छोराछोरीलाई शिक्षित बनाउन संघर्षरत आमा

छोराछोरीलाई शिक्षित बनाउन संघर्षरत आमा
सुन्नुहोस्

नामः मनिषा सन्तोष कदम ।
उमेरः ४२ वर्ष ।
जन्मः मञ्चर, भारतको महाराष्ट्र राज्य ।
पेशाः खाना पकाउने ।
परिवारः ४८ वर्षीय श्रीमान सन्तोष, २१ वर्षीया छोरी ऋतुजा र १७ वर्षीय छोरा सुजल ।
बस्दैआएको स्थानः महाराष्ट्रको ठाणे जिल्लास्थित दिवा, ३७ वर्ग मिटरमा बनेको आफ्नै घर ।

ठाणे भारतको आर्थिक राजधानी मुम्बईबाट करिब एक घण्टाको दूरीमा पर्छ । व्यस्त सडकछेउमा रहेको सानो घरमा दुइटा कोठा छन् ।

घरभित्र मध्यम आकारको हल छ, जहाँ परिवारका सबै सदस्य सँगै सुत्छन् । अर्कोतिर सानो भान्छा छ । त्यहाँ कुनै बगैँचा वा खुला चौर छैन ।

मनिषाको मासिक आम्दानी : दक्षिण मुम्बईको भायकुला क्षेत्रको एउटा घरमा दिनको आठ घण्टा कुकको रूपमा काम गर्छिन् । उनले प्रतिमहिना १७ हजार भारु कमाउँछिन् । भारतको दैनिक न्यूनतम ज्याला यतिखेर १७६ रुपैयाँ छ ।

मनिषाका श्रीमान सन्तोष इलेक्ट्रिसियनको रूपमा काम गर्छन् । उनी ३ देखि ४ हजार भारु मासिक आम्दानी गर्छन् ।

मनिषा र श्रीमान सन्तोषको कमाइ थोरै भएपनि महिनाको कुल खर्च धेरै छ । उनले पारिवारिक खर्च धान्न सरकार, साथीभाइ र आफन्तबाट लिएको ९० हजार ऋण पनि तिरिसकेकी छन् ।

हरेक दिन एकाबिहानै ६० लाखभन्दा बढी मानिसहरू काम वा अध्ययनको निम्ति ‘मुम्बई सहर’मा आ–आफ्नो भविष्य खोज्दै ‘रेलको यात्रा’ गर्छन् ।

मुम्बईतिर दिनरात फन्किने लाखौँ रेलका यात्रुमध्ये एक हुन्– ४२ वर्षीया मनिषा सन्तोष कदम।

मुम्बईको बाहिरी भागमा रहेको दिवास्थित आफ्नै घरबाट यात्रा गर्छिन् उनी । एक घण्टा २० मिनेटको यात्राबाट उनी दिनहुँ भायकुलाको अपमार्केट जान्छिन् । जहाँ उनले दुई वर्षदेखि खाना पकाउने काम गरिरहेकी छन् ।

मनिषा सूर्योदयभन्दा ठीक अघि उठ्छिन् । आफ्नो काम पूरा गर्छिन् र, काममा लाग्छिन् ।

मुम्बईबाट साढे तीन घण्टाको दूरीमा रहेको आफ्नो जन्मगाउँ मंचरबाट उनी १२ वर्षअघि ठूलो आशा बोकेर ‘सपनाको सहर’मा आएकी थिइन् । मनिषा र उनका श्रीमान सन्तोष मराठा हुन् ।

‘आफ्ना सपना पूरा गर्न यो भीडभाडमा आउने धेरै मानिसजस्तै म पनि १२ वर्षअघि मेरो गाउँबाट यहाँ आएको थिएँ,’ उनले रेलको झ्यालबाट बाहिरतिर दृश्य हेर्दै भन्छिन्, ‘म जीविकोपार्जन गर्न र छोराछोरीलाई विद्यालय पठाउनको लागि मुम्बई आएकी थिएँ ।’

चार दाजुभाइमध्येकी एक मनिषाले १० वर्षको उमेरदेखि नै आफ्नो परिवारको लागि पैसा कमाउँदै आएको बताउँछिन् ।

१० कक्षा पढ्दा–पढ्दै विद्यालय जान छाडेपछि उनले आफ्नो बाल्यकाल र किशोरावस्थाका वर्षहरू मंचरमा आफ्नो परिवारको तरकारी खेतमा काम गरेर बिताइन् । 

मनिषाले विवाह र छोराछोरी जन्माएपछि पनि खेतीपाती गरिरहेकी थिइन् । तर उनले धान, आलु र कोदो खेतीमा लाग्दा राम्रो आम्दानी गरिनन् ।

मनिषाका इलेक्ट्रिसियन श्रीमान १२ वर्षअघि बेरोजगार थिए, उनको कमाइमा परिवारले जीवन धान्न संघर्ष गरिरहेको थियो । र, उनीहरूले मुम्बई छिर्ने निधो गरे ।

‘मेरी छोरी तीन कक्षामा पढ्थिन् । मेरो छोरा मुम्बई आउँदा सानै थियो । अहिले छोराछोरीहरू ठूल्ठूला भइसके,’ उनी रेलबाट ओर्लिंदै गर्दा भन्छिन्, ‘मुम्बईको जीवन एकदमै तीव्र गतिमा चलिरहेको छ ।’

अलजजिराले पछ्याइरहँदा मनिषा भायकुला स्टेशनतर्फ अर्को रेल समात्न मानिसहरूको भीडबाट दौडिन्छिन् । त्यसो त यात्रुहरू सास नफेरी कुदिरहेकै हुन्छन् । जतिसक्दो चाँडो आ–आफ्नो गन्तव्यमा पुग्न सबैलाई हतार छ ।

‘मेरो दैनिक यात्रामा मुम्बईको जीवन यस्तै देखिन्छ, जहाँ म मासिक टिकटको लागि २५१ भारु तिर्छु । सबैजना आ–आफ्नो कार्यस्थलमा जाँदै गरेकाले यो यात्रा गर्ने सबैभन्दा उपयुक्त समय हो,’ उनी सुनाउँछिन् ।

मनिषा खाना पकाउने काममा जोडिनुअघि घरछेउमै तरकारी बेच्थिन् । ‘म चाँडै उठ्ने गर्थेँ । मुम्बईको कल्याणछेउ जान्थेँ । तरकारी किन्थेँ र त्यसपछि दिवा पुगेर बेच्थेँ,’ उनी भन्छिन् ।

हिजोआज उनी आफ्नै काममा व्यस्त दखिन्छिन् । मनिषाको एउटा ठूलो सपना छ, त्यो भनेको छोराछोरी शिक्षित बनून र विलासितामा रमाउन् ।

टिप्पणीहरू