प्रतीक र बेचनलाई समात्नु नि पहिले
दोस्रो पटक गृहमन्त्रीको कुर्सीमा पुगेका रवि लामिछानेले पदभार ग्रहण गर्दै गर्दा ‘चेकलिस्ट’ बनाएर नागरिकले अनुभूति गर्नेगरी सुशासनको पक्षमा काम गर्ने दाबी गरेका थिए ।
केही समय ‘होमवर्क’ गर्ने, त्यसपछि बिना ‘कम्प्रोमाइज’ भटाभट परिणाम देखाउने उनको घोषणा थियो । तर, महत्वपूर्ण चार मन्त्रालयसहित सत्तामा उक्लिएको दुई महिनाको अवधिमा लामिछानेले सामान्य सुधारका कामसमेत गर्न सकेका छैनन् । यसबीच रास्वपाका मन्त्रीहरूले आशा जगाउने गरी काम गर्न त सकेनन् नै, उल्टै सहकारी ठगी प्रकरणले गृहमन्त्रीलाई रक्षात्मक बनाएको छ । र, लामिछानेले आफ्नो पद जोगाउनै सम्पूर्ण समय र सामथ्र्य खर्चिरहेका छन् ।
‘डेलिभरी’ दिएर ‘पर्फमेन्स’ देखाउने हो भने गृह, श्रम, शिक्षा र खेलकुद निकै महत्वपूर्ण मन्त्रालय हो । तर, सरकार बाहिर छँदा चर्का प्रश्न गर्ने रास्वपाका कुनै पनि मन्त्रीले कामबाट जवाफ दिन नसकेका कारण घण्टीकै समर्थकसमेत पछिल्लो समय निराश देखिन्छन् । सो पार्टीका माथिल्लो तहकै नेताहरूले पनि पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको सार्वजनिक आलोचना गर्न थालिसकेका छन् ।
सरकारमा बसेर ‘सिन्को’ भाँच्न नसकेका लामिछानेले सहकारी ठगी प्रकरणमा जिबी राई पक्राउ नपरेकोमा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको चर्को निन्दा गरेका थिए । संसदको प्रतिपक्षी बेञ्चबाट चर्को स्वरमा उनले आफूले जिम्मा पाए दुई दिनमा जिबीलाई समातेर ल्याउने चुनौती पनि दिएका हुन् । भ्रष्टाचारका ‘फाइल किन नखोलेको’ भन्दै उनले गरेका भाषणका भिडियो रेकर्ड अहिले पनि भेटिन्छ ।
हुन त, लामिछानेहरूको राजनीतिक जन्म नै अरूलाई गाली गरेर भएको हो । अरूमाथि प्रश्न उठाएर त्यसैको जगमा उभिएको रास्वपा र रवि लामिछानेहरू जवाफ दिने ठाउँमा भने यसरी भुत्ते भएका छन् कि, सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग सुनेर तर्सिनुपर्ने अवस्था छ ।
अहिले नागरिकले खोजेको डेलिभरी हो । पुराना दल र नेताहरूले डेलिभरी दिन नसकेकै कारण विकल्पका रूपमा मतदाताले घण्टीमा मत हालेका हुन् । तर, सत्ताको जोड–घटाउ र आफ्नो बचाउमै लामिछानेहरू सिंहदरबारभित्र ‘कुहिरोको काग’ बनिरहेका छन् । यता, नक्कली भुटानी शरणार्थी प्रकरण अझै खोतल्छु भन्ने गरेका छन् लामिछानेले । खासमा एकै तीरले दुईतिर निशाना हान्न यसो भनिएको हो भन्ने बुझ्न कठिन छैन । भुटानी काण्डको कुरा निकालेर कांग्रेसलाई साइजमा राख्ने एउटा रणनीति देखिन्छ । अर्को चैँ ‘गुडलक रवि दाइ’ भन्नेहरूलाई विश्वासमा लिइराख्न एउटा–एउटा फण्डा निकालिरहनुपर्ने बाध्यता छँदै छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको गृहमन्त्रीले चाहेर थप खोतलिने वा बन्द हुने स्थिति नै होइन । मुद्दा अदालतमा विचाराधीन रहेकाले यो अनुसन्धानकै एउटा प्रक्रियामा छ । तर, गृहमन्त्रीले किन त्यसो भनिरहेका छन् ? कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजू राणा र बालकृष्ण खाँणकी श्रीमती मञ्जुको नाम यस प्रकरणमा जोडिएकाले ‘अझै खोतल्छु’ भनेर कांग्रेसलाई दबाबमा राख्ने अनि आफ्नो सहकारी काण्डको राजनीतिक सेटलमेन्ट गर्ने लामिछानेको भित्री रणनीति हुन सक्ने कतिपयको आशंका छ ।
यस प्रकरणको अनुसन्धान गरेका प्रहरी अधिकारीहरू ‘थप अनुसन्धान हुनु नपर्ने भनेर प्रहरीले कहीँ–कतै निर्णय नगरेको’ भन्दै गृहमन्त्रीले बाहिर बोल्नुको खास अर्थ नहुने बताउँछन् । बरु, घटनामा संलग्नता ठहर भएका र मुद्दासमेत चलाइएका तत्कालीन गृहमन्त्री तथा एमाले नेता रामबहादुर थापा बादलका छोरा प्रतीक र शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट दुई करोडको चेक बुझेको भनिएका बेचन झालाई पक्राउ गर्न सके नयाँ तथ्य खुल्न सक्ने अनुसन्धानकर्ताहरूको विश्वास छ ।
‘यसमा त्यहीबेला अझ गहिरिएर जानुपथ्र्याे, अब त केशव दुलाल र सानु भण्डारीहरूले सबै बुझिसके, थप केही भन्नेवाला छैनन्’, ‘शुरुमा यो मुद्दा अनुसन्धान गरेका एक जना प्रहरी अधिकारीले भने’, ‘अहिले फेरि अनुसन्धान गर्छु भन्नु चैँ अलि बढी राजनीति हो कि भन्ने बुझिन्छ । प्रहरीको भनाइ नै बाहिर चलेका हल्लामा बहकिएर होइन तथ्य र प्रमाणले पुष्टि गरेर अनुसन्धानको गहिराइमा पुग्नुपर्छ भन्ने हो ।’ प्रहरी स्रोतका अनुसार गृहमन्त्रीले भनेजस्तो यो मुद्दालाई थप खोतलेर पनि नयाँ तथ्य फेला पर्ने सम्भावना कम छ । उपत्यका केरकारबाट डा.मनोज केसी र प्रहरी परिसर काठमाडाँैबाट दानबहादुर कार्की सरुवा हुनुअघि बिचौलिया केशव दुलाल र सानु भण्डारीविरुद्ध दुइटा पूरक जाहेरी परेको थियो । तिनै जाहेरीका आधारमा सोधपुछ हुँदा पनि उनीहरूले पुरानै कुरा दोहोर्याएका थिए ।
‘उनीहरूबाट नयाँ प्रमाण भेटिने स्थिति छैन, प्रतीक र बेचनलाई समात्न सक्नुपर्छ’, प्रहरी स्रोतले भनेको छ । बाबु गृहमन्त्री भएका बेला मन्त्रालयमै बसेर बिचौलियासँग सेटिङ मिलाएका र त्यसबापत दुई करोड खल्तीमा हालेको भनिएका प्रतीक अहिले कहाँ छन् भन्नेबारे प्रहरीसँग पनि सूचना छैन । त्यतिबेला भने प्रहरीलाई उनी हङकङ र सिक्किममा रहेको सूचना थियो ।
नाम र ठेगानाबाहेक केही नखुलेका बेचन पनि बेपत्ता छन् । स्थानीय बासिन्दाले नै नचिन्ने गरी पर्साबाट नागरिकता लिएको र लाखेचौरमा घर भएको पत्ता लाग्नुबाहेक टिपटपवाला उनीबारे अन्य कुनै जानकारी अहिलेसम्म प्रहरीले पाउन सकेको छैन ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू