दल र नेताहरुको गलत प्रवृत्ति सर्दै

दल र नेताहरुको गलत प्रवृत्ति सर्दै

सामाजिक सञ्जालमार्फत् अफवाह फैलाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला प्रहरी हिरासतमा छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै समातेको थियो ।

पक्राउ पर्नु एक दिनअघि प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा २१ करोड अमेरिकी डलर (नेपाली ३२ अर्ब) लगानी गरेको दाबी गर्दै डकुमेन्टसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । 

तर, ती सबै डकुमेन्ट फेक पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रसाईंमाथि साइबर अपराध, किर्ते र मानहानी मुद्दा चलाउने प्रहरीको तयारी छ । यसअघि कञ्चनपुरकी निर्मला पन्त हत्याकाण्डको प्रत्यक्षदर्शी दाबी गर्दै गोरखाका नवराज अर्यालले प्राइम टेलिभिजनमा प्रशारण हुँदै आएको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा अन्तरवार्ता दिए । 

अन्तरवार्तामा उनले तत्कालीन खानेपानीमन्त्री बिना मगरको सवारी साधन चलाउने क्रममा आफू कञ्चनपुर पुगेको र सोही बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको ठोकुवा गर्दै आफ्नो सुरक्षाको ग्यारेन्टी गरिएमा घटनामा संलग्न तीन जनाको नाम खोल्ने बताएका थिए ।

उनले भनेका थिए, ‘म त्यो घट्नाको प्रत्यक्षदर्शी हुँ । मेरो भ्रमण आदेश हेर्नुपर्यो । मलाई अनुसन्धान होस् । मलाई न्याय दिनुपर्यो । मेरो सुरक्षाको ग्यारेन्टी यो सरकारले दिन्छ भने म यो यो मान्छे भनेर तीन जना हुनुहुन्छ, तीनै जनाको नाम भनिदिन्छु ।’

अर्यालको उक्त भनाइले सामाजिक सञ्जालमा एकाएक तरंग ल्यायो । त्यसपछि प्रहरीले उनलाई कात्तिक २८ गते पक्राउ गर्यो । कार्यक्रम प्रस्तोता ऋषि धमलासँग पनि सोधपुछ गरियो । त्यसक्रममा अर्यालले अफवाह फैलाएको पाइएको हो । उनी मानसिक रुपमा अस्वस्थ रहेको प्रहरीको निचोड छ ।

यसबारे सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटी भन्छन्, ‘उनले बोलेका सबै कुरा झुठो हो । उनको बयान घटनाको प्रकृतिसँग मेल नै खाँदैन । त्यसमाथि उनको मानसिक अवस्था पनि ठीक रहेनछ ।’ अफवाह फैलाएको आरोपमा उनीविरुद्ध मुद्दा चलाउने तयारी गरिएपनि उनको मानसिक स्वास्थ्यका कारण छाडिएको प्रहरीले जनाएको छ।

यता, साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल हेर्न गत कात्तिक १४ गते प्रधानमन्त्री केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पग्नुभयो । जापानमा बस्दै आएका भिडियो ब्लगर चितवनका रतन कार्कीले सोही बेलामा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रधानमन्त्री ओलीको नाम नलिई भने, ‘आजै घेरा हालेर सिध्याइदिउँ !’

‘आज गरौं यत्ति चाहिँ गरिहालौं । आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु आज । तपाईंहरुले गेम हेरिरहनुभएको होला, तर मैले अरु नै केही हेरिरहेको छु । आज हामीले चाहेम् भने मार्न सकिन्छ । यत्रो मान्छे छन् एउटा ग्रुप बनाएर घेर्ने हो भने मार्न सकिन्छ । मारेपछि मारेको मार्यै हुन्छ । आज आँटी हालौं, धेरै टाइम पनि छैन । बूढो गइहाल्छ, उता जान पनि टाइम छैन । बुझ्नु न यत्ति चाँहि गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरु’, प्रधानमन्त्रीलाई लक्षित गर्दै कार्कीले भनेका थिए ।

भिडियो भाइरल भएपछि प्रहरीको साइबर ब्युरोले उनीमाथि उच्च निगरानी राख्नुका साथै कानूनी कारबाहीका निम्ति नेपाल ल्याउने तयारी गर्यो । त्यसबीच कार्कीले आफ्नो अभिव्यक्तिप्रति माफी मागे । खेल हार्ने भएपछि कमेडीका लागि त्यस्तो बोल्न पुगेको उनको भनाइ छ । 

भीआईपीहरुको मृत्युको कामना गर्दै आफ्नो घरमा महायज्ञ आयोजना गरेपछि धर्मगुरु पुष्कर खतिवडालाई गत साउन १४ गते प्रहरीले पक्राउ गर्यो । उनले साउन ११ गते आफ्नो फेसबुकमार्फत ‘नेताहरुको मृत्युको कामना गरी महायज्ञ हुन गइरहेको’ भन्दै त्यसमा सहभागी हुन आह्वान गरेका थिए । सोही क्रममा काठमाडौं महानगरपालिका–४, धुम्बाराहीस्थित निवासमा महायज्ञ गरिरहेकै अवस्थामा उनलाई प्रहरीले समातेको थियो । 

उनीमाथि विद्युतीय अपराधसम्बन्धी कसुरमा मुद्दा चलाएकोमा जिल्ला अदालत काठमाडौंको आदेशानुसार खतिवडा गत भदौ ३ गते २५ हजार रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । पछिल्ला केही समययता सामाजिक सञ्जालको प्रयोग गरी अफवाह वा अराजकता फैलाउने क्रम तीव्र रुपमा बढिरहेको छ । अहिले चर्चामा आउनकै निम्ति जथाभावी अभिव्यक्ति दिने, समाजमा अराजक फैलाउनेजस्ता गतिविधि भइरहेको छ । 

संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको नाममा यस्ता गतिविधिले प्रश्रय पाएको जानकारहरु बताउँछन् । राज्यका निकायहरुले यस्ता अपराधनमा संलग्नमाथि पछिल्लो समय कारबाही अघि बढाउन थालेपनि अभिव्यक्ति स्वतन्त्रतामा असर पुग्ने गरी ठोस कानून नबनेसम्म यो प्रवृत्ति नघट्ने उनीहरुको निचोड छ । 

अराजकता र अफवाहको कारण सामाजिक सञ्जालः साइबर ब्युरो 

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको बढ्दो प्रयोगले अफवाह र अराजकता बढेको जनाएको छ । ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) दिपकराज अवस्थी सामाजिक सञ्जालका प्लेटफर्म बढेसँगै अफवाह र अराजकता पनि बढेको दाबी गर्छन् ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा जथाभावी अभिव्यक्ति दिने र लेख्नेजस्ता क्रियाकलाप बढ्दै गएको उनको ठम्याई छ । ‘एकातिर सजिलो प्लेटफर्म अर्कोतिर संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको नाममा मनलाग्दी बोल्ने, लेख्नेजस्ता गतिविधि हवात्तै बढेका छन्,’ उनले भने ।

आफुलाई मनपर्ने व्यक्ति तथा संस्थाको जमेर तारिफ गर्ने तर नरुचाउनेमाथि विभिन्न लाञ्छना तथा आरोप लगाउने, जथाभावी अभिव्यक्ति दिने, लेख्नेजस्ता क्रियाकलाप बढेको ब्युरोको भनाइ छ । प्रवक्ता अवस्थीले भने, ‘आफुलाई मन नपर्ने कुनै व्यक्ति तथा संस्थाले सामाजिक सञ्जालमा केही पोष्ट गरेमा कमेण्ट पढिसक्नु हुँदैन ।’

कानूनी अज्ञानता, सचेतनाको अभाव, नैतिकताको कमीलगायत विभिन्न कारणले पनि यस्ता गतिविधि बढिरहेको उनको ठहर छ । उनका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह वा अराजक फैलाउनेमाथि विद्युतीय कारोबार ऐनबमोजिम कारबाही हुँदै आएको छ । 

यद्यपि, यस्ता अपराध गर्नेमाथि कारबाही गर्न कानूनको पनि अभाव भएको प्रवक्ता अवस्थीको बुझाई छ । ‘सामाजिक सञ्जालकै नियमनका लागि हालसालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशिका पनि ल्याएको छ । तर, त्यो पर्याप्त छैन,’ उनले भने ।

नेतृत्वको प्रवृत्ति जनमानसमा सर्दैः समाजशास्त्री 

त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र संकायअन्तर्गत ग्राजुएट स्कुल अफ एजुकेसनका निर्देशक एवम् समाजशास्त्री प्रा.डा.वेदराज आचार्य राजनीतिक नेतृत्वहरुको प्रवृत्ति जनमानसमा पनि देखिएको बताउँछन् । भन्छन्, ‘२०४६ सालको जनआन्दोलनपछि यस्ता गतिविधि बढ्दै गएको छ । यसमा राजनीतिक दलहरु पनि जिम्मेवार छन् । आफ्ना मनपर्ने नेताले नराम्रो काम गरेपनि समर्थन गर्ने अर्काले जतिसुकै राम्रो गरेपनि विरोध गर्ने, खुट्टा तान्ने दलहरुकै प्रवृत्ति जनताले सिकेका हुन् ।’

जनमानसमा बिना प्रमाण, तथ्य र अनुसन्धान बेगर एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउने, विभिन्न टिकाटिप्पणी गर्नेजस्ता गतिविधि बढेको जनाउँदै उनले थपे, ‘असल नेतृत्वको अभावका कारण लोकतन्त्रमा जे पनि बोल्न वा गर्न मिल्छ भन्ने भाष्यको सिर्जना भएको छ ।’ यसमा राज्य सञ्चालकहरु नै दोषी रहेको आचार्यको ठहर छ । 

अब्बल व्यक्तित्वले सरकारमा ठाउँ नपाउने, दलहरुले आफ्नो सिद्धान्त बिर्सेर सत्ताकै लागि जथाभावी सहकार्य गर्दा लोकतन्त्रमाथि नै प्रहार भएको उनले बताए । अर्कोतर्फ, गल्ती गर्नेबित्तिकै सजाय दिन नसक्दा अफवाह, अराजकतालाई झन् प्रोत्साहन मिलेको उनको तर्क छ । ‘कुनै पनि व्यक्तिले गल्ती गरेमा तत्कालै सजाय पाइहाल्नुपर्छ । तर, प्रमाणका आधारमा सजाय दिनुपर्छ । यसो गरेमा मात्र अहिले समाजमा फैलिरहेको अफवाह, अराजकता कम हुनसक्छ,’ आचार्यले भने ।
 

टिप्पणीहरू