थानान्तरण गर’,‘मानव अधिकार सुनिश्चित गर’, सबस्टेशन सर्भे गर्ने काम बन्द गर’, लगायतका नारा लगाएका छन् ।
हाल जहरसिंहपौवाबाट सबस्टेशन जाने बाटोको सर्भे गर्ने काम शुरु भएको छ ।
टिप्पणीहरू