विकासमा पछाडि, खेलकुदमा अब्बल सुदूरपश्चिम
मुलुकको सुदूर पश्चिमी भूभागमा रहेको विकट प्रदेश हो, सुदूरपश्चिम । नौ वटा जिल्ला भएको प्रदेश आर्थिक, सामाजिक, भौतिक विकासको हिसाबले निकै पछाडि छ । प्राकृतिक स्रोतले भरिपूर्ण यो प्रदेश सरकारी कार्यक्रम र योजनामा उपेक्षामा परेको बताइन्छ । कृषि, उद्योग, पर्यटन, जलविद्युत, जडीबुटीको अथाह सम्भावना बोकेको यो प्रदेशमा पर्याप्त लगानीका आधार छैनन् ।
प्रदेशले विकासमा हालसम्म ठूलो फड्को मार्न सकिरहेको छैन । अन्य क्षेत्रमा पछि परेको सुदूरपश्चिम खेलकुदमा भने अब्बल देखिएको छ । यही विकट क्षेत्रबाट आएका विद्यालय स्तरका खेलाडीले ‘१४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ मा बाजी मारेका छन् । अन्य प्रदेशलाई पछि पार्दै उनीहरु प्रथम बनेका हुन् ।
यसपटकको प्रतियोगितामा सुदूरपश्चिमका खेलाडीले उत्कृष्ट प्रदर्शनी देखाएका छन् । खेलकुद प्रशिक्षणका लागि पर्याप्त प्रशिक्षक र संरचना नभएपनि उनीहरु आफ्नो मेहनत र लगनशीलताले ‘च्याम्पियन’ बनेका छन्, जुन वास्तवमै तारिफयोग्य छ । वैशाख ४ देखि ६ गतेसम्म राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, सातदोबाटोलगायत विभिन्न स्थानमा प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते, उसु विधामा प्रतिस्पर्धा गरिएको थियो । मार्सलआर्ट्सतर्फ पर्ने उसु, कराते र तेक्वान्दोअन्तर्गत प्रत्येकमा १२ स्वर्ण, १२ रजत र १८ कास्य पदकको व्यवस्था गरिएको थियो । त्यस्तै, भलिबल र कबड्डीतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, एथ्लेटिक्सतर्फ २६ स्वर्ण, २६ रजत र २६ कास्य राखिएको थियो ।
प्रतियोगितामा कूल ६६ स्वर्ण, ६६ रजत र ८४ कास्य पदक राखियो । पहिलो स्थानमा आएको सुदूरपश्चिमले १९ स्वर्ण, १२ रजत र १८ कास्य गरी ४९ पदक जितेको छ । बागमती दोस्रो स्थानमा आएको छ । १७ स्वर्ण, १२ रजत र १५ कास्य गरी बागमतीले ४५ पदक हात पारेको छ । तेस्रो स्थान हासिल गरेको कर्णालीले ३१ पदक आफ्नो नाममा सुरक्षित गरेको छ । जसमा १० स्वर्ण, पाँच रजत र १६ कास्य छन् ।
त्यस्तै, कोशीले आठ स्वर्ण, नौ रजत र नौ कास्य गरी २६ पदक हासिल गरेको छ । लुम्बिनीले ६ स्वर्ण, ११ रजत र १८ कास्य गरी ३५ पदक जितेको छ । छैठौंमा आएको गण्डकीले २६ पदक हात पारेको छ । गण्डकीले तीन स्वर्ण, १० रजत र १३ कास्य प्राप्त गरेको हो । अन्तिममा मधेश रहेको छ । मधेशले कूल १८ पदक जितेको छ । जसमा तीन स्वर्ण, ६ रजत र नौ कास्य रहेको छ ।
विद्यालयस्तरबाट खेलिने केन्द्रस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्देश्य खेलकुद क्षेत्रको विकास गर्नु हो । स्थानीय, प्रदेश र संघस्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गरी उत्कृष्ट, अनुशासित, सक्षम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मुलुकको छवि उच्च बनाउन योगदान पुर्याउने खेलाडी तयार पार्न वर्षेनी यस प्रतियोगिताको सञ्चालन गर्दै आइएको छ ।
विडम्बनापूर्ण सरकारले जहाँ सबैभन्दा बढी जहाँ लगानी गरिरहेको छ, त्यहाँको अपेक्षाकृत नतिजा आउन सकेको छैन् । विगतका वर्षभन्दा नतिजा खस्किँदो छ । उत्कृष्ट खेलाडी उत्पादनमा प्रशिक्षकहरुको ध्यान नजाँदा खेलकुदमाथि गरिएको लगानी ‘बालुवामा पानी’ भइरहेको छ । बागमती प्रदेशमा १३४ प्रशिक्षक छन् । जबकी सुदूरपश्चिममा ३४ मात्रै ।
तर, प्रतियोगितामा भाग लिने विद्यार्थीको संख्या सबै प्रदेशबाट एउटै थियो । यता, संरचनाको हिसाबमा पनि बागमती अगाडि छ । बागमतीमा खेलकुद संरचनामा धेरै विकास भएको पाइन्छ । सुविधासम्पन्न बागमतीलाई हराएर प्रथम स्थान हासिल गर्नु सुदूरपश्चिमका लागि अवश्य पनि चानचुने कुरा होइन् । यसपटक गण्डकी प्रदेशले पनि राम्रो प्रदर्शनी देखाउन सकेन ।
खेलकुदमा बागमतीपछिको गण्डकीको नतिजा पनि लज्जास्पद देखियो । प्रशिक्षकले खेलाडीलाई नियमित प्रशिक्षण नदिँदा र प्रोत्साहन नगर्दा उनीहरुको मनोबल खस्कँदै गएको गण्डकीको प्रदर्शनीबाट देखिएको छ । प्रशिक्षकको बेवास्ताका कारण गण्डकी यसपटक पुछारबाट दोस्रो स्थानमा आएको छ । सँधै उत्कृष्ट प्रदर्शनी गर्ने गण्डकीलाई यो ठूलो झड्का हो ।
नेपालको खेलकुदको ‘हब’ मानिने गण्डकीले सँधै अन्य प्रदेशलाई टक्कर दिँदै आएको थियो । तर, अहिले भने गण्डकीले सोचेअनुरुप नतिजा ल्याउन सकेन । हुनत गण्डकीमा यसअघि बबण्डर नै मच्चिएको थियो । केन्द्रस्तरको प्रतियोगिता खेल्ने खेलाडी छनौटका लागि सञ्चालन गरिएको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मापदण्डविपरीत खेलाडीलाई सहभागी गराइएको थियो ।
१२ जना खेलाडी तयार पार्न नसक्दा उसु विधाका प्रशिक्षकले तोकिएको उमेर समूहभन्दा माथिको खेलाडी छिराएका थिए । यसले प्रशिक्षक खेलाडीको भविष्यप्रति गम्भीर छैनन् भन्ने स्पष्ट पार्दछ । एक वर्षको अवधिमा तोकिएको संख्याजति खेलाडी उत्पादन गर्न नसक्नु लाजमर्दो पक्ष हो । तर, सरोकारवाला निकाय यसतर्फ आँखा चिम्लेर बसेको छ ।
उत्कृष्ट खेलाडी तयार गर्न प्रशिक्षक चुकेको भन्दै यतिबेला व्यापक प्रश्न उठेको छ । प्रशिक्षकको बेवास्ताले मुलुकलाई खेलकुदमार्फत विश्वमा चिनाउने सरकारको उद्देश्य चक्नाचुर हुने देखिएको छ । विद्यालयस्तरका खेलाडी भोलिको खेल क्षेत्रको भविष्य हुन् । उनीहरुलाई राम्रो प्रशिक्षण दिन सकेमा मुलुकको खेल क्षेत्र उकासिन्छ । राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने खेलाडी उत्पादन गर्न सबै सरोकारवाला निकायले हातेमालो गर्नुपर्ने देखिन्छ ।
विडम्बना, त्यसो हुन सकेको छैन । जसका कारण खेलाडीहरुले खेल क्षेत्रमा आफ्नो भविष्य देख्न सकिरहेका छैनन् । होनहार र भविष्यमा खेलकुद क्षेत्रमा ठूलो योगदान पुर्याउन सक्ने खेलाडीको प्रशिक्षणमा सरोकारवाला निकायले ध्यान नदिने हो भने खेलाडीको स्तर बढ्ने होइन्, थप खस्किँदै जाने खेलकुदविद्हरु बताउँछन् । खेलाडीलाई पर्याप्त प्रशिक्षण नदिँदा अपेक्षाकृत नतिजा आउन नसकेको उनीहरुको भनाइ छ ।
कुन प्रदेशमा कति प्रशिक्षक ?
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दिएको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रशिक्षक बागमतीमा छन् । बागमतीमा १३४ जना छन् भने त्यसपछि कोशी रहेको छ । कोशीमा ७९ प्रशिक्षक कार्यरत छन् । क्रमशः लुम्बिनीमा ४६, मधेशमा ४४, सुदूरपश्चिममा ३४, गण्डकीमा १३ र कर्णालीमा १२ रहेको देखिन्छ । यो प्रदेशमा रहेका स्थायी प्रशिक्षकको तथ्याङ्क हो ।
प्रशिक्षकलाई मात्र दोष लगाउन मिल्दैन : राखेप
राखेपले प्रशिक्षकलाई मात्र दोष लगाउन नमिल्ने बताएको छ । प्रशिक्षक ‘ए–वान’ हुँदापनि अपेक्षाकृत नतिजा आउन नसकेको राखेपका सूचना अधिकारी खुशराज दाहालले बताए । सोचेअनुरुप नतिजा नआउनुमा थुप्रै कारण भएको उनको भनाइ छ ।
उनले भने, ‘यो विद्यालयस्तरबाट खेलाडी तयार पारिने एउटा प्रतियोगिता हो । प्रदेशमा ‘ए–वान’ प्रशिक्षक हुनुहुन्छ । विद्यालयमा कस्ता खेलाडी छन् ? विद्यार्थीको शारीरिक अवस्था कस्तो छ ? यसमा पनि भर पर्छ । प्रशिक्षकले खेलाडी विद्यालय भित्रबाटै छनौट गर्नुपर्ने हुन्छ । त्यसैले यसमा प्रशिक्षकलाई मात्र दोष दिएर हुँदैन ।’
टिप्पणीहरू