पहिले त्यसो भन्ने रवि र अहिले यसो भन्ने रवि उनै हुन् ?

सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले कस्दै लगेपछि गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई विगतका आफ्नै अभिव्यक्तिले अप्ठेरो पारेको छ । प्रतिपक्षमा रहँदा विभिन्न काण्डमा नाम जोडिएकाहरुको सन्दर्भमा छानविन समिति गठनको माग उछालेका उनलाई अहिले त्यही कुरा भारी पर्ने देखिएको हो ।    

प्रमुख पतिपक्ष काँग्रेसले सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको दाबी गर्दै उनीमाथि छानविन गर्न संसदीय समिति गठन हुनुपर्ने माग जोडतोडका साथ उठाइरहेको छ । माग पूरा गराउन संसदको अघिल्लो अधिवेशनका पछिल्ला बैठकहरु लगातार अवरुद्ध पारेको उसले बजेट अधिवेशनको पहिलो बैठक हिजो चल्न दिएन । 

संसदमा कांग्रेसको प्रस्तुतिले संसदीय समिति गठनको मागबाट कुनै हालतमा पछि नहट्ने प्रष्ट संकेत देखिंदैछ । तर,सत्तापक्ष भने लामिछानेमाथि छानविननिम्ति समिति गठन गर्ने पक्षमा छैन । बरु,उनको बचाउमा प्रधानमन्त्रीदेखि प्रमुख सत्तारुढ दलका अध्यक्ष केपी ओलीसम्म कस्सिएर लागिरहेको अवस्था छ । 

सहकारी ठगीमा लामिछानेविरुद्ध कतै उजुरबाजुर नभएको र मुद्दा नचलेको अवस्थामा संसदीय समिति गठनको औचित्य नरहने दाबी गरिरहेका अहिले सत्तापक्षमा रहेको एमाले र रास्वपाका नेताहरुले प्रतिपक्षमा रहँदा भने फरक तर्क दिने गर्थे । एमालेले सुन तस्करीको छानविन माग्दै महिनौँ संसद अवरुद्ध पारेको थियो । त्यसबेला एमालेसँगै प्रतिपक्षमा रहेको रास्वपाले पनि अनुसन्धान गर्ने राज्यका निकायहरुप्रति विश्वास नरहेकाले संसदीय समिति गठन हुनुपर्नेमा जोड दिएको थियो । 

संसद्को बैठकमा लामिछानेले भनेका थिए, 'यो छानविनले नेपाली जनताले चाहेजस्तो नतिजा दिन सक्दैन, संसदले विशेष समिति बनाउनुपर्छ । राज्यका निकायहरुको नाम यसरी आइरहेको छ अनुसन्धान गर्ने अधिकारी र त्यसका प्रमुखहरुको नाम आइरहेको छ, यस्तो अवस्थामा विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर छानविन गर्नुपर्ने हुन्छ जुन-जुन निकायहरु यसमा लागिपरेका छन् !'

त्यसबेला संसद्को बैठकमा लामिछानेले भनेका थिए, 'यो छानविनले नेपाली जनताले चाहेजस्तो नतिजा दिन सक्दैन, संसदले विशेष समिति बनाउनुपर्छ । राज्यका निकायहरुको नाम यसरी आइरहेको छ अनुसन्धान गर्ने अधिकारी र त्यसका प्रमुखहरुको नाम आइरहेको छ, यस्तो अवस्थामा विश्वासको वातावरण बन्द भएको छ । यसका लागि संसदीय विशेष समिति बनाएर छानविन गर्नुपर्ने हुन्छ जुन-जुन निकायहरु यसमा लागिपरेका छन् !'

अहिले तिनै लामिछाने मुलुकको गृहमन्त्री छन् । दोहोरो राहदानीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको र सहकारी ठगीमा नाम मुछिएको स्थितिमा 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुनेगरी गृहको कुर्सीमा उक्लिएका उनको अहिले भूमिका मात्र बद्लिएको छैन, अभिव्यक्तिसमेत अर्कै आइरहेको छ । 

त्यसबेला आरोपितलाई प्रहरीले जोगाएकाले संसदीय समिति अपरिहार्य ठान्ने उनी अहिले भन्दैछन्, 'आरोप लाग्नेबित्तिक्कै संसदीय समिति बनाइहाल्ने हो भने को बाँकी रहन्छ ?' लामिछानेलाई स्मरण होला, नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडियाले नाम लेखेकै आधारमा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणा र सुनकाण्डका आरोपितसँग फोटो खिचेका अहिलेका अर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनमाथि अनुसन्धान गर्नुपर्ने माग उनकै थियो । 

जबकि आरजू र वर्षमानको भन्दा फरक सन्दर्भ हो लामिछानेको । किनभने उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ । पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीबाट उनले गैरकानुनी तवरले ऋण लिएको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । तर, उनी सरकारमा रहेकोले मुद्दा दर्ता गर्न प्रहरीले आँट नगरेको मात्रै हो । 
 
प्रतिपक्षमा रहँदा लामिछानेले संसदमा उभिएर प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गर्दै 'कहाँ गएर मुटु चेक गर्ने' भनी सोधेका थिए । आरोपितलाई अनुसन्धानको दायरामा ल्याउन प्रधानमन्त्री र गृहमन्त्रीले नसकेको बताउँदै उनले 'किन खुट्टा कमाएको ?' भनेर पनि प्रश्न गरेका थिए । 

तर, राजनीति कति निर्मम हुँदो रहेछ भने अहिले तिनै लामिछानेले उनै प्रधानमन्त्रीको क्याबिनेट सदस्य छन् । र, उनको बचाउमा प्रधानमन्त्रीसहित सिङ्गै सत्तापक्ष एक ठाउँमा उभिएको छ । 

'छानविनको समेत दायरामा ल्याउन नहुने,सोधपुछसम्म गर्न नहुने गरी किन डराएको ? गृहमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । प्रधानमन्त्रीले मुटु दह्रो छ भन्नुभएको थियो । उहाँको मुटु कहाँ गएर चेक गर्ने ?',लामिछानेले भनेका थिए, 'उहाँको मुटु कति दह्रो छ भन्ने कुरा हामीले देखेका छौँ । यसकारण हरेक नाम आएका मान्छेहरुसंग सोधपुछ हुनुपर्यो, उनलाई कारवाहीको दायरामा ल्याउनुपर्यो, खुट्टा कमाउनु भएन !' 

त्यसबेला अरुमाथि यसरी प्रश्न गरेका लामिछाने एकातिर आफैँ प्रश्नै प्रश्नको घेरामा छन् । अर्कोतिर,गृहमन्त्रीका हैसियतमा नागरिकले उठाएका प्रश्नको उनले जवाफ दिनुपर्ने हुन्छ । तर,हिजो उनले गरेका प्रश्न र आज दिइरहेको जवाफ आकाश-जमिनको फरक छ । 

अहिले उनी भन्छन्, 'जसले आएर उजुरी थमाइदिन्छ,जाहेरी थमाईदिन्छ कागज आउनेबित्तिक्कै भएभरका सबै छानविन गर्न शुरु गर्ने हो भने त्यस्तो किसिमको सम्झौता गरौँ ।'

टिप्पणीहरू