सदस्य–सचिवलाई चाइना पठाएर सम्धीको बढुवा

सदस्य–सचिवलाई चाइना पठाएर सम्धीको बढुवा

नेपाल प्रहरीले गएराति अबेर आठ जना एसएसपीलाई डिआइजीमा पदोन्नतिका लागि सिफारिस गरेको छ । हिजो गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो । मानवस्रोत विकास विभागका एआइजी भीम ढकाल समितिको सदस्य सचिव भए पनि उनी चाइना गएको मौका छोपेर अर्कै बिभागका एआइजी टेकप्रसाद राईलाई साक्षी किनारामा राख्दै ती नाम सिफारिस गरिएको बुझिएको छ । 

गृहमन्त्रीलगायत सबै उच्च राजनीतिक नेतृत्वसँग सहमति भएबमोजिम बढुवा सिफारिस गर्न बोलाइएको बैठकमा राईलाई सदस्य सचिवका रूपमा निम्त्याइएको हो । २६ जना प्रतिस्पर्धीमध्ये गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र बूढानीलकण्ठ निकट सबैलाई समेटिएको सूचीको पहिलो नम्बरमा हाल आइजिपीका ब्याची ध्रुवराज राउत छन् । भोलाबहादुर रावल २ र गणेश चन्द त्यसपछि राखिएका छन् ।

सिद्धिविक्रम शाहलाई ४,सुशीलसिंह राठौर ५, उमाप्रसाद चतुरवेदीलाई ६, हिमालयकुमार श्रेष्ठ ७ र डम्बर बिकलाई बढुवा सूचीको अन्तिम नम्बरमा सिफारिस गरिएको छ । वरिष्ठताको आधारमा बढुवा गरिएको भनिए पनि महानिरीक्षक कुँवरमाथि पहिलेदेखि बढुवामा मनमौजी लादेको आरोप लाग्दै आएको छ । दिनेश आचार्यसहितलाई उकास्न गृहमन्त्री र आइजीपी दुबैले तीन सिट दरबन्दी थप्न गरेको प्रयास अन्तिममा निरर्थक भएपछि ढकालको ठाउँमा राईलाई जिम्मेवारी दिएर हिजो बढुवा समितिको बैठक राखिएको बताइन्छ । 

यसअघि श्याम ज्ञवालीले भनेबमोजिम तत्कालीन गृहमन्त्री रवि लामिछानेले गत जेठको डिआइजी बढुवामा डा.मनोज केसीलाई १ नम्बरमा ल्याउन खोजेका थिए  । रविले त्यो बेला श्याम ज्ञवालीलाई आइजी बनाउने,कुँवरलाई फाल्ने र केसीलाई अघि बढाउने रोडम्याप बनाएका थिए ।

श्याम ज्ञवालीमाथि लागेका आरोपउपर छानबिनपछि बुझाइएको प्रतिवेदन हालसम्म गुपचुप राखिएको छ । भदौ अन्तिममा अवकाश पाएका ज्ञवाली बिदेश घुमेर फर्केका छन् । यता प्रतिवेदनको कुरो कोट्याउनेलाई भने कुँवरले झम्टिन छाडेका छैनन् । प्रतिवेदन किन थन्क्याएको भन्नेलाई महानिरीक्षकले ‘सबैतिर मिलाउनु पर्छ, तिमीहरु बुझ्दैनौ,अहिले त्यो कुरो नउठाऊ’ भन्ने गरेको हेडक्वार्टर स्रोत बताउँछ । 

उक्त प्रतिवेदन प्रहरी संगठनले निकै दबाबका बीच तयार पारेको थियो । रवि केसीलगायतले शक्ति केन्द्रबाट रिपोर्टलाई सकेसम्म नरम बनाउन दबाब दिएका थिए । त्यसमा श्याम ज्ञवाली भित्रभित्रै लागेका थिए । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीलगायतले सहयोग गरेको अवस्था थियो । 

बोगटी ज्ञवालीका दाहिने हात मानिन्छन् । कतिपय प्रकरणमा बोगटीले ज्ञवालीहरुको काँधमा बन्दुक राखेर पड्काएको भन्नेहरु पनि छन् । बोगटी स्वयंविरुद्ध तराईका जिल्लाबाट उजुरी परेको अवस्था एकातिर छ । अर्कोतिर कतिपय खराब बैंकरहरुको काण्डमा बोगटी सहयोगी बनेको हेडक्वार्टरको बुझाई छ ।
 

टिप्पणीहरू