हाछेथुको काम देखेर चिरिबाबु मख्ख

हाछेथुको काम देखेर चिरिबाबु मख्ख

ललितपुर महानगरपालिकाले महानगरीय प्रहरीले गरेका कामको भिडियो प्रदर्शनी गरेको छ । आज पुल्चोकस्थित याक प्यालेसमा ‘श्रव्यदृश्य सामग्री प्रर्दशन कार्यक्रम’ आयोजना गरि महानगरले भिडियो देखाएर नगर प्रहरीको कामकारवाही सार्वजनिक गरेको हो । 

मेयर चिरिबाबु महर्जन, उपमेयर मञ्जुली शाक्य बज्राचार्य, मिस अर्थ २०२२ की विजेता श्रीसा श्रेष्ठलगायतको उपस्थितिमा भएको कार्यक्रममा नगर प्रहरीद्धारा हालसम्म सम्पादन भएका कामहरु भिडियोका माध्यमबाट देखाइएको थियो । 

सो अवसरमा नेपाल प्रहरीबाट अवकाश प्राप्त प्रहरी निरीक्षक सीताराम हाछेथुलाई महानगर प्रहरी प्रमुखमा नियुक्त गरेर अत्यन्तै राम्रो निर्णय गरेको मेयर महर्जनले बताए । हाछेथुको सफल नेतृत्वको परिणाम नगर व्यवस्थापनमा प्रहरीको प्रभावकारिता देखिएको भन्दै उनले खुशी व्यक्त गरे । नगर प्रहरीको सहयोगी भूमिकाले ललितपुरमा थुप्रै विकास, निर्माणका काम सम्भव भएको भुल्न नहुने मेयर महर्जनको भनाई छ । 

संस्कृतिको संरक्षणलाई ध्यानमा राखेर स्मार्ट सिटी बनाउन अघि बढेको उल्लेख गर्दै मेयर महर्जनले अबको दुई वर्षमा ललितपुर सबैभन्दा उत्कृष्ट महानगर बन्ने पनि दावी गरेका छन् । 

‘संस्कृतिको जगेर्ना गरी स्मार्ट सिटी निर्माण गर्न महानगर अघि बढिसकेको छ । यसमा सबैको साथ र सहयोग चाहिन्छ । नगरवासी, स्थानीय सरोकार र महानगर प्रहरी एकजुट भयो भने यो काम गर्न धेरै समय लाग्दैन’, उनले भने,‘महानगर प्रहरीले उत्कृष्ट काम गरेको छ । न कतै मूर्दावादको नारा लागेको छ न त कोही रुनुपरेको छ । पहिले र अहिलेको महानगर प्रहरीमा आकाश पातालको फरक देखिएको छ ।’

ललितपुरले विधि पुर्याएर काम गरेको बताउँदै मेयरले प्रहरीप्रति गौरन्वित महसुश भएको सुनाए । त्यस्तै, उपमेयर बज्राचार्यले ललितपुरलाई सरसफाइ, सुरक्षित र अनुशासित सिटी बनाउने प्रतिबद्धता जनाएकी छिन् । नगरप्रहरीले थप राम्रो काम गर्ने विश्वास व्यक्त गर्दै उनले कार्यविधिबमोजिम महानगर अघि बढेको बताइन् । 

‘यो एउटा अंश मात्र हो । सम्पूर्ण सरोकारवाला निकाय, नगरवासी र नगर प्रहरीको साथ, सहयोग र सल्लाहमा योभन्दा राम्रो काम गर्न सक्छौं । संस्कृति र समृद्धिसहितको महानगर बनाउने अभियानमा हामी जुटिसकेका छौं । अबको केही समयपछि ललितपुर उत्कृष्ट महानगरमा गनिनेछ’, उनले भनिन् । 

महानगर प्रहरीद्धारा के–के भयो काम ? 

२०७७ भदौ १४ गते महानगर प्रहरीमा नियुक्त भएपछि हाछेथुको नेतृत्वमा धेरै काम भएको भिडियोमार्फत देखाइएको छ । फुटपाथ व्यवस्थापन र पार्किङ्गको समस्या समाधान नगर प्रहरीद्धारा भएको महत्वपूर्ण काम हो । 

प्रहरीको मुख्य काम सुरक्षाको अनुभूति दिलाउनु र समस्याको समाधान गर्नु हो । ललितपुरले सडकमा बसेर गुजारा गर्नेलाई विकल्प दिएको छ । आफ्नो रोजीरोटी नखोसिएकोमा फुटपाथ व्यवसायीहरु खुसी छन् । ललितपुरमा निश्चित समय तोकेर व्यापार गर्न दिने प्रबन्ध मिलाइएको छ । 

त्यस्तै, पार्किङ्ग र ट्राफिक व्यवस्थापनको किचलो पनि निकै कम हुँदै गएको छ । नगर प्रहरीले जथाभावी पार्क गरिएको सवारी साधनमा ह्वील लक लगाउँदै आएको छ । अव्यवस्थित तार हटाउने, धुम्रपानविरुद्ध सचेतना जगाउने, मापदण्ड नपुगेको पेट्रोल पम्पमा सिल लगाउने, अनाधिकृत संरचनामा डोजर चलाउनेलगायतका कार्यहरु पनि भएका छन् । 

७५ जनाको नगर प्रहरी टोली वृक्षरोपण, सार्वजनिक संरचनामा रङरोगन, मन्दिरहरु निर्माण तथा सरसफाइलगायतका काम पनि उत्तिकै सक्रिय भएर लागेको छ । 

योसंगै महानगरले सिसिटिभी जडान गर्ने, रिङरोडको झण्डै आठ किलोमिटर सडकमा बत्ती जडान गर्ने, दमकल खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

टिप्पणीहरू