प्रधानमन्त्री भेट्न किन गए रास्वपा सचेतक ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । हिजो बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले गोप्य भेट गरेका हुन् ।
सहकारी ठगीमा समातिएका सभापति रवि लामिछानेलाई हिरासत बाहिर रहेर अनुसन्धान गर्ने अवस्था बनाइदिन रास्वपाले सरकारसँग माग गर्दै आएको छ । त्यसनिम्ति प्रधानमन्त्री ओलीसँग भेट्न चाहेको तर समय नपाएको सो पार्टीका नेताहरुको गुनासो रहँदै आएको छ ।
लामिछानेको रिहाइका लागि सरकारलाई दबाब दिन दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्दै मङ्सिर २ गते कार्यवाहक प्रवक्ता तथा संघीय सांसद मनिष झाले भेट नपाएकै कारण प्रधानमन्त्रीसमक्ष लिखित माग प्रस्तुत गर्न नपाएको बताएका थिए । संसदको चौथो शक्ति रास्वपालाई प्रधानमन्त्री ओलीले खिसीट्युरी गरेको भन्दै उनले चर्को असन्तुष्टि पनि जनाएका थिए ।
'कुनै सार्वजनिक कार्यक्रममा उहाँले ज्ञापन पत्र लिएर आउँछन् केरे,फोटो खिचेर पठाउँला भन्दै खिसीट्युरी गर्नुभयो । तर,हामीलाई पाँच मीनेटको समय दिनुभएन',आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए ।
त्यसअघि लामिछाने समातिएको १० दिनपछि कातिक १२ गते राति उपसभापति डिपी अर्याल र परियारले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए । तर,दिनभर आन्दोलन गरेर अँध्यारो भएपछि बालुवाटार छिरेका उनीहरुले उक्त भेटमा सभापति छुटाउनेबारे खुलेर कुरा गर्न पाएनन् ।
रास्वपा कार्यकर्ताले आफ्नो पुत्ला जलाएकोमा असन्तुष्ट प्रधानमन्त्री 'जुठो परेको थियो केरे,काट्टो खान आउनुभएको होला हैन ?' भनेर कड्किएपछि उनीहरु निरास हुँदै फर्किए ।
त्यसपछि पनि आफ्ना सभापतिप्रति 'नरम भैदिन' घुमाउरो आग्रह हुँदै आएकोमा उपसभापति अर्यालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाटको प्रवन्ध मिलाइदिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई म्यासेज पठाएका थिए । उक्त म्यासेज स्क्रिन सटसहित बाहिर आएपछि रास्वपाभित्र आन्तरिक किचलो चर्किएको थियो ।
टिप्पणीहरू