बलियो स्कटल्याण्डको कीर्तिपुरमा कमजोर प्रदर्शन, नेपाललाई क्लिनस्विपको मौका

बलियो स्कटल्याण्डको कीर्तिपुरमा कमजोर प्रदर्शन, नेपाललाई क्लिनस्विपको मौका

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डका ब्याट्सम्यानहरुलाई नेपाली बलरहरुले सुरुबाटै दबाबमा राखेका थियो । स्कटल्याण्डका लागि एचजि मुन्सीले आक्रमक सुरुआत गरेका थिए ।

५० बलमा ६० रन बनाएका उनलाई सन्दीप लामिछानेले १४ औँ ओभरमा बोल्ड आउट गरेपछि स्कटल्याण्डको इनिङ धरासायी भएको हो । उसका लागि मुन्सी र म्याथु क्रसले बाहेक अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । ६३ बलमा ४२ रन बनाएर खेलिरहेका क्रसलाई दिपेन्द्रसिंह ऐरीले रनआउट गरेपछि नेपाल खेलमा हावी भएको हो ।   

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिएका छन् । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 

सात टोलि सम्मिलित लिग २ मा स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा छ । कूल ३६ मध्ये ३५ खेलमा ५० अंक बनाएको स्कटल्याण्ड लिग २ को बिजेतासमेत हो । 

नेपाल भने पुछारबाट दोस्रो स्थानमा रहेको छ । २७ खेलबाट २४ अंक बटुलेको नेपालले ९ खेल खेल्न बाँकी छ ।    

जारी शृंखलामा तीन खेल खेल्दा तीनवटै जित हात पारेको नेपालले आज बलियो टोलि स्कटल्याण्डलाई पराजित गरे ईतिहास बन्नेछ । लिग २ मा एक शृंखलामा अहिलेसम्म कुनै पनि टिमले चारवटै खेल जितेको छैन ।

टिप्पणीहरू