नजिकिँदै चीन भ्रमण, छलफलमा जुट्दै एमाले र काँग्रेसजन
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको क्रममा चिनियाँ सहयोग परियोजना बिआरआई कार्यान्वयनको निम्ति सम्झौता हुने–नहुने भन्नेबारे अझै प्रष्ट भइसकेको छैन । सत्ताघटक दुई दल नेपाली काँग्रेस र एमालेबीच समान धारणा बनाउन घनिभूत छलफल जारी छ ।
प्रधानमन्त्री ओलीले जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सकिने धारणा राख्नुभएको छ । पूर्वप्रधानमन्त्री र पूर्व पराष्ट्रमन्त्रीहरूसँगको परामर्श बैठकमा पनि उहाँले राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिनसक्ने बताउनुभएको थियो ।
यसअघि नेपाली काँग्रेसले एमालेसँग असार १७ गते राती सत्ता गठबन्धन गर्नुभन्दा पहिले दिउँसो बिआरआई स्वीकार नगर्ने लिखित निर्णय गरेको थियो । दुबै पार्टीका प्रतिनिधि रहेको कार्यदलस्तरको छलफलले सहमति जुटाउन नसकेपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई त्यसबारे निर्णय लिने जिम्मा दिइएको छ ।
यसबारे निर्णय गर्न काँग्रेसका नेताहरु आज बिहान बूढानिलकण्ठस्थित सभापति देउवा निवासमा जुटेका थिए ।
उपसभापति पूर्णबहादुर खड्का,महामन्त्री गगन थापा,विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत, कृष्णप्रसाद सिटौलालगायतका नेताहरू बैठकमा सहभागी थिए । भोलि परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा बेइजिङ प्रस्थान गर्नुअघि काँग्रेसले अनुदान लिने तर ऋण नलिने आफ्नो पूर्ववत धारणालाई नै अघि सार्ने निश्चित छ । सम्झौता कार्यान्वयनको पक्षमा मौन रहने काँग्रेसी रणनीति हुनसक्ने आकलन छ ।
टिप्पणीहरू