श्रीमान्, सरकारी पैसाले रक्सी खान पाइन्छ ?
हाम्रो सनातन शास्त्रअनुसार काल ब्रह्माले आफ्नै बहिनी दुर्गासँग जबर्जस्ती विवाह र भोगविलास गरे । उनको भोगविलासबाट ब्रम्ह, विष्णु र महेश(शिवजी) को जन्म भयो । माता दुर्गाले जेठो छोरा ब्रह्माको सावित्री, माइलो छोरा विष्णुको लक्ष्मी र कान्छो छोरा महेश(शिव)को पार्वतीसँग विवाह गराइदिइन् । वास्तवमा ब्रह्मा र सावित्री, विष्णु र लक्ष्मी अनि शिव र पार्वतीको समागमबाट नै सुर (देवता) र असुर(दैत्य, दानव, राक्षस) को जन्म भयो । तेस्रोपटक समुद्र मन्थन हुँदा चारवटा चीज निस्कियो । रत्न, अमृत, विष अनि मदिरा (रक्सी) । ब्रह्माले चौध रत्न पाए । विष्णु र देवताहरूले अमृत पाए । शिवले विष पाए । शिवले त्यसलाई आफ्नो कण्ठमा राखे । त्यसैले उनलाई नीलकण्ठ पनि भनियो । असुरहरूले मदिरा पाए । वास्तवमा मदिराको उत्पादन त्यहीबेलादेखि भयो । अनि असुरहरूले मदिरा पान गर्दै आए । उक्त शास्त्रका अनुसार मदिरा पान गर्नेहरू वास्तवमा राक्षस(दैत्य, दानव) हुन् । यो कुरा प्रशस्त मदिरा पिउने आजका मानिसबाट नै पुष्टि हुन्छ । किनकि मदिराले उन्मत्त हुँदा उसले गर्ने हिंस्रक व्यवहारबाट ऊ दैत्यभन्दा फरक हो भन्ने देख्न सकिँदैन । उसमा देवताको व्यवहार त पटक्कै पाइन्न ।
यद्यपि आज मदिरा उत्पादन गर्ने तरिका अनेक छन् । त्यही मदिरा कसैको पर्वको लागि पवित्र सगुन बन्ने गरेको छ । यो कसैको संस्कार, संस्कृति, परम्परा बनेकाले जबर्जस्ती रूपमा सम्मान गरिदिनुपर्ने अवस्था पनि छ । आजको कलियुगमा संसारभर नै मदिरा पान नगर्ने मानिस कमै होलान् । फरक यत्ति हो, कोही भट्टीमा पिउँछन्, कोही रिसोर्ट र फाइभ स्टारमा पिउँछन् । सामान्य वर्गका मानिस पिएर भट्टीमा लड्छन्, उच्च वर्ग, ओहोदाका मानिस पाँचतारे होटलमा लड्छन् । कतिसम्म भने, विश्वभर कूटनीतिक मर्यादा कायम राख्नका लागि समेत मदिरा नै पिउनुपर्ने अवस्था छ । भन्न त मानिसहरू के–के, के–के भन्छन् । कोही रक्सी पियो भने चिसो च्याट्टै भाग्छ भन्छन् । औषधीमा समेत अल्कोहलको मात्रा हुने भएकाले अलि अलि मदिरा पिउँदा केही फरक पर्दैन भनेर उक्साउनेहरू पनि प्रशस्तै भेटिन्छन् । मानिसले दानी र ज्ञानी भएर खाऔँ खाऔँ भन्ने चीज सायद यही मदिरा होला । तर मदिरा पिएर फाइदा हुन्छ भन्ने वैज्ञानिक तथ्य कहीँ फेला परेको छैन ।
यतिसम्म कि सरकारी निकायमा समेत मदिराका नाममा खर्च हुने गरेको पाइन्छ । कागजी प्रमाण नै खोज्ने हो भने त, त्यो खर्चलाई मदिरा नै किनेको भनेर उल्लेख गरेको लिखत कहीँ पाइँदैन । त्यसलाई अन्य खर्चमा देखाएर मदिरा पिउने प्रपञ्च गरिन्छ । कतिपयले संयुक्त कार्यक्रम गर्दा अर्काे पाटीलाई खर्च तिर्न लगाएर पनि मदिरा पिउने कलायुक्त नाटक रचेका हुन्छन् । गर्नपर्ने कार्यक्रम गर्न पाइएन, कार्यालयका अन्य शीर्षकमा खर्च भएन, यो भएन त्यो भएन भन्नेहरू पनि मदिरामा भएको खर्चमा चाहिँ मौन हुन्छन् । किनकि मदिराले तिनीहरूलाई पनि लठ्ठ पार्छ, झुम्म बनाउँछ । मदिरा सेवन गर्नेहरूमा मदिराले आनन्द दिएको हो, ताजगीपन प्राप्त भएको भन्ने भ्रम हुन्छ । तर यस्तो आनन्द मदिराबाट प्राप्त हुने होइन । आफ्नै दिमागभित्र रहेको सेरोटोनिन र डोपामाइन केमिकल रिलिज भएर खुशी, रिल्याक्स प्राप्त भएको हो भन्ने कुरा कमै मानिसले बुझेका होलान् । यो पनि क्षणिक आनन्द हो । यस्तो दीर्घ आनन्द त ध्यान, योग गर्दा प्राप्त गर्न सकिन्छ । यतिसम्मकि यौन सम्बन्ध राख्दा वा प्रेममा फस्दा पनि मानिसलाई आफ्नै डोपामाइन र सेरोटोनिन हर्माेन रिलिज भएर आनन्द आउने हो । अर्काे पक्षलाई देखेर वा छोएर होइन । त्यसैले मानिसको चिर आनन्द मानिसभित्रै छ, त्यो आनन्द न रक्सीमा छ न जाँडमा । न बाहिरी संसारमा छ न अरुको शारीरिक अंगमा ।
अहिले मदिरा नपिउने कुनै क्षेत्र छैन, चोखो कुनै क्षेत्र छैन । मदिरा सेवनले न्याय मरेको छ । सच्चा पत्रकारिता गुमेको छ । धेरै धेरै कुरा छोपिएको छ । महिलाले अनाहक, अकालमा ज्यान गुमाउनु परेको छ । हिंसा सहन परेको छ । अर्काेतिर मदिराका कारण अनेक रोग लाग्दा स्वास्थ्यमा खर्च थपिएकाले मानिसमा नै मानसिक चिन्ता थपिइरहेको छ । मदिराले व्यक्ति, घरपरिवार, समाज, राष्ट्रमा नै नकारात्मक प्रभाव पारेको छ । यसको सकारात्मक प्रभाव नै छैन । सबैलाई कमाण्डमा ल्याउन सक्ने तागत भएको राजनीतिक क्षेत्रसमेत मदिरारहित हुन सकेको छैन । यहाँ त झन् रक्सी पिउनेलाई महान क्रान्तिकारी पो ठानिन्छ । राजनीतिमा समेत विचार मिल्ने भन्दा रक्सी पिउनेकै समूह बन्दछ, कुरा मिल्दछ । जुनसुकै पार्टी, संगठनका भए पनि रक्स्याहा, जँड्याहाका साथी रक्स्याहा, जँड्याहा नै बन्दछन् । राजनीतिक नेता, मन्त्री, सांसद, साँस्कृतिककर्मी, लेखक नै मदिराले ओत भएपछि सरकारी निकायमा समेत यसको प्रभाव नपर्ने कुरै भएन । प्रत्येक कार्यालय चल्ने चेन अफ कमाण्डमा हो, चल्नुपर्ने त्यसरी नै हो तर कलियुगमा कर्मचारीतन्त्रको चेन अफ कमाण्ड पदसोपान प्रणाली या मर्यादाक्रममा होइन, मदिरामा छ भन्दा फरक नपर्ला । किनकि पिउनेहरूको स्वतः एउटा जमात बन्दछ । तिनीहरू स्वतः कुनै काम गर्न, नगर्न सहमत हुन्छन् । त्यस्तो अवस्थामा सोपान प्रणाली मिचेरै भए पनि मदिरा नपिउनेलाई बाल मतलब दिँदैनन् । त्यसले गर्दा मुद्दा हार्छ । विषयवस्तु ओझेलमा पर्छ । नैतिकता रुन्छ । सदाचार निरुत्साहित हुन्छ । भ्रष्टाचार मौलाउँछ । धेरैजसो निजी क्षेत्रमा पनि मदिरापान गर्नेकै शान र मान हुन्छ । ठेक्कापट्टा मिलाउन, कुनै षड्यन्त्र गर्न, बिग्रेको सम्बन्ध सुधार्न वा नयाँ सम्बन्ध बनाउन बन्दकोठामा बसेर मदिरा पिउँदै मुड फ्रेस नै त गर्न पर्दछ । गरिन्छ नि !
मदिरा पानले व्यक्तिगत र राष्ट्रिय अर्थतन्त्र नै ध्वस्त पारेको छ । सबै वर्गलाई बिगारेको छ । घरेलु हिंसा बढाइरहेको छ । राज्यको आर्थिक अवस्था खस्कँदै गएकाले होला, सरकारले हालै सकेसम्म अनावश्यक खर्च नगर्न १७ बुँदे निर्देशन जारी गरेको छ । वास्तवमा दिनहुँ मदिरा पान गर्न, गराउन नपर्ने हो भने भ्रष्टाचार गर्न, कमिसन खान, चोरबाटो समाउन, लुट्न नै पर्दैन मान्छेलाई । कमाइ पनि धेरै गर्न पर्दैन । सदाचारी मानिसलाई न भ्रष्टाचार गर्न पर्छ न कमिसन खान पर्छ । न चोर आइडिया लगाउन पर्छ । के यतातिर सरकारको ध्यान जान्छ ? सरकारले कडाइ गर्न सक्छ ? अनि मदिरामा हुने वाहियात खर्चलाई सरकारले जनताको हित या विकाससम्बन्धी कार्यक्रममा खर्च गर्न सक्छ ? कमसेकम सरकारले तत्काललाई प्रत्येक सरकारी कार्यालयमा छद्मरूपमा मदिरामा हुने खर्च रोक्न सक्ने हो भने मुलुक र मुलुकबासीलाई केही राहत हुने थियो कि ? अर्काेतिर विदेशी मदिराको आयात नै बन्द गरिदिए अनि तत्कालै छोड्नै नसकिने, खानै पर्ने भए स्वदेशी रक्सी नै खानुपर्ने निर्देशन जारी गरे कति राम्रो हुन्थ्यो होला । त्यसपछि क्रमशः मदिरामा हुने खर्च, लगानीले गाई, भैँसी पालेर मानिसलाई दूध, घ्यु, दही, मही खुवाउन उत्प्रेरित गर्दै लगे कसो होला सरकारजी ? यस्तो अभियान थाले कति राम्रो हुने थियो होला मन्त्रीजी ? निकाय प्रमुखजीहरू ? अनि लोकसेवा आयोग र निजी क्षेत्रले सरकारी, निजी सेवा, नियुक्तिमा प्रवेशको एउटा शर्त (आचारसंहिता) मा नै मदिरा पान गर्न नपाउने व्यवस्था राखिदिए कस्तो हुन्थ्यो होला ?
टिप्पणीहरू