एउटा स्वयंसेवकको नजरबाट मैले देखेको विश्वकप

एउटा स्वयंसेवकको नजरबाट मैले देखेको विश्वकप

– सरोज बास्तोला

म निम्नपरिवारको मान्छे, परिवारको आर्थिक अवस्था त्यति सहज थिएन । त्यसैले बाल्यकाल दुःखमै बित्यो । न धेरै पढ्न, लेख्न सकियो, न त कुनै आर्थिक अवस्था उकास्ने खालको बिजनेस गर्न नै ! यिनै कारणले पनि होला, घरपरिवारको गर्जो टार्ने र अलिअलि प्रगति गर्ने ध्याउन्नमा कलिलो उमेरमा खाडीतिर भासिएँ । अहिले त विदेशिएको पनि बर्सौं बितिसकेछ । उमेरले ४० नाघिसक्यो, छोराछोरी हुर्किसके, तापनि म कतारतिरै छु । त्यति असन्तुष्ट त छैन तर खाडीमै भए पनि एक प्रतिष्ठित कम्पनीको काम गर्न पाउँदा खुशी नै छु, वैदेशिक रोजगारी र समाज सेवा अनि समय मिलेसम्म पत्रकारिताको पनि काम गर्दैछु । अझै कति विदेश बसिन्छ थाहा छैन ।

बिदेसिनुमा गर्व गर्न नै त नसकिएला तर मन खुम्च्याएर, कुण्ठा बोकेर वा भनौं आत्मग्लानि लिएर बसिएको छैन विदेशमा । नेपालमा मौलाएको राजनीतिक अस्थिरता, दण्डहीनता, अराजकता र कुशासन अनि बेरोजगारी आदि देखे भोगेको हिसाबले यति भन्न सकिन्छ कि कतारको बसाइ नेपालमा आमजनताको भन्दा सहज छ, कमाइ धेरथोर जे–जस्तो भए पनि । सन २००६ दोहामा आयोजित १५ औं एसियन गेमबाट शुरु भएको मेरो भोलेन्टियर (स्वयंसेवक) यात्रा श्रृंखला लुसाइल सुपर कपमा पनि दोहोरिएको थियो । यसपालि कतारमै आयोजित फिफा वल्र्ड कप २०२२ मा समेत स्वयंसेवकका रूपमा काम गर्ने अवसर मिल्यो । 

अल रायनस्थित ४४ हजार ६६७ सिट क्षमता भएको र हीरा आकारमा बनेको आकर्षक एजुकेशन सिटी रंगशालामा ८ सिफ्ट बिताउँदाको त्यो पल साँच्चिकै स्मरणीय छ । हरेक सिफ्टमा फरक टिम अनि टिमलिडर भएर फरक–फरक कामको अनुभव बटुल्न पाउँदा मन कम प्रफुल्लित छैन । कहिले रंगशालाको मूलगेटमै दर्शकलाई स्वागत गर्दै त कहिले खेलमैदानमा खेलाडी र दर्शकलाई नजिकबाट नियाल्दै कर्तव्य पूरा गर्दाको त्यो पल होस् वा विश्वभरिबाट आएका खेलप्रेमी दर्शकमाझ रहेर विश्वकप हेर्न पाउँदाको त्यो क्षण शब्दमा बयान गरी साध्य छैन । एजुकेशन सिटी रंगशालामा पहिलो खेल २२ नोभेम्बर डेनमार्क र ट्युनिसियाबीच भएको थियो भने अन्तिम खेल क्वार्टरफाइनल ९ डिसेम्बरका दिन ब्राजिल र क्रोएशियाबीच भएको थियो । रंगशालामा आइपर्ने विभिन्न समस्यो हल गर्नेदेखि टिकट, चेक जाँचमा सहयोगी भूमिका निभाउने अवसर सजिलै र जो–कोहीले नपाउँदो रहेछ । दर्शकलाई सहजीकरण गर्दै संसारभरिबाट आएका दर्शकको नजिकको सहयोगी मान्छे बन्नु म बबुरोका लागि चानचुने कुरा हो जस्तो लाग्दैन । 

मैले विश्वकपमा भोलिन्टियर हुने अवसर पाएकोमा खुशी प्रकट गर्दै अलि ढिलै भए पनि यो अनुभूति लेखिरहँदा जाबो स्वयंसेवक हुँदैमा कत्रो फूर्ति लगाएको भन्ने कसैलाई पर्न सक्छ तर खाडीमा गुमनाम भएर पसिना बगाउँदै आएको एउटा श्रमिक संसारकै ध्यान खिच्ने एउटा भकुण्डो खेलमा सेवक हुन पाउनु मजस्तो धेरै श्रमिकको लागि अविस्मरणीय लागेर सञ्चारकर्मीसमेत हुनुको नाताले सबैसामु प्रकट गरेको मात्र हुँ । यो मेरो निजी मामिला पनि त होइन, विश्वकपमा सहभागी सयंसेवाको तर्फबाट केही कुरा ओकलेको हो । 

फिफा विश्वकपमा भोलेण्टियरको आवेदन खुलेपछि विभिन्न चरण पार गर्दै हामीले जिम्मेवारी पाएका थियौं । विश्वका २०९ देशबाट चार लाख २० हजारले आवेदन दिएकोमा ५८ हजार जनाले अन्तर्वार्ता दिँदा २० हजार जनाको टिममा म पनि परेको हुनाले पनि मैले यसलाई सौभाग्यको रूपमा लिएको हुँ । यो हामी नेपालीका लागि सुनौलो अवसर थियो । त्यसैले त्यो अबसरको सक्दो सदुपयोग गर्दै भव्य र सभ्य रूपले कतारमा फिफा वल्र्डकप सम्पन्न गराउन सक्दो सहयोग गरियो । फिफाको तर्फबाट हामी भोलेन्टियरहरूलाई यातायात, पोशाक, खाजा, खानाको साथै प्रमाणपत्र र सम्मानस्वरूप बहुमूल्य उपहारहरू दिएकाले खुशी छौँ । 

दर्शकले केही बुझ्नुपर्ने भए जानकारी अनि सहयोग चाहिए स्वयंसेवक नै नजिक पाउँथे । स्वयंसेवकको भूमिकामा रहँदा कुनै आर्थिक लाभ नहुने जान्दाजान्दै पनि विश्वको मेगा इभेन्टमा प्रत्यक्ष सहभागी भएर कतार अनि फिफालाई सहयोग गर्न पाएकोमा गौरवान्वित महसुस गरेको छु । फिफा वल्र्डकपमा २ सयभन्दा माथि नै नेपाली स्वयंसेवक थियौं । 

मेरा आदरणीय मित्र विश्व भट्टराईले केही साल पहिलेदेखि नै फिफाकै लागि नेपाली भोलेन्टियरको ह्वाट्सएप ग्रुप बनाउनुभएको रहेछ । यो हाम्रोलागि निकै उपयोगी बन्यो । नजानेका कुरा एक अर्कोमा बुझ्न सहज भयो । जसको माध्यमबाटै विश्वजी अनि बिनेश तामाङजीको अगुवाइमा हामी केही भोलेन्टियर साथी नेपाली राजदूतसँग भेट गरी फिफामा नेपाली भोलेन्टियरको सहभागिताबारे जानकारी गराउने अवसर मिल्यो । स्वयंसेवकमा हौसला दिने मेरा परिवारजन, मित्र कान्ति सिंह, हेमन्त लिम्बु, मोना, सर भिभि अबु बकर बाबु, सर ओस्मान र मलाई विश्वकप २०२२ को भोलेन्टियर हुनका लागि हौसलासहित समय उपलब्ध गराउने रोजगारदाता कम्पनी इमाल्को प्रति पनि सदैव ऋणी छु ! सुक्रान कतार । 

 

टिप्पणीहरू