पैसा जम्मा गर्न एनआईसीका ग्राहक लाइनमा बस्न नपर्ने

पैसा जम्मा गर्न एनआईसीका ग्राहक लाइनमा बस्न नपर्ने

एनआईसी एशिया बैंकले मुलुकका विभिन्न स्थानमा क्यास डिपोजिट मेशिन (सीडीएम) सञ्चालनमा ल्याएको छ । 

‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन योजनाअनुरुप सम्पूर्ण बैकिङ्ग सेवाहरु क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको बैंकले काठमाडौंको न्युरोड, कमलादी, खिचापोखरी, त्रिपुरेश्वर, थापाथली, बुटवल, पोखराको महेन्द्रपुल, धनगढीको चौराहा, विराटनगर र वीरगञ्ज शाखामा सीडीएम सञ्चालनमा ल्याएको हो । 

सीडीएमबाट नगद जम्मा गर्न फारम भर्न नपर्ने बैंकले जनाएको छ । अब खाता र मोबाइल नम्बरको आधारमा सिँधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिन्छ । 

बैंकिङ्ग समयभित्र मात्र नगद जम्मा गर्न सकिने बैंकले स्पष्ट पारेको छ । यस मेशिनमा एक पटकमा पाँच र हजार रुपैयाँको दरले ९९ हजार पाँच सय रुपैयाँसम्म डिपोजिट गर्न सकिन्छ । 

त्यस्तै, एक दिनमा अधिकतम नौ लाख ९९ हजार पाँच सय रुपैयाँ नगद जम्मा गर्न मिल्छ । यो प्रक्रियालाई थप सुरक्षित बनाउन बचतकर्ताले उक्त मेशिनमा आफ्नो मोबाइल नम्बर हालेपछि अस्थायी पासवर्ड कोड आउने व्यवस्था गरिएको छ । 

बचतकर्ताले उक्त कोड सीडीएम मेशिनमा हालेपछि मात्र काम अगाडि बढ्नेछ । नगद राखेपछि मेशिनले रकम गनेर खातामा जम्मा गरिदिन्छ र डिपोजिट भएको जानकारी एसएमएसमार्फत प्राप्त हुन्छ । 

बैंकका कुनै पनि प्रतिनिधि उपस्थित नभई छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेशिनले आफैं रकम गन्ने र नक्कली नोटहरु छुट्याउने कामसमेत गर्ने बताइएको छ । 

यो प्रविधिले ग्राहकलाई लामो लाइन बस्नुपर्ने र भौतिक रुपमा फारम भर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।

टिप्पणीहरू