दुर्गा प्रसाईं औपचारिक रुपमा भोलि बिहान मात्रै समातिँदै

दुर्गा प्रसाईं औपचारिक रुपमा भोलि बिहान मात्रै समातिँदै

चैत १५ गते राजधानीको तीनकुनेमा हिंसा मच्चाएर भारत पुगेका दुर्गा प्रसाईं भारतमा पक्राउ परेको खबर बाहिरिएको छ । राजा फर्काउने,बैंकको ऋण नतिर्ने भन्दै सर्वसाधारणलाई उराल्दै आएका उनी पक्राउ परेको औपचारिक जानकारी प्रहरीले दिएको छैन ।

प्रसाईंको सचिवालयले भारतको असाम राज्यको प्रहरीसमक्ष आत्मसर्पण गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएको छ । नेपाल प्रहरीले भने हालसम्म पक्राउ नपरेको उल्लेख गर्दै प्रसाईं रहेको पछिल्लो स्थानबारे जानकारी भएको बताएको छ ।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएकाले पक्राउ परेकाहरुलाई औपचारिक रुपमा जानकारी नदिई हस्तान्तरण गर्ने चलन छ । सम्भवतः प्रसाईंको हकमा पनि भोलि त्यस्तै हुनेछ ।

उता भारतीय अधिकारीहरुले प्रसाईं लाई पक्रेर अनौपचारिक रुपमा बुझाउँदा नेपालसँग सम्बन्ध सुधार्ने उपयुक्त अवसरको रुपमा लिएका छन् । यसबाट राजावादीहरुलाई भारतको समर्थन नरहेको सन्देश दिन मौका पनि मिल्ने छ । प्रसाईंविरुद्ध राजकाजसहित संगठित अपराधको मुद्दा आकर्षित हुने प्रहरी स्रोतले बतायो । तीनकुने,कोटेश्वर र सिनामंगल क्षेत्रमा चैत १५ गते भएको तोडफोड र आगजनीमा  ४६ करोड रुपैयाँ क्षति भएको हिसाब छ । उक्त क्षति प्रसाईंबाटै पुर्ताल गराउन अदालतसमक्ष माग गरिने छ । 

यसअघिका मुद्दामा अदालतमा उपस्थित गराउँदा प्रसाईंले इजलाससमक्ष जिब्रो देखाउँदै आफूलाई क्यान्सरले छोएको बताएर सहानुभूति बटुल्ने गरेका थिए । क्यान्सर रोगी भन्ने बित्तिकै न्यायाधीशहरुले दयाभाव राख्ने गरेकाले उनी पटक पटक धरौटीमा छुट्ने गर्दथे ।

टिप्पणीहरू