अपराधमा नयाँ प्रयोग : हेल्मेटभित्र लाखौं रकम

अपराधमा नयाँ प्रयोग : हेल्मेटभित्र लाखौं रकम

पछिल्लो समय स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेको संख्या हवात्तै बढेको छ । विशेषगरी यो प्रवृत्ति नेपाल–भारत सीमा क्षेत्रमा बढी देखिएको छ । अपराधका घटना बढेसँगै अपराधिक कार्यमा संलग्न व्यक्तिहरुले नयाँ र नौलो शैलीमा ती कार्यहरु गर्दै आइरहेका छन् । 

अहिले अपराधका प्रकृति र प्रवृत्ति फेरिएसँगै यस्ता कार्यमा संलग्न व्यक्तिहरुले अपराधजन्य क्रियाकलापमा पनि नयाँ जुक्ति निकालेका हुन् । दुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारी साधनको सिटमुनि अथवा गाडीको डिक्कीभित्र लुकाएर रकम ओसार्ने पुरानो शैलीलाई विस्थापित गरी अहिले मोटरसाइकल चालकले लगाउने हेल्मेटभित्र लुकाएर रकम ओसार्न थालिएको छ ।

गत माघ २६ गते सशस्त्र प्रहरी बल नेपालको टोलीले मोटरसाइकलको हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा १८ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गर्यो । भारतको बिहार, मोतिहारी जिल्ला रक्सौल–११ का २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार वीरगञ्ज नजिकै पक्राउ परेका हुन् । 

भारतीय नम्बर प्लेटको दुई वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित वीरगञ्ज–रक्सौल सडकखण्डबाट प्रहरीले समातेको हो । पक्राउ परेका राकेशको हेल्मेटभित्र नौ लाख र प्रशन्जितको हेल्मेटभित्र नौं लाख नेपाली रुपैयाँ फेला परेको थियो । साथै, उनीहरुको साथबाट प्रतिबन्धित पाँच सय दरका चार थान भारतीय रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

ती भारतीयले नेपाली रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको भनाइ छ । यस्तै, माघ २९ गते पनि हेल्मेटमा लुकाएर लाखौं रुपैयाँ ओसार्ने क्रममा वीरगञ्ज महानगरपालिका–१६ इनरुवाका २५ वर्षीय रामप्रवेश कुमार पक्राउ परे । 

वीरगञ्जस्थित बिओपीका सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एभी ३४७७ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनले लगाएको हेल्मेटबाट स्रोत नखुलेको आठ लाख रुपैयाँ फेला पारेको थियो ।

  
फेला परेका रकममध्ये एक हजार दरका ७५० थान र एक सय दरका ५०० थान नेपाली नोट हुन् । बरामद मोटरसाइकल र एक थान मोबाइलसहित उनलाई नियन्त्रणमा लिइएको थियो । गत सोमबार भारतबाट हेल्मेटमा लुकाएर ल्याइएको लाखौँ रुपैयाँ नेपाल–भारत सीमामा समातियो । वीरगञ्ज महानगरपालिका–१६, इनर्वागाउँका २५ वर्षीय ओमकुमार साह अवैध रकमसहित पक्राउ परेका हुन् । हेल्मेटमा लुकाएर आठ लाख २० हजार रुपैयाँ रक्सौलबाट वीरगञ्जतर्फ ल्याउने क्रममा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उनलाई रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको थियो । 

प्रहरीका अनुसार रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.३५ प ८४३४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनले लगाएको हेल्मेटबाट स्रोत नखुलेको नगद फेला परेको हो । यी त केही उदाहरण मात्रै हुन् । पछिल्लो समय भारतसँग सीमाना जोडिएका जिल्ला तथा नाकाहरुमा धेरैजसो स्रोत नखुलेको रकम बरामद भइरहेको छ ।
 
यातायात व्यवस्था ऐन, २०४९ मा दुई पाङ्ग्रे सवारी साधन चलाउँदा हेल्मेट अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर, अहिले हेल्मेटकै सहायताले अपराधिक क्रियाकलापमा टेवा पुगिरहेको यी घटनाहरुले स्पष्ट पार्छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो समय स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेको संख्या अप्रत्याशित ढंगले बढेको छ । 

आर्थिक वर्ष २०७५/०७६ मा प्रहरीले स्रोत नखुलेको एक करोड ५९ लाख १० हजार ९५९ रुपैयाँसहित १३ जनालाई पक्राउ गरेको थियो । जसमा महानगरीय प्रहरी कार्यालयले ३१ लाख ९८ हजारसहित तीन जनालाई पक्राउ गरेको हो । 

यसैगरी, तत्कालीन प्रदेश नम्बर २ मा ८३ लाख ६९ हजार २५० सहित ६ जना, बागमती प्रदेशमा १२ लाखसहित एक जना, गण्डकी प्रदेशमा ३१ लाख २८ हजार ७०९ रुपैयाँसहित २ जना र लुम्बिनी प्रदेशमा स्रोत नखुलेको १५ हजार रुपैयाँसहित एक जना समातिएको थियो । 

आर्थिक वर्ष २०७६÷०७७ मा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबाट मात्रै स्रोत नखुलेको ६२ लाख १८ हजार ५ सय रुपैयाँसहित ७ जना समातिए । जसमा मधेश प्रदेशबाट ५९ लाख २० हजार ५ सय रुपैयाँसहित ६ जना र सुदूरपश्चिम प्रदेशबाट २ लाख ९८ हजारसहित एक जना पक्राउ परेका हुन् । 

आर्थिक वर्ष २०७७÷०७८ को तथ्याङ्कले विभिन्न प्रदेशबाट ४७ जना स्रोत नखुलेको ७ करोड २९ लाख २७ हजार ८५० रुपैयाँसहित पक्राउ परेको जनाउँछ । तीमध्ये काठमाडौं उपत्यकामा प्रहरी कार्यालयले मात्रै १७ जनालाई स्रोत नखुलेको ३ करोड २३ लाख ३४ हजार रकमसहित पक्राउ गरेको हो । 

उता मधेश प्रदेशमा ३ लाख ९९ हजार ८५० रुपैयाँसहित २३ जना, लुम्बिनी प्रदेशमा ६ लाख ९ हजारसहित ५ जना र सुदूरपरिश्चम प्रदेशमा ३४ लाख ९४ हजारसहित २ जना समातिएका थिए । 

आर्थिक वर्ष २०७८/०७९ मा स्रोत नखुलेको ११ करोड ५४ लाख ४४ हजार ६२४ रुपैँयासहित ६६ जना समातिएको बताइन्छ । तीमध्ये काठमाडौं उपत्यकामा प्रहरीले ८१ लाख ६९ हजार ७२० रुपैयाँसहित १६ जनालाई नियन्त्रणमा लिएको थियो । 

त्यस्तै, प्रदेश नम्बर १ बाट ४४ लाख ७७ हजार ६७० रुपैयाँसहित ११ जना, मधेश प्रदेशबाट १६ लाख ५७ हजार ७९० रुपैयाँसहित २७ जना, बागमती  प्रदेशबाट १६ लाख ३२ हजार ९ सय रुपैयाँसहित २ जना, लुम्बिनी प्रदेशबाट ९५ लाख ३३ हजार १४ रुपैयाँसहित ८ जना र सुदूरपश्चिम प्रदेशबाट २१ लाख ५३ हजार ४२० रुपैयाँसहित २ जना पक्राउ परेको विवरण प्राप्त भएको छ । 
चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्तसम्म स्रोत नखुलेको ३ करोड ३२ लाख ९२ हजार ३३० रुपैयाँसहित २० जना पक्राउ परिसकेका छन् । काठमाडौँ उपत्यकामा मात्र १ करोड ६३ लाख ४८ हजार ५० रुपैयाँसहित ३ जना प्रहरी नियन्त्रणमा पुगेका छन् ।

यसैगरी, प्रदेश नं. १ मा २० लाख ९ हजारसहित २ जना, मधेश प्रदेशमा १ करोड २७ लाख ४८ हजार ४८० रुपैयाँसहित १२ जना, बागमती प्रदेशमा २६ हजारसहित १ जना, लुम्बिनी प्रदेशमा १३ लाख ८ सय रुपैयाँसहित १ जना र सुदूरपश्चिम प्रदेशमा ८ लाखसहित १ जनालाई पक्राउ गरिएको छ । यसरी अवैंध कारोबार वा स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेको संख्या बढ्दो क्रममा रहेको पछिल्ला विवरणले पनि देखाएको छ ।
 
नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलका अनुसार पछिल्लो समय स्रोत नखुलेको रकमसहित पक्राउ पर्नेको संख्या हवात्तै बढेको छ । उनी आर्थिक अभाव, बेरोजगारी, गरिबीलगायत जटिल समस्याका कारण यस्ता घटनाहरु दिनहुँ बढ्दै गएको बताउँछन् । 

बढ्दो महंगी र बेरोजगारीका कारण यस्ता अपराध गर्नेहरुको संख्यामा वृद्धि भएको बताउँदै उनले प्रहरीद्वारा बरामद रकम राजश्व अनुसन्धान विभागमा पठाउने गरिएको जानकारी दिए । उनले भने, ‘प्रहरीद्वारा बरामद यस्ता अवैध रकम राजश्व अनुसन्धान विभाग पठाइन्छ । विभागले त्यस्तो रकमको स्रोतको खोजी गर्दा कानुनसम्मत देखेमा फिर्ता गर्छ । तर, यसरी बरामद भएको अधिंकाश रकमको स्रोत फेला नपर्ने भएकाले त्यो रकम नेपाल सरकारको धरौटी खातामा जम्मा हुने गरेको छ ।’

टिप्पणीहरू