बालुवाटारमा ऋषि धमलादेखि सन्दुक रुइतसँग कुराकानी

बालुवाटारमा ऋषि धमलादेखि सन्दुक रुइतसँग कुराकानी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो शनिबार पनि निकै व्यस्त हुनुभयो । बिहानैदेखि भेटघाटमा सक्रिय उहाँ दिउँसो १ बजेपछि प्रतिनिधिसभाको बैठकमा सहभागी हुनुभएको थियो । 

प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार इन्दिरा रानामागरलाई उपसभामुखमा निर्वाचित गरेपछि उहाँ बालुवाटार फर्कनुभएको हो । त्यसपछि पनि उहाँ भेटघाटमै व्यस्त हुनुभएको बताइन्छ ।

हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पत्रकार ऋषि धमला पुगेका हुन् । उनले प्रधानमन्त्रीसँग पौने ९ बजेदेखि सवा ९ बजेसम्म भेटवार्ता गरेको बालुवाटार स्रोतले बतायो । त्यसपछि प्रधानमन्त्री निवासमा प्रधानमन्त्री र पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच बिहान सवा ९ बजदेखि पौने १० बजेसम्म कुराकानी भएको हो । शर्मा निस्केपछि बालुवाटारमा पूर्वगृहमन्त्री तथा माओवादीका अर्का उपमहासचिव शक्ति बस्नेत पुगेको बताइन्छ । प्रधानमन्त्रीले बस्नेतसँग २० मीनेट कुराकानी गर्नुभएको हो ।    

प्रधानमन्त्री दाहालसँग त्यसपछि राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराम थापाले भेटघाट गरेका हुन् । उनले प्रधानमन्त्रीसँग पौने १२ बजेदेखि सवा १२ बजेसम्म छलफल गरेका थिए ।साँझ तिलगंगा आँखा अस्पतालका निर्देशक डा. सन्दुक रुईत बालुवाटार पुग्नुभयो । प्रधानमन्त्री दाहाल र डा. रुइतबीच साँझ साढे ७ बजेदेखि झण्डै एक घण्टा भेटवार्ता भएको हो । सो क्रममा प्रधानमन्त्रीले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू