रुने मन त रुन्छ, तपाईंहरूले लेखेर मात्रै के हुन्छ ?

रुने मन त रुन्छ, तपाईंहरूले लेखेर मात्रै के हुन्छ ?

अहिले पठन संस्कार हराउँदै गएको छ । यत्तिका मिडिया छन् । तिनमा धेरै थोक सम्प्रेषण भएको हुन्छ तर पनि मानिसलाई पढ्ने चाहना नै हुँदैन । चाहना नै नभएपछि पढ्न पाइन, भ्याइन भनेर अनेक बहाना बनाउँछन् । मिडियाका सामग्री भए समाचारको शीर्षक पढेर, हेरेर आफ्नो विचार निर्माण गर्छ मान्छे तर वास्तविक गहिराइमा पुग्नै चाहँदैन । शीर्षकको आधारमा बनाइएको विचार र समाजमा अभिव्यक्त हुने यस्तो विचारले कस्तो सूचना देला आम मानिसमा अनि मानिसले त्यस्तो सूचना लिएर आफैँ कस्तो विचार बनाउला ? यस्तै प्रकारका मानिस सत्ता र शक्तिमा पुगेपछि मुलुकको अवस्था के होला ? अर्काथरि मानिस पढ्नुको सट्टा कसैले दिएको वा भनेको सुनेर नै धारणा तय गर्छन् । पढेर आफैँ ज्ञान हासिल गर्नुको साटो शक्ति केन्द्र वा ठूलाबडाको गुणगान गाएर समय फाल्छन् । संसारिक विडम्बना पनि कस्तो निष्ठुरी छ भने यिनै गुणगान गाउनेहरूलाई नै शक्ति केन्द्र राम्रो र हाम्रो मान्छे ठान्दछ । शक्ति केन्द्रद्वारा प्रचारित मानिसलाई बाह््य समाजले पनि नकार्न सक्दैन । उसैलाई भगवान ठान्छ, उसकै पछि लाग्छ । 

पढ्नुजस्तै लेख्नु पनि कला हो, रुचि, अभिरुचि हो । जो पायो त्यहीले लेख्न सक्दैन । यद्यपि सक्नेले लेख्ने संस्कार पनि हराउँदै गएको छ । परीक्षा पास हुनका लागि कनीकुथी पढ्नु, लेख्नुबाहेक मान्छेले अन्य कुरा पढ्न, लेख्न नै खोज्दैन । कोर्सका पुस्तक पढेर सही उत्तर लेख्ने झन् कमै छन् । गेस पेपर वा केही प्रश्नोत्तर हेरी विषय कटाएर प्रमाणपत्र लिनेहरूको लर्काे थामी नसक्नु छ यहाँ । सूचना प्रविधिमा भएको तीव्र विकासले झन् मानिसको पठन, लेखन संस्कार, रुचि हट्दै गएको छ । त्यसैले आज सञ्चार माध्यम, पुस्तक वा अन्य माध्यमबाट जे लेखे पनि चिमोट्दैन मान्छेलाई, घोच्दैन जिउँदा लाशहरूलाई । कसैलाई कुनै मतलव हुँदैन, छैन । झूटै कुरा लेखेर प्रचार गरे पनि बेपर्वाह छ, समाज । बरु समाज, कवि भूपि शेरचनले भने झैँ यस्तै हल्ला, झूटलाई सत्य मानेर कोलाहल मच्चाउन माहिर छ, हुन्छ । 

यही भएर दिक्क मान्दै एकजना साथीले साहित्यिक शैलीमा भनेका होलान्– अनि जतिसुकै बेइमानी, अपराध, व्यभिचार, अनाचार, दुराचार गरे पनि फुक्काफाल भएर छाती फुलाउँदै हिँड्न पाएपछि अर्काथरीले व्यंग्य गरेका होलान् तपाईँले लेखेर के हुन्छ यो देशमा ? दोस्रो थरीले भनेको होला हामीलाई कुनै नियम, ऐन, कानुनले छुँदैन त तपाईंहरूले लेखेर के भयो ? के अर्थ ? पहिलो मित्रले भनेका होलान्, तपाईंले जुनसुकै विषयमा लेखेर, पत्रकारले गहिरा गहिरा विषय खोतलेर के हुन्छ यो गाउँ–समाजमा ? लुट्नेले लुटिरहेकै छ । राष्ट्रिय अस्मितामाथि दिउँसै डकैती भइरहेकै छ । मिलाएर मिसन चलाउनेले चलाएकै छ । कमिसन खानेले खाएकै छ । पाखुरो सुर्केर, पैसोको ध्वांस दिएर नेता बन्ने बनेकै छ । यो गणतन्त्रमा पनि परिवारवाद, आफन्तवाद, नातावाद हावी नै छ । नेता, मन्त्री विदेशीका गुलाम बन्न छाडेका छैनन् । गरिबी हटेको छैन । जिउँदा जाग्दा दाजुभाइ, दिदीबहिनी विदेशिने क्रम रोकिएको छैन । विद्यार्थीले कोर्सबुक र किसानले मल नपाउँदा दुख्ने मन नै छैन यहाँ । 

भन्न त घोर निराश भएर भनेका हुन् उनले । तर साथी, यस्तरी निराश हुनुहुन्न । जतिसुकै चरम आपतविपतमा पनि हरेश खान हुन्न । कर्तव्य पूरा गर्न छाड्न हुन्न । आफ्नो र अरुको भूमिका के हो बिर्सन हुन्न । गर्नेले आ–आफ्नो भूमिका निर्वाह गर्ने नै हो । यी दुवैखाले साथीहरूलाई म भन्छु अब । जस्तो कि सृष्टि रचना गर्नेले नगरेको भए के हुन्थ्यो ? हाम्रा भाषाशैली, लिपि, व्याकरणहरू पत्ता नलगाएको भए के हुन्थ्यो ? पुर्खाहरूले नलडी दिएको भए के हुन्थ्यो ? सत साहेब कबिरले ग्रन्थ लेखाएर के भयो ?, वेद व्यासले १८ पुराण लेखेर के भयो ? उपनिषद्, श्रीमद्भभागवत् गीताजस्ता शास्त्रहरू नलेखिएको भए के हुन्थ्यो ? गोर्कीहरूले आमा उपन्यास लेखेर के भयो ? भानुभक्तले घाँसी कविता लेखेर, रामायण अनुवाद गरेर उनलाई बाहेक अरुलाई के लछारपाटो लाग्यो ? मोतीराम भट्टले उमेरको २० कै दशकमा गजल सिर्जना गरेर किन टाउको दुखाएको ? बेकारमा सुधासागर किन निकालिएको होला ? देव समशेरले गोरखापत्र पत्रिका निकाल्न लगाएर किन टाउको दुखाएका होलान् ? रामहरि जोशीहरूले जहाँनिया राणाशासनविरुद्ध पर्चा लेखेर किन छर्दै हिँड्न परेको थियो ? लखन थापाले राणाका अगाडि किन निहुँ खोजेको होला ? सुब्बा कृष्णलाल अधिकारीले मकैको खेती लेखेर एकबारको आफ्नै जिन्दगीलाई किन सिध्याएको होला ? गंगालालहरूले राणाशासनलाई खुलेआम चुनौती दिएर किन भर्भराउँदो जीवन स्वाहा पारेको होला ? के खान शहीद बन्नुपरेको होला ? हुँदो न खाँदो लेखेर लक्ष्मीप्रसाद देवकोटा किन महाकवि कहलिनु परेको होला ? लेखनाथ पौडेल, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरेहरूले काम नपाएर किन साहित्यिक रचना गर्नुपरेको होला ? माक्र्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र लेखेर किन संसारभर यत्तिका कम्युनिष्ट जन्माएको ? हाम्रै देशमा पुष्पलालहरूले कम्युनिष्ट पार्टी खोलेर, घोषणापत्र लेखेर किन दिमाग भ्रष्ट बनाएको ? बिपीले कांग्रेस पार्टी जन्माएर आज किन देशभरि यत्तिका कांग्रेस उमारेको ? उनले प्रजातान्त्रिक समाजवादको दस्तावेज लेखेर के भयो ? कम्युनिष्ट र कांग्रेसले किन राणा र पञ्चायतका विरुद्ध लडेर वाहियात काम गरेको ? दाजुभाइबीचको सम्बन्ध बिगारेको ? गान्धी किन अंग्रेजी औपनिवेशका विरुद्ध नांगैभुतुंगै भएर उभिएको ? मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याएर किन मान्छेलाई यस्तरी भड्काएको ? प्रचण्डले जनयुद्ध भनेर मुलुकको हलो गोरुलाई किन १०÷१२ वर्षसम्म अड्काएको ? जनसंघर्ष, जनआन्दोलन, जनयुद्ध भएर के भयो ? राणा, पञ्चायत गएर के भयो ?, बहुदल, गणतन्त्र आएर के भयो ? संविधान लेखेर के भयो ? तपाईं र मैले मात्रै यहाँका समस्या देखेर के भयो ? अनि नि अनि व्यापारीले सामान बेचेर के हुन्छ ? मास्टरले मार्कर र डस्टर बोकेर के हुन्छ ? डाक्टरले बिरामी जाँचेर के हुन्छ ? इञ्जिनियरले फित्ता तेस्र्याएर के हुन्छ ? किसानले खेतीपाती नगरे के हुन्छ ? वकिलले वकालत गरे पनि नगरे पनि मलाई र तपाइँलाई के मिल्छ ? न्यायाधीशले फैसला सुनाएर के हुन्छ ? कर्मचारीले जागीरै नखाए के हुन्छ ? चालकले विमान, गाडी चलाउँदै नचलाए के हुन्छ ? आदि आदि । 

हो, मेरा दुवैथरी मित्रहरूले लेखेर के हुन्छ र ? कसको शानमा कुन घुनपुत्लो लाग्छ र ? ताराहरू चम्किएर के हुन्छ र ? घाम उदाएर के हुन्छ र ? खोला, नदीनाला नबगे पनि के हुन्छ र ? चराहरू चिरविर चिरविर चिच्याएर होहल्ला गर्दैमा शान्ति छाउँछ र ? सगरमाथा अग्लो भएर हाम्रोे जीवनमा क्रान्ति आउँछ र ? अनि अग्लो भएर के नै भएको छ र ? हिलारी र तेञ्जिगंले त्यो सगरमाथा चुमेर हाम्रो जीवनचर्यामा के फेरबदल आयो र ? चन्द्रमा शीतल भएर के फरक पर्छ र ? जनआस्थाले कृष्ण सेनको हत्याको समाचार लेखेर के नापियो ? सेनले नै जेल, सिम्ठारो धान, बर्मझियाजस्ता कविता लेखेर मुलुकमा कुन शासन, सुशासन आयो ? गोपालप्रसाद रिमालले आमाको सपना भन्दै आमा त्यो आउँछ भन्ने कविता लेखेर हो र राजतन्त्र गा’को ? गणतन्त्र आको ? हो, साथी मैले लेखेर तिमी दुवै जनालाई केही हुँदैन । तिमीहरूलाई पुरस्कार र दण्ड दुवै मिल्दैन । त्यो दिलाउने ल्यागत पनि मेरो होइन, छैन । यो पनि थाहा छ मलाई, लेखेर मेरै घर परिवार चल्दैन, मेरै घरको चुलो बल्दैन । तर पनि साथी, कसैले नपढे पनि, कसैले पुरस्कार र तिरस्कार नपाए पनि, मलाई आत्मसन्तुष्टी र आनन्द मिल्छ । यस्तै बहाना र चाहनामा तिमीसँग भेट्ने साइत जुर्छ अनि तिम्रो प्रतिक्रिया सुनेर कमसेकम यस्तै यस्तै लेखको शीर्षक फुर्छ ।
 

टिप्पणीहरू