प्रधानमन्त्रीलाई रविको पेलान : ‘मलाई गृह नदिए अप्ठ्यारो पर्छ’

प्रधानमन्त्रीलाई रविको पेलान : ‘मलाई गृह नदिए अप्ठ्यारो पर्छ’

हिजो दिउँसो प्रक्रिया पुर्याएर नेपालको नागरिकता लिएपछि रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरा पुगी कागजी प्रक्रिया मिलाउन  लगातार तीन वटा बैठक राखे । असोजमा दल दर्ता गर्दाको बिधान (धारा ४०) बिपरित आधी घण्टामै पार्टीको साधारण सदस्यता लिँदै,केन्द्रीय सदस्य र सभापतिमा  नियुक्त भएर आफ्नै अध्यक्षतामा बसेको बैठकबाट गृह मन्त्रालय ‘बटम लाइन’ भन्ने निर्णय लेखाए ।

त्यसपछि साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे । त्यसअघि झण्डै साढे २ घण्टा केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेर राष्ट्रपति निर्वाचनमा आफ्नो अडान र गृह मन्त्रालयको जिम्मेवारी पुनः रविलाई दिनुपर्ने धारणा राखिसक्नुभएको थियो । साँझ साढे ७ बजेदेखि करिब एक घण्टा बातचितका क्रममा रविले एउटै कुरो दोहोर्याएको बालुवाटार स्रोतको भनाइ छ । प्रधानमन्त्रीसँग उनले व्यक्त गरेको धारणा हुबहु उद्धृत गर्दै स्रोत भन्छ,

‘मैले अब नागरिकता लिएँ । पासपोर्ट प्रकरण पनि भोलि सकिइहाल्छ । त्यसपछि उपचुनाव जितेर आइहाल्छु । अहिले गृहमन्त्रालय चाहियो । त्यो नगरे त हुँदै हुँदैन । गृह मन्त्रालय हाम्रो पार्टीको भागमा राख्ने पहिलेदेखिको सहमति हो ।’ 

तर हिजो अपरान्ह उनले त्रिपुरेश्वरस्थित राहदानी विभागमा गएर यसअघि दुरुपयोग गरिएको पासपोर्ट बुझाउँदैमा च्याप्टर क्लोज नहुने विभागका अधिकारीहरु बताउँछन् । ‘यो विषय अदालतको बहसमा समेत उठेको छ । फैसलाको पूर्ण पाठ आएकै छैन । त्यसमा केही उल्लेख भएको हुनसक्छ । तर पनि दोहोरो नागरिकता र राहदानी लिएको विषय उनैले हिजो पुष्टि गरेकाले अब प्रहरी प्रशासनले फौजदारी अभियोगमा छानबिन गर्नुपर्ने हुन्छ,’ विभागका एक जना अधिकारीले बताए ।

 
यता रविको पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा पनि केही नहुने बालुवाटारको बुझाइ छ । लामिछानेको मागअनुसार तत्काल सबै विषय कार्यान्वयन हुने अवस्था नभएकाले गृह मन्त्रालयको जिम्मेवारी दिने वा राहदानी र नागरिकताको विषय अहिले नै सकियो भन्ने अवस्था नरहेको बालुवाटार स्रोतले जनआस्थासँगको कुराकानीमा बतायो ।

हिजो साँझ प्रधानमन्त्रीसँग भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तामा पनि ओलीले पुरानै कुरा दोहोर्याउनुभएको छ । उहाँले मुख्यगरी राष्ट्रपतिको कुरो गर्नुभएको बताइन्छ । तर पात्रको नाम ठ्याक्कै नभनिएको र एमालेकै उम्मेदवारमा सहमति हुनुपर्ने उहाँको भनाइको सार हो ।

टिप्पणीहरू