माघ नलाग्दै राजधानीमा आँपको फूल फुल्यो

माघ नलाग्दै राजधानीमा आँपको फूल फुल्यो

आँपलाई फलफूलको राजा भनिन्छ । अधिकांशलाई फलफूलमध्ये सबैभन्दा बढी आँप मनपर्छ । आँप विशेषतः गर्मी भेगमा पनि उष्ण मौसममा फल्ने गर्छ । नेपालको पूर्वदेखि पश्चिम तथा दक्षिणको तराईदेखि तीन हजार फिटको उचाइसम्मका पहाडी भेगमा फल्छ । 

आँपलाई उष्ण हावापानी भएको स्थानमा हुर्कने गुलियो फल मानिन्छ । प्राकृतिक रुपमा आँप भारतको उत्तरी भाग र नेपालमा असार अन्तिमदेखि भदौ महिनासम्म पाक्छ । त्यसको निम्ति फागुन मसान्तदेखि चैत्र अन्तिमसम्म आँपको बोटमा फूल फुल्ने गर्दछ ।

तर, पछिल्लो समय बजारमा बेमौसमी फलफूल पाइन थालेको छ । रासायनिक मल र विषादीको प्रयोग गरेर किसानहरुले सिजनअगावै फलफूल पकाउने गरेका छन् । असारको तेस्रो हप्तादेखि चौथो हप्तामा पाक्ने आँप जेठ नलाग्दै बजारमा देखिन थालिसक्छ । 

यसको निम्ति माघको पहिलो सातामै चिसो काठमाडौंमा आँपको फूल फुल्नु आश्चर्यको विषय हो । ललितपुरको ठाडो ढुंगास्थित एउटा घरको बगैंचामा यस्तै अनौठो दृश्य देखिएको छ । फागुनको पहिलो हप्तादेखि फुल्नुपर्ने आँपको बोटमा माघ शुरु नहुँदै बोटभरी फूल फक्रेको हो ।  

यसो हुनुमा जलवायु परिवर्तनको प्रभाव भन्ने गरिएको छ । जलवायु परिवर्तनले वातावरणका साथै वनस्पतिमासमेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पारेको बताइन्छ । विज्ञहरुका अनुसार जलवायु परिवर्तनले मानिस, मौसम, र बोटबिरुवामा प्रभाव पार्ने भएकाले बोटबिरुवाहरुमा त्यस्तो असर देखिएको हो ।

कृषिविज्ञ राजेन्द्र देवकोटाले काठमाडौं उपत्यकामा माघ नलाग्दै आँपको बोटमा फुलेको फूललाई जलवायु परिवर्तनबाट बोटविरुवामा परेको असर भनेर बुझ्नुपर्ने उल्लेख गरे । सबै क्षेत्रमा ‘हाइब्रिड’ बनाउँदै जाँदा यस्तो असर देखिएको उनको भनाइ छ । उनले थपे,‘समयअगावै फुलेको फूलले उत्पादन र वातावरणमा प्रत्यक्ष असर पार्छ । तर, यो कुनै एक वनस्पतिमा मात्र लागू हुन्छ वा हुँदैन भनेर भन्न सकिँदैन ।’ 

देवकोटाका अनुसार जलवायु परिवर्तन, अत्यधिक मात्रामा हुने तापक्रमको घटबढ र सूर्यका किरणहरुको प्रभावले वनस्पति तथा बोटबिरुवामा यस्तो प्रभाव पर्छ । ‘जाडोको समयमा बिहान र बेलुका चिसो हुन्छ तर दिउँसो चर्को घाम लाग्न थालेको छ । त्यसैले वनस्पतिहरु समयअगावै फुल्छन् ।’ तर यसरी फुलेका फूलबाट उपयुक्त समयमा उपयुक्त तथा गुणस्तरीय उत्पादन भने नहुने उनको निश्कर्ष छ । त्यस्ता फलफूल बेस्वादका र नमिठो हुने उनको अनुभव छ । 

वातावरण मन्त्रालयले भने जलवायु परिवर्तनले हाम्रो वरपरको वातावरण र हावापानीमा सोझै प्रभाव पार्ने भएकाले त्यसको असर वनस्पति तथा बोटबिरुवामा पर्न जाने जानकारी दिएको छ । त्यसैले वातावरणमा प्रभाव पर्ने गरेर बोटविरुवामा विभिन्न रसायन वा विषादीको प्रयोग नगर्न आग्रह गरेको छ ।
 

टिप्पणीहरू