अलपत्र सवारी साधनमा लसुन खेती

अलपत्र सवारी साधनमा लसुन खेती

जिल्ला ट्राफिक कार्यालय, सुर्खेतको परिसर नजिकै अलपत्र अवस्थामा रहेको गाडीको पछाडि भागमा लसुन खेती गरिएको छ । उक्त खेतीको तस्बिर यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ । ट्राफिक प्रहरीले जफत गरेको भनिएको चार पाङ्ग्रे पिकअपको पछाडि भागमा लसुन रोपेर हरियो बनाइएको तस्बिरमा देख्न सकिन्छ । 

मानमोहन सिंहले सामाजिक सञ्जालमा तस्बिर राख्दै लेखेका छन्,‘जिल्ला ट्राफिक कार्यालय, सुर्खेतमा अलपत्र अवस्थामा रहेको गाडीको पछाडि भागमा लसुन खेती गरिएको छ । जफत गरेको गाडीमा अब यही व्यवसाय गर्नुपर्यो है ट्राफिक दाइहरु ।’

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले उक्त स्टाटसमा लेखेका छन्, ‘यसरी सडाउनुभन्दा त लिलाम गरेर केही रुपैयाँ पारेको भए देशलाई त फाइदा पुग्थ्यो होला ।’

त्यस्तै, अर्काले भनेका छन्,‘वा क्या प्रगति गरेछ गाँठे मेरो देशले ? सरसामान ओसारपसार गर्ने एक इन्धनसहितको इन्जिनलाई लसुन रोप्ने बारी बनाएर बडो गज्जबको कार्य गरेछ, सलाम छ ।’

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले उक्त लसुन आफ्ना कर्मचारीले नरोपेको बताएको छ । सो गाडी कार्यालयको कम्पाउण्डभित्र नरहेको पनि त्यहाँका एक कर्मचारीले बताए । 

उनकाअनुसार वर्षौंदेखि उक्त गाडी ट्राफिक कार्यालय नजिकै बेवारिसे अवस्थामा रहेकाले स्थानीयले लसुन खेती गरेका हुनसक्छ । ‘त्यो गाडी ट्राफिकले समातेको पनि होइन । वर्षौंदेखि ट्राफिक कार्यालय नजिकै बेवारिसे अवस्थामा छ । नजिकैको चिया पसलेले गाडीमा लसुन खेती गरेका हुन्’, उनले भने,‘ट्राफिकले कहाँ समातेको गाडीमा लसुन खेती गर्छ ? अहिले सबैको हातमा मोबाइल छ, जे मन लाग्यो त्यही लेखिदिन्छन्,’ दुःखेसोसहित उनले तीतो पोखे ।

टिप्पणीहरू