पाकिस्तानीद्वारा काठमाडौंमा पाकिस्तानीको अपहरण

पाकिस्तानीद्वारा काठमाडौंमा पाकिस्तानीको अपहरण

तीन जना पाकिस्तानी मिलेर काठमाडौंमा एक जना अर्का पाकिस्तानीको अपहरण गरिएको छ । अपहरणपछि बन्धक बनाइएका उनीसँग अपहरणकारीहरुले २५ लाख रुपैयाँ बढी पाकिस्तानबाट फिरौती लिएका छन् । 

मोहम्मद सामी खानलाई क्यानाडा पठाउन उनीहरुले काठमाडौं बोलाएका हुन् । क्यानाडा जाने सपना बुन्दै काठमाडौं आएका खानलाई उनीहरुले अपहरणपछि बन्धक बनाएर उक्त रकम लिएको खुलेको छ । 

शुरुमा ठमेलको एउटा होटलमा राखिएका मोहम्मद सामीलाई अपहरणकारीहरु ३० वर्षे मोहम्मद रासिद, ३५ वर्षे मोहम्मद आसिफ र ३५ वर्षे मोहम्मद फिदा हुसैनले अपहरण गरेर आफूहरु बस्दै आएको बूढानीलकण्ठ नजिकैको भाडाको घरमा पुर्याएका हुन् । सोही घरमा उनलाई हातगोडा बाँधेर पाकिस्तानमा रहेको परिवारलाई क्यानाडा पुगेको बताउन लगाउँदै २५ लाखभन्दा बढी रुपैयाँ अपहरणकारीहरुले भनेबमोजिम उपलब्ध गराउन फोनमा कुरा गर्न लगाएको रहस्य खुलेको छ ।

उक्त रकम प्राप्त भएपछि अपहरणकारीहरुले खानलाई रातको समयमा विमानस्थल नजिकैको चक्रपथमा पुर्याएर छाडेका थिए । त्यसपछि उनले प्रहरी गुहारेपछि अपहरणकारीहरु पक्राउ परेका हुन् । तीनै जना अपहरणकारीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू