हीरक यात्रा र नेपालका कम्युनिष्ट पार्टीहरु

हीरक यात्रा र नेपालका कम्युनिष्ट पार्टीहरु

शरद अधिकारी

नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको छ । २००६ वैशाख १० गतेका दिन स्वर्गीय पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । त्यसबेला नेपालमा भर्खरै मात्रै पार्टी खुल्न थालेका थिए । राणाहरुको विरोध व्यापक रुपमा हुन थालेको थियो । राजाहरुसमेत राणाको विरोधमा आएका थिए ।

उता भारतमा लोकतन्त्र आएको थोरै समय भएकाले नेपालमा भारतीय लोकतन्त्रको प्रभाव पर्नु स्वभाविकै थियो । उता लोकतन्त्र आएकाले नेपालमा प्रजातन्त्रका लागि आन्दोलन गर्न सहज बनेको थियो । नेपालमा २००७ सालमा प्रजातन्त्र आउनुअघि केही राजनीतिक दल खुलेका थिए । तीमध्ये नेपाल कम्युनिष्ट पार्टी पनि थियो ।

कम्युनिष्ट पार्टीको स्थापना भने भारतमा भएको थियो । नेपालमा राणाहरुको शासन चरम अवस्थामा पुगेकाले राणाहरु क्रुर बन्दै गएका थिए । आफ्नो शासन जोगाउन उनीहरुले विक्रम सम्वत १९९६ देखि नै शासन व्यवस्थाको विरोधमा लाग्नेहरुलाई गोली हानेर मार्न थाले । त्यसैले राणाहरुको विरोध गर्नु निकै गाह्रो थियो । राणा शासनको विरुद्धमा बोल्नेलाई कि सुलीमा चढाइन्थ्यो, कि गोली हानिन्थ्यो अथवा कि देश निकाला गरिन्थ्यो । राणाहरुका लागि नागरिकलाई गोली हानेर मार्नु ठूलो कुरा थिएन । कोत पर्वको जगबाट जन्मिएको राणा शासनमा क्रुरता बढी थियो । यस्तो अवस्थामा कम्युनिष्ट पार्टी स्थापना गर्नु आफैंमा चुनौतीको विषय थियो । पुष्पलाल श्रेष्ठले त्यसबेला गरेको हिम्मतलाई सम्मान गर्नै पर्दछ।

कम्युनिष्ट पार्टी स्थापनाको ७५ बर्ष पुगेको अवसरमा गम्भीर समीक्षा गर्नुपर्ने थियो । कुन उद्देश्यले स्थापना भएको थियो ? त्यो उद्देश्य पूरा भयो कि भएन ? कम्युनिष्ट पार्टी स्थापनाको उद्देश्य राणा शासनको अन्त्य मात्रै थिएन । यसको उद्देश्य नेपालबाट परिवारवादको अन्त्य गर्नु पनि थियो, राजतन्त्र अन्त्य गर्नु थियो ।

कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय घोषणा पत्रलाई नेपालीमा अनुवाद गर्दैै पुष्पलालले नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको आवश्यकता सिद्ध गर्नुभएको थियो । ७५ वर्ष पूरा भएको सन्दर्भमा अहिले कम्युनिष्ट पार्टी सञ्चालन गरिरहेकाहरुले स्थापनाको औचित्य सिद्ध गर्न सकेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो ।

नेपालका कम्युनिष्टहरु झिना मसिना कुरामा विवाद गरेर विभाजित भएको इतिहास छ । कुनै नेताको श्रीमतीलाई कुन रुपमा हेर्ने भन्ने सामान्य विषयमा समेत नेपालको कम्युनिष्ट आन्दोलन विभाजित भएको देखिन्छ । दस्तावेजलाई जटिल विषय बनाएर, माक्र्सवादलाई पेचिलो विषयका रुपमा बुझाउने गरिएको छ ।

कम्युनिष्ट आन्दोलन भनेको जटिल र फरक हो भन्ने बुझाई सर्वसाधारणमा पारिएको छ । कम्युनिष्ट पार्टी जनताको सबैभन्दा नजिकको पार्टी हो । कम्युनिष्ट विचार भनेको जनतासँग सबैभन्दा नजिक रहेको विचार हो भन्ने रुपमा बुझाउने सवालमा नेपालका कम्युनिष्टहरु पटक पटक चुकेका छन् । सत्तामा पटक पटक पुगेर पनि नेपालका कम्युनिष्टहरुले आफूलाई जनताको पक्षमा उभ्याउन सकेका छैनन् । जनताले बढी विश्वास गर्ने शक्ति भएकाले नेपालका कम्युनिष्ट शक्तिले नै परिवर्तन गर्न सक्छ, परिवर्तनको नेतृत्व गर्न सक्छ भन्ने आभाष दिलाउन सक्नुपर्छ । तर यसमा उनीहरु पटक पटक चुकेका छन् ।                                                                                                                                   

कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षमा उनीहरुले आफूलाई समीक्षाको कसीमा उभ्याउनैपर्छ । सामान्य तवरले विचार नमिल्दैमा फुटिहाल्ने, अर्को दुकान खोलिहाल्ने परिपाटीको अन्त्य गर्नुपर्छ । २००६ सालमा स्थापना भएको पार्टी पहिलो पटक निर्वाचनमा जाँदा २०१५ सालमा मुलुकभर जम्मा चार स्थानमा विजयी भयो । त्यतिबेला नेपाली काँग्रेसले दुई तिहाई मत ल्याएको थियो ।

कम्युनिष्टहरु भनेका जडसूत्रवादी हुन्, उनीहरुले युद्धको कुरा गर्दछन् । मानिस मारेर क्रान्ती गर्ने कुरा गर्दछन् भन्ने भ्रम फैलाइयो । अहिले त्यो भ्रम हटेको छ । २०५१ सालमा पहिलो पटक कम्युनिष्टहरुको अल्पमतको सरकार बनेको थियो । मनमोहन अधिकारीले सरकारको नेतृत्व गर्नुभयो । त्यसपछि कम्युनिष्ट प्रधानमन्त्री बन्नका लागि १३ वर्ष कुर्नुपर्यो । २०६३ वैशाखमा लोकतन्त्र आएपछिद्ध २०६४ सालमा भएको संविधान सभाको निर्वाचनपछि पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो । त्यसपछि माधवकुमार नेपाल र नेपालपछि झलनाथ खनाल प्रधानमन्त्री बन्नुभयो । झलनाथपछि बावुराम भट्टराई माओवादीका तर्फबाट प्रधानमन्त्री बन्नुभएको हो ।

नयाँ संविधान जारीपछि २०७३ मा केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । २०७४ सालमा भएको निर्वाचनपछि पनि उहाँ नै प्रधानमन्त्री बन्नुभयो । यसरी नेपालमा हालसम्म छ जना कम्युनिष्ट प्रधानमन्त्री बनिसकेको अवस्था छ । कम्युनिष्टले नेतृत्व गरेको सरकारका बारेमा नेपाली जनता जानकार भइसकेका छन् । उनीहरुले कम्युनिष्ट सरकार देखिसकेका छन् । जनताले कम्युनिष्टको सरकार देखेपनि विश्वास गर्न भने सकिरहेका छैनन् ।

अविश्वास यस अर्थमा कि नेपालका कम्युनिष्टहरु फुट्न मात्रै जानेका छन् भन्ने बुझेका नेपाली जनतालाई ७५ वर्षको परिपक्व यात्रा गरेको कम्युनिष्ट आन्दोलन अब विभाजित भएर होइन एकताबद्ध भएर जान्छ भन्ने प्रमाणित गर्नुपर्नेछ । मुलुकको कम्युनिष्ट आन्दोलन ७५ वर्ष पुगेको अवसरमा कम्युनिष्ट विचार बोक्नेहरु सबै एकै स्थानमा आउने प्रतिबद्धता भएमा त्यो नै सबैभन्दा ठूलो कुरा हो । जनताको अपेक्षा पनि त्यहि हो ।                                                           

यतिबेला नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । माओवादी केन्द्र सशस्त्र युद्धपछि संसदीय राजनीतिमा आएको पार्टी हो । नेपालमा अहिले ठूला दुई कम्युनिष्ट पार्टीको सन्दर्भमा नेकपा एमाले र माओवादी केन्द्र हुन् । माओवादी केन्द्रको नेतृत्वमा संघीय सरकार छ । विभिन्न प्रदेशमा पनि माओवादीको नेतृत्वमा सरकार छन् ।                                             

स्थानीय तहमा भने एमाले, माओवादी र अन्य कम्युनिष्टहरुले नेतृत्व गरेका स्थानीय सरकार धेरै छन् । वडाहरुमा बहुमत कम्युनिष्टहरुकै छ । संघदेखि स्थानीय निकायसम्म कम्युनिष्टले नेतृत्व गरेका सरकार रहेको अवस्थामा देशको शासन व्यवस्था कसरी चलिरहेको छ ? के कम्युनिष्टहरुले भनेबमोजिम चलिरहेको छ ? किन कम्युनिष्टहरुले भनेबमोजिम शासन चल्न सकेको छैन ? यस्तै व्यवस्थापन कम्युनिष्टहरुले भनेको हो भने योभन्दा अब्बल कसले दिन सक्छ ?           

प्राविधिक रुपमा नेतृत्व कम्युनिष्टहरुको छ । व्यवहारिक रुपमा कम्युनिष्टको सरकारले दिने योगदान जनताले पाउन सकेका छैनन् । कम्युनिष्टहरुको आस्था, कम्युनिष्टहरुको आदर्श, कम्युनिष्टहरुको अनुशासनदेखि लिएर कम्युनिष्टहरुले भन्ने गरेको विकास र सुशासनको कुरा कति प्रतिशतसम्म पूरा भएको होला ? ५० प्रतिशतबाट ५१ प्रतिशत भइदिएको भए अहिलेको अवस्था आउने थिएन । अहिलेको जस्तो गुनासो हुने थिएन । सेवा प्रवाहको सवालमा नेपालमा कुनै पनि सरकारले आफूलाई अब्बल सावित गर्न सकेका छैनन् । २०४६ सालपछि बनेका २८ वटा सरकारमध्ये एक÷दुई वटालाई छोडेर सबै सरकार परम्परा धान्ने काममा मात्रै देखिए ।

कम्युनिष्टको सरकार कस्तो हुन्छ ? कम्युनिष्टको सरकार भएको अवस्थामा जनतालाई दिने सेवा सुविधाको अवस्था कस्तो हुन्छ ? त्यहाँ शिक्षाको अवस्था कस्तो हुन्छ ? स्वास्थ्यमा नागरिकको पहुँच कसरी विकास र विस्तार गरिन्छ ? सामाजिक जागरणको अवस्था कस्तो हुन्छ ? मानिसले मानिसलाई गर्ने व्यवहार कस्तो हुन्छ ? मानवअधिकारको अवस्था कस्तो हुन्छ ? कम्युनिष्टको सरकारमा अन्यभन्दा फरक के हुन्छ ? दक्षिणपन्थी सोच राख्नेहरुले नेतृत्व गरेको सरकारभन्दा कम्युनिष्टहरुले नेतृत्व गरेको सरकार के मानेमा फरक हुन्छ ? मानिसको अनुहारले मात्रै फरक हुन्छ कि ? मानिसको व्यवहारले फरक हुन्छ ? नाम कम्युनिष्ट राख्दैमा मानिस कम्युनिष्ट भइहाल्छ कि ? सिद्धान्तको जपना गर्दैमा कुनै व्यक्ति कम्युनिष्ट हुन्छ कि ? यस्ता धेरै विषय अनुत्तरित अवस्थामा छन् ।                                                                         

कम्युनिष्ट नाम राख्ने, व्यवहारमा तस्करलाई संरक्षण गर्ने, भ्रष्टाचारीलाई पश्रय दिने, लोभलालच पाल्ने, पूँजीपतिहरुसँग मिल्ने, श्रमजीवीको अहितमा निर्णय गर्ने, दलालहरुको हितमा काम गर्ने प्रवृत्ति कम्युनिष्ट संस्कार र आचरणभित्र कदापी पर्दैन । विश्वमा विकास कम्युनिष्टहरुले शासन नगरेका मुलुकमा पनि भएको छ । कम्युनिष्टले नेतृत्व गरेका मुलुकमा अरुभन्दा तीब्र आर्थिक विकास भएको छ । पँुजीवादी मुलुकहरु पूँजीपतिहरुको हितमा बढी काम गर्दछन् । श्रमजीवीको पक्षमा काम गर्न कम्युनिष्टहरुले जनताबाट म्याण्डेट पाएका हुन्छन् । जनमतअनुसार काम भएका छन् कि छैनन ? भनेर निर्मम समीक्षा नहुनुन आजका कम्युनिष्टहरुको गम्भीर भूल हो ।                                                       

सबैजसो कम्युनिष्टहरु आफूलाई सर्वहाराको पार्टी भन्न रुचाउँछन् । तर सर्वहाराको नारा नेपालमा गीत गाउने विषय मात्रै बनेको छ । कम्युनिष्ट सरकारलाई नागरिकले आफ्नो सरकार भन्न पाउनुपर्छ । अरुलेभन्दा राम्रो काम गर्नुपर्छ । जनताको कुरा सुन्नुपर्छ । जनताको हितमा काम गर्नुपर्छ । विकासको कुरा अरु विचार बोक्नेले भन्दा कम्युनिष्ट हौं भन्नेले बढी गर्नुपर्छ । नागरिकको सेवा अरु विचार बोक्नेले भन्दा धेरै कम्युनिष्ट विचार बोक्नेले गर्नुपर्छ ।                                 

काम एउटै भएपछि विचार फरक भन्दैमा केही हुँदैन । अरु विचार बोक्ने र कम्युनिष्ट विचार बोक्नेका बीचमा व्यवहारको फरक हुनुपर्छ । त्यसैले मदन भण्डारीले ‘सिद्धान्तको रङ खैरो हुन्छ, जीवनको रङ हरियो हुन्छ’ भन्नुभएको थियो । जीवनको रङ हरियो हुनुपर्छ अर्थात् आशावादी हुनुपर्छ । जीवन जिवित हुनुपर्छ, सरल हुनुपर्छ, सहज हुनुपर्छ । जीवनलाई सहज बनाउने सिद्धान्तले भन्दा व्यवहारले हो । सिद्धान्त सुन्नका लागि राम्रो हुन्छ । सिद्धान्त भाषणमा राम्रो हुन्छ । यहाँ मानिसले व्यवहार खोजिरहेका छन् । व्यवहार राम्रो नहुँदासम्म सिद्धान्तको रटानले मात्रै केही हुँदैन ।

अरुको शासन र कम्युनिष्टहरुको शासनमा केही फरक हुनैपर्छ । त्यो फरक नागरिकले पाउने सुविधामा प्रतिविम्बित हुनुपर्छ । नागरिकले पाउने व्यवहार हो । आज कतिपय कम्युनिष्ट भन्नेहरुको व्यवहार देख्दा लाज मान्नुपर्ने अवस्था छ । मुलुकमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा त्यसको औचित्यलाई सावित गर्नसक्नुपर्छ । नाममा कम्युनिष्ट होइन काममा कम्युनिष्ट बन्नुपर्छ । जनताको पार्टी बन्नुपर्छ । अबको केही समय देशलाई कसरी अघि बढाउने भन्ने मार्गचित्र जनताको बीचमा प्रस्तुत गर्नुपर्छ । त्यसले आशाको सञ्चार गर्न सक्नुपर्छ । नेपालको कम्युनिष्ट आन्दोलन परिपक्व मात्रै होइन जन जिविका र सवालमा झन् गम्भीर भएको हेर्न नागरिक आतुर छन् । जनताको आतुरतालाई कम्युनिष्ट पार्टीहरुले कहिले पूरा गर्लान ? प्रतिक्षाको विषय बनेको छ ।

टिप्पणीहरू