हेल्मेटमा लुकाएर भारतबाट लाखौं रुपैयाँ ओसार्ने सशस्त्रको फन्दामा

हेल्मेटमा लुकाएर भारतबाट लाखौं रुपैयाँ ओसार्ने सशस्त्रको फन्दामा

सशस्त्र प्रहरी बल नेपालको टोलीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । हेल्मेटमा लुकाएर लाखौं रुपैयाँ ओसार्ने क्रममा वीरगञ्ज बिओपीका सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनलाई पक्रेको हो । 

पक्राउ परेकामा वीरगञ्ज महानगरपालिका १६, इनरुवा बस्ने २५ वर्षीय रामप्रवेश कुमार हुन् । भारतबाट नेपालतर्फ आँउदै गरेको बीआर ०५एभी ३४७७ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा उनले लगाएको हेल्मेटबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ फेला परेको सशस्त्रले जनाएको छ । 

फेला परेका रकममध्ये एक हजार दरका ७५० थान र एक सय दरका ५०० थान नेपाली नोट हुन् । बरामद रकम, मोटरसाइकल र एक थान मोबाइलसहित उनलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

आवश्यक कारबाहीको निम्ति कुमारलाई नेपाल प्रहरीसमक्ष बुझाउने तयारी भइरहेको छ ।
 

टिप्पणीहरू