शवहरुको ब्यवस्थापनवारे बिशेष सल्लाह

शवहरुको ब्यवस्थापनवारे बिशेष सल्लाह

पोखरामा हिजो बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षण तथा व्यवस्थापनका लागि विशेषज्ञ डाक्टरहरुको एउटा समिति गठन गरिएको छ । पाँच जना विशेषज्ञ चिकित्सक सम्मिलित राष्ट्रिय शव परीक्षण समिति गठन गरी शव व्यवस्थापन गर्न लागिएको हो । 

पोखरामा उपलब्ध फेरेन्सिक विशेषज्ञ चिकित्सकसहितको समितिमा सह-प्राध्यापक डा. मदनप्रसाद बराल,सह-प्राध्यापक डा. नुवारत्न सुवेदी,उप-प्राध्यापक डा. सुधिररमण पराजुली, डा.सुशीला गुरुङ र डा.सुमी महर्जन रहेका छन् । समितिले शव परीक्षण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डअनुरुप व्यवस्थित तथा मर्यादित बनाउन गृह र स्वास्थ्य मन्त्रालयमा अनुरोध पनि गरेको छ । 

समितिले शवलाई वर्गीकरण गरी सोअनुसार व्यवस्थापन गराउने निर्णय गरेको छ । जसअनुसार पूर्णरुपमा पहिचान भएका शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइने छ भने पहिचान नखुलेका विदेशी नगरिक,चालक दलका सदस्य तथा काठमाडौँ लैजान चाहेका शवहरु कानुनी प्रक्रिया पूरा गरी पठाइने छ ।  

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा मात्रै शवको व्यवस्थापन गर्न नसकिने अवस्थामा पोखरास्थित अन्य अस्पताल र मेडिकल कलेजहरुलाई सहयोग गर्न विशेषज्ञ डाक्टरहरुले अनुरोध पनि गरेका छन् ।

जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६८ जनाको शव फेला परेको छ । जसमध्ये अहिलेसम्म ३५ शवमात्रै पहिचान भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार विदेशीसहित पहिचान हुन नसकेका शव काठमाडौं पठाउन लागिएको छ ।   

शव पहिचान भएकाको हकमा भने पोष्टमार्टम गरी आफान्तलाई बुझाइने छ । त्यसका लागि एम्बुलेन्सहरु तयारी अवस्थामा राखिएको छ ।

टिप्पणीहरू