सेनाका हाकिमहरूलाई अर्को सजायँ
‘ओर्लिन्न–ओर्लिन्न’ भन्दाभन्दै ‘ओराली लागेका’ जर्नेल आखिर ओर्लिए, प्रेम शाहीजस्तो जिद्धी कस्दै सैन्य हिरासतको बास रोजेनन् ।
नागरिकता र शैक्षिक प्रमाणपत्रमा रहेको भिन्नतामध्ये छिटो जागिर सकिने जन्ममितिलाई सैनिक मुख्यालयले सदर गर्दै बिदामा बस्न भनेपछि त्यसविरुद्ध सर्वोच्च अदालत गई थमौतिको आदेश ल्याउने पूर्वजर्नेल प्रेम शाही अहिले सैनिक हिरासतमा कष्टकर दिन बिताइरहेका छन् । ठीक त्यही स्थितिमा थिए, अर्का २ तारे आनन्द अधिकारी । रामकृष्ण ढकालले गाएको ‘ओराली लागेको हरिणको चाल भो’ बोलको गीत लेख्ने अधिकारीलाई प्रधानसेनापति प्रभुराम शर्माले बोलाएरै त्यस्तो लफडामा नलाग्न भनेका थिए ।
नत्र, उनी पनि २०२३ सालको जन्ममिति कायम गराएर सर्वोच्चको आदेश ल्याउन तम्तयार थिए । जागिरे जीवनमा आफूबाट कतिपय कैफियत हुन्छन् । संगठन प्रमुखले आफ्नो बाध्यता सुनाउँदै सहयोग मागेपछि फेरि सर्वोच्चबाट चुनौती दिँदा अहिले प्रेम शाही जागिरे जीवनका अनेकन कैफियतको भुक्तानी सैनिक हिरासतमा बसेर गर्दैछन् । शायद, आनन्दलाई यस्तो दुःख बोक्नुभन्दा भनेको मान्नु बेश लाग्यो र घर गए ।
उता, मानसिक रूपमा पनि निक्कै कष्टदायक समय बिताइरहेका प्रेम शाही ‘बरु, कहाँ–कहाँ सही गर्नुपर्ने हो, गर्छु, मलाई छाडिदिनुपर्यो’ भन्ने स्थितिमा पुगेका छन् । रक्तचाप बढेकाले अस्पताल दौडाइँदै छ । उनले मध्यपश्चिम कमाण्डपति हुँदा सुर्खेतमा संगठनको २०–२२ करोड रूपैयाँ लगेको कुरालाई अस्वाभाविक मानिएको छ । तर, त्यस्तो आर्थिक अनियमिततामा पृतनापति जर्नेललाई मात्रै कारवाही गरेर हुँदैन । लेखा हेर्ने र अरु अफिसर पनि त्यसमा पर्छन् । एउटाको सेखी झार्दा अर्काको हुर्मत लिनु कति जायज हुन्छ ? अहिले सैनिक नेतृत्व अल्मलिएको यही विषयमा हो ।
उता, संखुवासभा–किमाथांका सडकअन्तर्गत एउटा खण्डमा भएको घोटालामा सैनिक मुख्यालयले दर्जा घटुवासहितको कारवाही गरेको छ । सेनाले जिम्मा लिएको काम समयमा सम्पन्न नभएपछि मुख्यालयले ठेकेदारहरूलाई चेतावनी दिइरहेको थियो । तर, ती ठेकेदारले पोल खोलिदिए, कर्णेल र मेजरहरूले रकम घोटाला गरेकोबारे । अर्थात्, ठेकेदारलाई दिनुपर्ने पैसा नदिइएको २ करोडको प्रमाण फेला परेपछि राष्ट्रिय सेवा दलमा कार्यरत लेफ्टिनेन्ट कर्णेल किरण केसी घटुवामा परेर मेजर भएका छन् ।
उक्त आयोजनामा खटिएका मेजर दर्जाका एकाउण्टेण्ट कर्मवीर तामाङलाई क्याप्टेनमा घटुवा गरिएको छ । सोही परियोजनाका इञ्जिनियर (मेजर) रूपेन्द्र थापाले पनि सबभन्दा बढी पैसा लिएको बैंक अकाण्उटमा भेटिएको सैनिकस्रोतले जनाएको छ । उनी समेत १ तह झारिएका छन् ।
टिप्पणीहरू