शौचालयमा समेत नाम लेखाउँछन् सरहरु

शौचालयमा समेत नाम लेखाउँछन् सरहरु

गर्ने काम नगर्ने, नगर्नुपर्नेमा जोडबल लगाउने चलन अन्त्य गर्न सशस्त्र प्रहरीले एउटा विशेष सर्कुलर नै जारी गर्नुप¥यो ।  युनिट सम्हाल्न गएका कमाण्डरले एउटा चर्पी बनाउँछन् र ग्रेनाइटको मार्बलमा कालो अक्षरले लेखाउँछन्, ‘कार्यकाल फलानोको’ भनेर । एउटा गण, गुल्ममा दर्जनौं त्यस्ता शिलालेख भेटिन थाले । पर्खाल बनाएको छ, माटोले लिपेर, नाम लेख्नचाहिँ मार्बल छाप्ने ! टेबुल टेनिस कोर्ट बनाएको छ, कोर्टभन्दा मार्बलको अक्षर चम्किलो पारिदिने ! त्यसैले त्यस्ता शिलालेखमाथि सशस्त्रले प्रतिबन्ध लगाएको छ । भएका शिलालेख पनि नष्ट पारिएको छ । अबदेखि संघीय, प्रदेश र स्थानीय तह (सरकार) को सहयोगमा बनेको संरचनामा मात्रै शिलालेख लेख्ने गरी परिपत्र भएको छ । नत्र, शौचालय, पानी तान्ने पम्पसेटमा पनि नाम लेख्ने होडबाजी मौलाएको थियो ।

अर्कातिर, सम्हालेको युनिटमा संगठनको मूल्य र मान्यताबाट च्युत भई कार्यसम्पादन गर्ने कमाण्डरहरु धमाधम कारवाहीमा पारिँदैछन् । तर, कर्मकाण्डी कारवाही हुँदा गल्ती गर्नेहरु डराउने स्थिति भने छैन । काकडभिट्टामा तर मारेर सिन्धुलीमा कार्यरत डिएसपी दिनेश बस्नेत कारवाहीबाट जोगिएका छन् । इन्स्पेक्टर रोशन जोशीमाथि ‘चेतावनी’ को कारवाही भएको छ, जुन रेकर्डमा जनिँदैन । उनले कञ्चनपुरको गड्डाचौकीबाट जमुनाहा नाकामा जम्प हान्ने मौका पाएका थिए । बुटवलमा नेवार थरकी धनाढ्य महिलाको पैसा खाइदिएको र घरबार बिगारेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । अर्का एसपी रुपकुमार क्षेत्रीहरुमाथि नियमले नचिन्ने कारवाही भयो । अर्थात्, बद्मासहरुलाई रेकर्डमा नजनिने गरी ‘सचेत’ गराउने र सरुवा गर्ने काम भइरहेको छ ।

 

उता, नेपाल प्रहरीका एसपी सविन प्रधानले महिनावारी ४० हजार हाराहारीको जागिरबाट राजीनामा दिएर साढे दुई लाख कमाई हुने काम पाएका छन् । उनले काठमाडौंस्थित अमेरिकी दूतावासको सिभिल स्पेशलिष्ट सुपरभाइजर पदमा जागिर शुरु गर्नै लागेका हुन् । नेपाल प्रहरीको असईबाट २०५१ भदौ १६ गते जागिर शुरु गरेका उनले ०७५ जेठ २९ मा एसपीमा बढुवा पाएका थिए । तर, असईदेखि नै उनका व्याची दिनेश मैनाली, रवि पौडेल, बेलबहादुर पाण्डे, वीरबहादुर ओली, चन्द्रदेव राई, हिरा पाण्डे, रविन्द्र रेग्मी, कृष्ण प्रसाई, अवदेश विष्टहरु उही पैसामा एसपीकै जागिरमा रमाइरहेका छन् । 
 

टिप्पणीहरू