प्रेम र पूर्ण : सेनाको कथा अझै अपूर्ण

प्रेम र पूर्ण : सेनाको कथा अझै अपूर्ण

अहिले उपरथी प्रेम शाहीलाई सैनिक हिरासतमा राखेर आर्थिक अनियमितता तथा सैनिक आचरणविरुद्धलगायत विषयमा छानबिन चलेको चर्चा छ । कर्मचारीको यदि शैक्षिक प्रमाणपत्र र नागरिकतामा फरक मिति पाइए जुनबाट पहिला अवकाश हुन्छ, त्यही मिति कायम हुने प्रावधान छ । यिनी संगठनभित्र अत्यधिक सुविधा लिने समूहमा पर्छन् । यिनले कुनै पनि तहको कमाण्ड कुशलतापूर्वक गर्न सकेनन् । सधैँ मुखको आदेश र स्टाइलिस विदेशी हाउभाउमा जागिर खाए । 

पूर्णचन्द्र थापा फोर्स कमाण्डरमा छनोट हुनासाथ सम्बन्धित मन्त्री, उच्चपदस्थ पदाधिकारीलाई भेटी धन्यवाद ज्ञापन गर्ने प्रचलनविपरीत शक्तिकेन्द्रप्रति आभार व्यक्त गर्दै भविष्यमा सेनापति बनाइदिन घर दैलो गरेको सेनाका धेरैलाई मात्र थाहा थिएन । जब यिनी कार्यक्षेत्रमा गए, बढी ध्यान सेनापति हुनमा लगाए र २ वर्षे कार्यकाल १ वर्षमै छोट्याएर फर्किए । 

यिनी सेनापति हुनेबित्तिकै प्रेम शाहीजस्ता केही सीमित समूह, १ दर्जनजति मिडियाका व्यक्ति र सेनाकै कलम चलाउने वा बोल्ने केही भूपूलाई नियमित सेवा–सुविधा उपलब्ध गराएर बढाइ चढाई आफूले गरेका सानातिना कामबारेसमेत आक्रामक रूपमा निरन्तर प्रचार गर्न लगाए । सैनिक संगठन, शान्ति सेना र पाँचखालमा आफ्नो मान्छेलाई आफैले लागू गरेको निर्देशिकाविपरीत बडो चतु¥याइँ र चलाखीपूर्ण सेटिङ गरे । नातेदार र नजिकका व्यक्तिलाई अरुलाई मिचेर बढुवा, राम्रा ठाउँमा व्यापक सरुवा र शान्ति सेनामा दोहो¥याइ/तेहो¥याइ पठाए । वास्तवमा यिनको हैसियत र क्षमता पनि त्यही ट्याक्टिकल लेभलको मात्र थियो । यिनी बाहिर भलादमी देखिए पनि भित्री रूपमा ईष्र्यालु, डाढे, सानो चित्त भएका, लोभी, आत्मकेन्द्रित छन् भनी उनलाई नजिकबाट चिन्ने वा आफ्नै बेसिकका साथीहरूले भन्ने गर्छन् । यही स्वभावमा कारण यिनी कमाण्डो शिक्षक हुँदा शिक्षार्थीले लखेटी–लखेटी कुटेका थिए ।     

यिनले ३+१ को कमाण्ड अवधारणा लागू गरी नेपालको राजनैतिक तथा प्रशासनिक ढाँचा सुहाउँदो प्रदेशस्तरका पृतना मासेर संगठनात्मक रूपमा उथलपुथल ल्याउनुका साथै त्यहाँ कार्यरत सकलदर्जालाई जागिर छोडौ कि खाउँको अवस्थामा पु¥याए । नयाँ युनिट खडा गर्ने नाममा लामो समयदेखि स्थापित बाहिनी, गण, गुल्मलगायतका युनिटको आधा दरबन्दी घटाएर अन्यन्त्र सरुवा हुनुपर्ने परिस्थिति सिर्जना गरी तलकालाई घोर हतोत्साही बनाए । सबै तहका कमाण्डरलाई नयाँ नियम, निर्देशिकामार्पmत आतंक फैलाएर संगठनको रेजिमेन्टेसन, हौसला यति कमजोर बनाएकी जुन यसभन्दा पहिला कहिल्यै भएको थिएन । प्रचलित फास्ट ट्र्याक बढुवा प्रणालीलाई आफ्नो अनुकूल बनाएर पहिले २–३ बेसिकबीच मात्र प्रतिस्पर्धा हुने गरेकोमा यिनले ६–७ बेसिकबीच लडाएर सबभन्दा जुनियर बेसिककालाई सबभन्दा पहिले माथि उकालेर अब कहिल्यै त्यसलाई सुधार वा ठीक ठाउँमा ल्याउन नसकिने बनाए ।

छिनछिनमा नियम परिवर्तन गरेपछि संस्था स्वतः ध्वस्त हुन्छ वा पेशेवर र व्यावसायिक संगठनलाई जागिरे अड्डा मात्र बनाएपछि सम्भावित शत्रुले नलडी जित्छ । त्यस्तै परम्परा, प्रथा, चलनविपरीत युएन ढाँचामा त्रैमासिक रोलकलको प्रचलन ल्याई सारा संगठनको चेन या कमाण्ड तथा कमाण्ड कन्ट्रोललाई ध्वस्त बनाए । यिनी आत्मकेन्द्रित प्रचार प्रसारमा यति हौसिए कि उपल्लो दर्जाका पदाधिकारीमाथि एकपछि अर्को कारबाही गरे । सामान्यतया जघन्य र गम्भीर प्रकृतिका गल्तीबाहेक पहिला चोटीको गल्तीमा सुध्रने मौका दिइन्छ तर यिनले भटाभट बर्खास्त गरे, त्यसमा यस्ता केही व्यक्ति पनि थिए जसलाई गुमाएर संस्थाका लागि ठूलो क्षति भएको छ । 

भारतमा आरर्मी, नाभी, एयर फोर्सलगायत ३/४ वटा फरक–फरक फौजको कमाण्डर हुन्छ । तर यहाँ आर्मीमात्र भएको हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेतको अभिभावकत्व लिने र सेनाको भने कार्यकारी अधिकारसहित आर्मी चिफ भन्दा १ तह माथिको ५ वर्षे पद प्राप्त हुने गरी खेल रचे । यसकै पृष्ठभूमिमा तत्कालीन नेपाल प्रहरीका नयाँ महानिरीक्षक नियुक्त भएपश्चात् आफूभन्दा जुनियरलाई प्रहरी मुख्यालयमै बधाई दिन गए । उनको महत्वाकांक्षा यत्तिकै नरोकिई सीडीएसपश्चात ठूलो धनराशि खर्चिएर राजनीतिक दलमार्पmत संसदमा छिरी रक्षामन्त्री हुनेसम्मको योजना थियो । 

यिनले बूढानीलकण्ठमा किनेको १० औं रोपनी जग्गा सम्याउन विकास निर्माण (सेनाको) को ६/६ वटा डोजर दिनभरि रुखका छहारीमा लुकाएर राख्ने अनि रातभरि चलाउने प्रबन्ध मिलाए । सकल दर्जाको रगत–पसिनाले जम्मा गरेको कल्याणकारीको रकम अरु कुनै पूर्वसेनापतिले यस्तरी खर्चेका थिएनन् । पम्प र क्यान्टिनसहित उनलाई कहाँबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने अनुभव कल्याणकारी र सम्भाररथी हुँदाको बखतकै थियो ।

३०० वर्षे इतिहास रहेको सेनाको इतिहास बिर्सिएर आफूलाई मात्र युगान्तकारी, अरु सबै काम नलाग्ने भनी अरुको अवमूल्यन गर्ने आत्मकेन्द्रित पात्रले संगठनलाई रसातलमा पु¥याएका कारण हालमा सेनापतिलाई १ वर्ष अलमलमै बिताउनुपरेको आभाष हुन्छ । यद्यपि, कमाण्ड खारेज गरी पृतनाहरूको पुनःस्थापना, त्रैमासिक रोलकलको खारेजी, महत्वपूर्ण २५ लाखको घर बनाउने ऋण सुविधा, सामूहिक तालिमको व्यवस्थाजस्ता गतिविधिमार्पmत संस्थालाई पुरानै साख, मूल्य–मान्यता, परम्परामा फर्काउन प्रयासरत रहेको पाइन्छ । अन्त्यमा पूर्णचन्द्रले गरेको शक्तिको चरम दुरूपयोगको बाछिटाका रूपमा निस्किएका प्रेम शाहीजस्ता प्रतिनिधि पात्रलाई सत्य, तथ्य छानबिन गरी टिमका सदस्य र मुख्य कर्ता वा दोषीलाई पनि कानुनी कठघरामा ल्याएर अकुत सम्पत्तिलाई राज्यकोषमा दाखिला गर्न सके देशको  आर्थिक अवस्थामा केही राहत मिल्ने थियो । 

-सैनिक अदालतमा मुद्दा झेल्दै रहेका पीडित र भुक्तभोगी कर्णेलहरू
 

टिप्पणीहरू