कम्ता भुक्तमान व्यहोरेनन् घनश्यामले
पार्टीभित्र के कस्ता मान–अपमान सहे अथवा व्यहोरे र एमालेबाट बाहिरिए, आत्मवृत्तान्त लेखेछन् भने उल्लेख गर्लान् नै घनश्याम भुसालले । तर, आम वामपन्थीहरुले बुझ्ने भनेको उनी सानो तोडले होइन, ठूलै तोड परेको हुनाले एमालेबाट निस्किएका हुन् । एमालेलाई एकताबद्ध र असली समाजवादी पार्टी बनाउन सकिन्छ भनेर एकीकृत समाजवादी पार्टी बनाउने बेलामा त्यता नलागेका घनश्याम भुसालले अहिले त्यताको सदस्यता रिन्यु गरेका छन् । कतिपयले यसलाई अवसरवाद भनेको पनि सुनिन्छ भने धेरैले घनश्याम भुसालले सही निर्णय गरे भनिरहेका छन् । खैर, अब घनश्याम भुसाल नेकपा (एस) का नेता हुन् र उनले यही पार्टीलाई नेकपा बनाउन ल्याकतको प्रयोग गर्नेछन् ।
घनश्याम भुसाल र अरु धेरैको पनि भनाइ के छ भने अब राम्रो पार्टी बनाएर समाजवादी आन्दोलनको एकीकरण र विस्तार गर्ने हो । हुन त राम्रो भनेको ठीक भनेको होला तर अब यस्तो राम्रो भनेर जे बुझे पनि हुने भाष्य छोड्नुपर्छ । अब बनाउने भनेको आजको समयचेत, मान्छेको वर्गचेतनाको स्तर, आजका मजदुर, आजका विद्यार्थी, आजका किसान, आजका महिला, आजका सुकुम्वासीहरुलाई बुझेर, तिनीहरुको निम्ति यो मेरो हितमा काम गर्ने पार्टी हो अथवा हाम्रो हितको निम्ति काम गर्ने पार्टी हो भनेर भरोसा दिलाउन सक्ने समाजवादी पार्टी बनाउने हो । तर यो यत्तिकै बन्दैन । राम्रो बनाउने भनेर मात्रै समाजवादी बन्दैन । यसको निम्ति एक, दुई, तीन यो–यो गर्छु भनेर भन्नुपर्छ र तदनुसार गर्नु पनि पर्छ । हामी सबै समान हौं, यो कुरा नमान्ने कोही छ यहाँ ? छैनन् तर ब्यवहारमा यो असमानताको खाडल कति गहिरो छ भन्ने कुरा त बयान गरिसाध्य छैन । हामी नेता–कार्यकर्ता, नेता–जनता, कार्यकर्ता–जनताको बीचमा रहेको असमानता कसरी हटाउने ? अध्यक्षलाई भेट्न पीएको रुचिमा, सांसद भेट्न पीएकै रुचिमा र मन्त्री भेट्न त नाफाको हिसाबकिताबमा तय हुने परिपाटी कसरी फेरिन्छ ? यस्तो चलन नफेरी हुन्न ।
अब नयाँ समाजवादी पार्टी बनाउने भएपछि सबैले सबैलाई कमरेड भनेर संबोधन गर्न शुरु गर्नुपर्छ । पदीय हाइ¥यार्की खडा गरेर जनता, कार्यकर्तासंग नेतृत्व टाढा बनिने परिपाटीलाई बदल्नु पर्छ। किसानले अध्यक्षलाई भेट्न पीएले किन समय तय गर्नुपर्ने ? घनश्याम भुसालले आफ्नो भाषणमा भनेकै पनि छन् कि पार्टीमा कसैलाई विशेष अधिकार हुनेछैन । यो अत्यन्तै समाजवादी कुरा हो । यस्तो अधिकार राख्नाले नै हो ओलीवाद जन्मिने । सांसदको टिकट लिन अध्यक्षको निवास धाउनुपर्ने, समानुपातिकमा पर्न उनकै निवास, मन्त्री हुन उनकै निवास धाउनुपर्ने । यी सबै कुरा खासमा सामन्ती हुन् । यस्तो हुनु हुँदैन ।
आममान्छेको जीवन सरल बनाउने उपायबारे छलफल र काम गर्नुपर्छ । गरिब किन चिन्तित छ , मजदुर किन चिन्तित छ, कम आय भएका मानिसहरु किन चिन्तित छन् त भन्दा तिनीहरुको दैनिकी साह्रै जटिल छ त्यसकारण तिनको जीवन पनि जटिल छ । गरिबको अवस्था कस्तोसम्म छ भने बस्ने गतिलो टहरो छैन, घरको त कुरै नगरौं । काम गर्ने निश्चित ठाउँ छैन । आयको निश्चित स्रोत छैन । तर घरमा बच्चा बच्चीलाई खुवाउनु छ, पढाउनु छ, तिनको ओैषधोपचार गराउनु छ, लुगा फाटो चाहिन्छ तर साथमा पैसा छैन र कमाउने उपाय पनि छैन । शहर बजारको चोकमा बसेर काम पर्खिनुपर्ने जीवन कस्तो होला ? यसलाई कसरी हटाउने? कस्तो आर्थिक, सामाजिक, राजनीतिक तरिका अपनाउने ? ताकि उनीहरुको जीवन सरल हुनसक्छ । यसको निम्ति अब पार्टीले देशमा गरिबी होइन कि खान नपुग्ने गरिब कति छन्, बच्चालाई पढाउन नसक्ने गरिब कति छन्, बिरामी हुँदा अस्पताल जान नसक्ने गरिब कति छन्, ठ्याक्कै संख्या थाहा पाउने र तिनको निम्ति के गर्नुपर्छ त्यो गर्न तयार हुनुपर्छ । सुकुम्बासीलाई पाँचधुर जग्गा बाँडेर गरिब झुक्याउने काममा लाग्ने होइन । रोजगारीको निम्ति आउजाउ गर्न पायक पर्ने ठाउँमा आवास बनाएर हक हस्तान्तरण नहुने गरी ती घरबारबिहिन गरिबहरुलाई राख्नुपर्छ । चौबाटोमा काम पर्खिने मजदुरहरुलाई त्यहाँ बसाउनुपर्छ ।
महङ्गीको मार कसरी सहन बाध्य छौं भनेर छलफल गरौं । के हाम्रो बजार किसानमुखी छ? उपभोक्तामुखी छ ? छैन भने किन भएन र कसरी बनाउने भनेर छलफल गर्ने, कानुन बनाउन पहल गर्ने र सत्तामा रहेका ठाउँहरुमा लागू गर्ने काम गर्नुपर्छ । पानीको धनी देशमा किसानले कल्भर्ट, खाल्डाखुल्डीमा जमेको पानी पम्पिङ्ग सेट चलाएर, तानेर खेतमा हाल्नुपर्ने अवस्था छ । अब देशभरि नहरको सञ्जाल बनाउन के गर्नुपर्छ भनेर योजना बनाउन र सकेसम्म छिटो काम सक्नुपर्छ । किसानको खेतमा पानी कसरी पु¥याउने भनेर छलफल गरी पानी पु¥याउने काम गर्नुपर्छ।
शिक्षाले बेरोजगारी उत्पादन गरिरहेको छ । शिक्षा हासिल गरेपछि घरको काम, कृषिको काम, साना तथा मझौला व्यापार तथा ब्यवसाय गर्न लाज मान्ने बनेका छन् वा बनाइएको छ युवाहरुलाई । स्नातक पढेपछि कलम नै चलाउने काम गर्नुपर्ने नभए बेरोजगार बनेर बस्नुपर्ने जुन मानसिकता बनेको छ त्यसलाई भत्काउनु पर्छ । अबको शिक्षा रोजगारमुखी हुनुपर्छ । त्यस्तो शिक्षा कसरी बनाउने भनेर छलफल गर्नुपर्छ । गरिब बिरामी भयो भने अस्पताल जानै सक्दैन । हुनेखाने नै पनि अस्पताल पुगेपछि ऋणको भारी बोकेर घर फर्किनुपर्ने अवस्था छ । यस्तो महङ्गो स्वास्थ्य सेवा किन छ भनी छलफल गरेर स्वास्थ्य सेवालाई सबैको पहुँचमा हुने बनाउन छलफल गर्ने, योजना बनाउने र सकेको ठाउँमा लागु गर्नुपर्छ । देशका किसानले बैंकबाट सरल तरिकाले ऋण लिनसक्ने अवस्था छैन । सरकारी सहयोग तथा अनुदान पनि सजिलोसँग पाउन सक्दैनन् । किन छ यस्तो स्थिति भनेर छलफल गर्नुपर्छ । ऋण, मल, सिञ्चाइ, उपकरण सबै कुरा उत्पादन बढाउने औजार हुन् भनेर बुझ्नु, बुझाउनुपर्छ ।
समाजवादी पार्टी बनाउने हो भने पार्टी कस्तो बनाउनेबाट नै शरु गर्नुपर्छ । पार्टीका सबै सदस्यहरु मात्रै होइन कि जनतासमेत सबै समान हौं भनेर भन्ने मात्रै होइन ब्यवहारमा लागू गर्नुपर्छ । समान हौं भनेपछि समान नै हुनुपर्छ । कार्यकर्ताहरु माथिल्ला नेताका रैती जस्ता छन् । मान्छेलाई तालिम, प्रशिक्षण नदिई कसरी समाजवादी बनाउन सकिन्छ ? पढ्ने र पढाउने कुरा, बालबालिका स्कूल जानेजस्तो अनिवार्य बनाउनुपर्छ । कस्ता मान्छे पार्टीको कुनै पनि पदको निम्ति योग्य मानिन्छ भनेर यकिन गरी त्यसको मापदण्ड बनाउनु पर्छ । दिपक मनाङ्गेहरु हाम्रो सभासद बन्न सक्ने अवस्था रहनु हुँदैन । नेता छान्ने सार्वभौम अधिकार पार्टी सदस्यमा रहनुपर्छ । बुर्जुवा पार्टीको नेता आएर समाजवादी पार्टीको नेता बन्नसक्ने अवस्था पनि हुनुहुँदैन । पार्टी सदस्य जोसुकैले पनि आफ्नो क्षमताअनुसारको पदीय जिम्मेवारीमा दावा गर्न पाउने हुनुपर्छ । उसको क्षमता निर्धारणको काम कमिटीका सदस्यहरुले गर्ने परिपाटी बसाल्नु पर्छ । पार्टी सदस्यहरू अनिवार्य रुपले उत्पादन कार्यमा सरिक भएको हुनुपर्छ । काम गरेर आर्जन गरेको सम्पत्तिबाट जीविका चलाउने सदस्य बनाउनुपर्छ र यस्ता धेरै मसिना कुरा छन् जो पार्टी निर्माणका सवालमा धेरै महत्वपूर्ण हुन्छन् । कस्तो सिद्धान्त, कस्तो संगठन, कस्तो राजनीति तोकेर भन्नुपर्छ । के यस्तो पार्टी बनाउन घनश्याम भुसालले आफ्नो ल्याकतको प्रयोग गर्लान् त ? नेकपा (एस) समाजवादी पार्टी बन्ने÷नबन्ने भन्ने कुरा (नेकपा) एसले लिने वर्गीय पक्षधरताको सवालले निर्धारण गर्ने कुरामा दुई मत छैन । अरु कुरा यसैबाट निर्दिष्ट हुन्छ ।
टिप्पणीहरू