एपीएफका विजेता खेलाडीलाई नगद र सम्मानपत्र

एपीएफका विजेता खेलाडीलाई नगद र सम्मानपत्र

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९’ का विजेता खेलाडीहरुलाई सशस्त्र प्रहरी बल नेपालले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरेको छ । प्रतियोगिताका विभिन्न विधामा स्वर्ण पदक जित्न सफल नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नगद पुरस्कारसहित सम्मानपत्र वितरण गर्नुभएको बताइएको छ ।

सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयमा आज आयोजित समारोहमा स्वर्ण, रजत तथा कास्य पदक विजेतासहित प्रशिक्षक, व्यवस्थापक र क्लबलाई सम्मान गरिएको हो । 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र वंशीराज दाहालले रजत तथा कास्य पदक विजेतालाई पुरस्कार वितरण गरेको जनाइएको छ । 

गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको विभिन्न स्थानमा खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा क्लबले सामूहिक तथा व्यक्तिगत विधामा ६५ स्वर्ण, ७२ रजत र ८२ कास्य गरी जम्मा दुई सय १९ पदकसहित दोस्रो स्थान हासिल गरेको थियो । 

प्रतियोगितामा कुल ३६ विधाका खेल समावेश गरिएको थियो । तीमध्ये ३१ वटामा क्लबका पाँच सय ४९ खेलाडीले भाग लिएका थिए ।

टिप्पणीहरू