क्रान्तिका खातिर जसले पतिको ज्यान लिइन्
डेढ सय वर्षदेखि शासन गरिरहेको अंग्रेज सरकारसँग लड्न र भारतलाई स्वतन्त्र पार्न नेताजी सुभाषचन्द्र बोसले ‘आजाद हिन्द फौज’ को पुनर्गठन गरेका थिए । दोश्रो विश्वयुद्धताका बेलायत एउटा जापान र जर्मनी अर्को खेमामा थिए । अंग्रेजहरूलाई परास्त गर्ने हो भने उनीहरूका शत्रुसित मित्रता गाँस्नु पर्दछ र सहयोग लिनुपर्छ भन्ने हेतुसहित बोसले जापानसित सहयोग मागे । र, उसैको सहयोगमा ४० हजार सेना तयार पारे, जसमा महिला र पुरुष दुबै थिए । बोसले यिनै सेनाको आडमा सिंगापुरमा भारतको अस्थायी सरकार गठन गरे, सन् १९४३ को अक्टोबर २१ मा । राष्ट्रपति, प्रधानमन्त्री र सेनाध्यक्षको पद आफैँले सम्हाले । जापानसित मिलेर बर्मामा युद्धसमेत लडे । तर, दोश्रो विश्वयुद्धको अन्त्यतिर आइपुग्दानपुग्दै पासा पल्टियो, जापान र जर्मनीले मित्रराष्ट्रका सेनासमक्ष आत्मसमर्पण गर्न पुगे । नतिजा, अंग्रेज सेनाले आजाद हिन्द सेनाका कमाण्डर र जवान सबैलाई बन्दी बनाए । नेताजी बोस जापानतिर पलायन भए । र, रहस्यात्मक तवरले लापता भए ।
पक्राउ पर्नेमा निरा आर्या पनि थिइन् । उनी आजाद हिन्द फौजको झांसी रेजिमेन्टमा संलग्न । त्यतिखेर ४३ वर्षकी । उनलाई कोलकाताको जेलमा लगी अन्य महिला अपराधीलाई राखिएकै कोठामा राखियो । ओढ्ने, ओछ्यान केही दिइएन । रातिको १० बजे जसोतसो भुइँमै सुत्ने प्रयास गरिन् । एकछिनपछि निदाइन् पनि । १२ बजे सिपाही कोठाभित्र पसे र शरीरमा पर्ने गरी ओढ्ने फ्याँकेर बाहिरिए । फलामे हथकडी र नेलको कारण ओढ्ने तान्न र मिलाउन निकै गाह्रो भयो । अनेक जुक्ति लगाएर ओढ्ने र गहिरो निद्रामा परिन् । सूर्योदयसँगै खिचडी खान दिइयो । एकछिनपछि कोठाभित्र लोहारले प्रवेश गरे । निराको शरीरमा बेरिएको सिक्री काट्ने बेला अलिकति छाला पनि काटिदिए । खुट्टाको नेल काट्ने बेला पिँडौला र नलीहाडमै पर्ने गरी जानाजान दुई तीन पटक हथौडा बजारे ।
दुखाइ सहन नसकेपछि निराले रिसाएर भनिन् ‘के तिमी अन्धो छौ ? हथौडा मेरो खुट्टामा किन मार्दैछौ ?’
उनले हाँस्दै जवाफ दिए ‘तिम्रो खुट्टा कतिको पुष्ट छ भनेर जाँचेको । खुट्टाको के कुरो, म त तिम्रो छातीमा पनि हान्दिन्छु । तिमी मलाई के गर्न सक्छौ ?’
‘बाँधिएकी छु, त्यसैले केही गर्न सक्दिनँ’ भन्दै निराले लोहारलाई लक्ष्य गरी थुकिदिइन् अनि भनिन् ‘महिलाको इज्जत गर्न सिक ।’
त्यतिञ्जेल जेलर पनि पुगिसकेका थिए । उनले भने ‘तिमीलाई रिहा गरिदिन सक्छु, तिम्रो नेता सुभाषचन्द्र बोस कहाँ छन् बतायौ भने ।’
‘उनी हवाई दुर्घटनामा मरिसके । यो कुरो सम्पूर्ण संसारलाई थाहा छ ।’
‘नेताजी मरेका छैनन् । तिमी झूठ बोल्दैछौ ।’
‘हो, उनी जिउँदै छन् ।’
‘त्यसोभए भन, उनी यतिखेर कहाँ छन् ?’
‘मेरो हृदयमा ।’
जेलरले रिसाएर भने ‘त्यसो भए तिम्रो हृदयबाट नेताजीलाई निकालेर फ्याँकिदिन्छु ।’
त्यति भन्दै जेलरले निराको छातीमा हात लगाए । लुगा च्यातिदिए । अनि लोहारतिर संकेट गरे । आदेश पाउनेबित्तिकै लोहारले झारपात काट्ने ठूलो कैंचीजस्तो औजार उठाए र निराको दायाँ स्तन च्याप्न थाले । धन्न, औजार धारिलो रहेनछ । खिया लागेर धार भुत्ते भैसकेको रहेछ । स्तन बेस्सरी च्यापेकोले असह्य पीडाले निरा छट्पटाउन थालिन् । जेलरले ‘अझ छट्पटाउँछेस् ?’ भन्दै पछाडिबाट गर्धन करक्क हुने गरी समाते । अनि रिसले आगो ओकल्दै धम्क्याए ‘फेरि पनि मुखमुखै लाग्यौ भने तिम्रो यो दुइटा फुलेको बेलुन छातीबाट अलग्ग्याइदिन्छु ।’
जेलर त्यतिमै चुप बसेनन् । चिम्टीजस्तो औजारले निराको नाकमा हान्दै भने ‘आफूलाई भाग्यमानी ठान र भिक्टोरिया महारानीलाई धन्यवाद देऊ, धन्न यो औजार तातेको थिएन नत्र तिम्रो यो दुवै स्तन शरीरबाट अलग्ग हुन्थ्यो’ (कसै–कसैले स्तन एउटा काटि नै दिएको भन्ने गरेका छन् ।)
निरामाथिको यातना त्यतिमै टुंगिएन । उनले दिनैपिच्छे बर्बर यातना सहिन् । उनीमाथि जासुसी गरेको, हत्या र सशस्त्र क्रान्तिमार्फत ब्रिटिश सरकारको सत्ता पल्टाउने दुस्प्रयास गरेको आरोप लगाइयो । पछि ब्रिटिश सरकारले आजीवन कारावासको सजायँ सुनायो र ‘कालापानी’ भनिने, म्यान्मारभन्दा १ सय ३० किलोमिटर टाढाको टापु अण्डमानमा पठायो । त्यहाँको जेलका कोठाहरू यति सानो र साँघुरा हुन्थे कि थुप्रै बन्दीलाई कोचेर राखिन्थ्यो । यस्तो अवस्थामा कतिपय बन्दी सास फेर्न गाह्रो भएरै मर्थे । निरालाई राखिएको कक्ष पनि त्यस्तै सानो थियो र महिला राजनीतिक बन्दीले खचाखच भरिएको थियो । अत्याचार त यतिसम्म गरिन्थ्यो कि जाडोको याममा समेत ओढ्ने र ओछ्याउने दिइन्नथ्यो । त्यहाँ पनि निराले असहनीय यातना भोगिन् । पटकपटक बेहोस् नहुन्जेल उल्टो झुन्डिनुप¥यो । एकदिन गोलो काठे चक्कामा बाँधेर चक्कालाई फनफनी घुमाइयो । बेहोस भएपछि नजिकैको अर्को टापुमा फ्याँक्न लगाइयो । होस आउँदा आदिवासीको घेराउमा पाइन् । आफ्नो परिचय दिइन् । संयोगवश, ती आदिवासीहरू पनि अंग्रेज विरोधी थिए । उनीहरूले निरालाई सहयोग गरे । एउटा डुंगा व्यवस्था गरी भगाइदिए । उनी जसोतसो भारतको हैदराबाद पुगिन्, त्यसबेलासम्ममा भारत स्वतन्त्र भइसकेको थियो ।
निरा उनै थिइन्, जसले क्रान्तिका लागि आफ्नै लोग्नेलाई समेत मारेकी थिइन् । निराको जन्म वर्तमान उत्तरप्रदेशमा पर्ने खेकडा नगरमा भएको थियो । सानैमा आमाबुबाको मृत्युपश्चात् सेठ छज्जुमलले उनी र उनका दाजु वसन्तकुमारलाई छोराछोरीसरह पाल्न शुरु गरे । छज्जुमललाई भारतको स्वतन्त्र संग्रामसित कुनै लेनादेना थिएन तर उनका धर्मपुत्र वसन्तकुमार शुरुदेखि नै स्वतन्त्रताको लडाइँमा होमिए, आजाद हिन्द फौजमा भर्ती भए । निरा पनि दाजुको पाइला पछ्याउँदै सोही सेनामा भर्ती हुन पुगिन् । भनिन्छ, एकदिन पौडी खेल्दै गर्दा निरा नदीमा डुब्न थालिन् । उनलाई नेताजी सुभाषचन्द्र बोसले बचाए । उक्त घटनापछि निराले बोसलाई दाजु मान्न र हरेक वर्ष रक्षाबन्धनको दिन राखी बाँध्न थालिन् ।
निरा हिन्दी, अंग्रेजी र बंगाली भाषामा पोख्त थिइन् । श्रीकान्त जयरञ्जन दाससँग बिहे भयो । श्रीकान्त अंग्रेजभक्त थिए, सिआइडी अफिसर । एकातिर लोग्ने अंग्रेजको सत्ता टिकाउन लागेका थिए भने अर्कोतर्फ पत्नी अंग्रेज सरकारविरुद्ध । निराले बिहेपछि थाहा पाइन् कि श्रीकान्तले धेरैजना स्वतन्त्रता सेनानीलाई पक्रन लगाइसके, यही कुरोमा एकदिन उनीहरूबीच झगडा भयो । निराले आफ्नो जागिर र आफूमध्ये एउटा रोज्न भनिन् । श्रीकान्तले सहजै जागिरलाई रोजे । यसपछि निरा लोग्नेसँग बस्न छोडिन् । उनको वफादार चरित्रको कारण नेताजी बोसले उनलाई अंग्रेजविरुद्ध जासुसी गर्ने जिम्मा दिए । यसर्थ उनलाई भारतको प्रथम महिला जासुस पनि भन्ने गरिन्छ । उनी पुरुषको भेषभूषामा जासुसी गर्थिन् । पछि फौजको क्याप्टेन बनिन् साथै नेताजीको सुरक्षाको जिम्मेवारीसमेत पाइन् ।
यसैबीच, अंग्रेज सरकारले श्रीकान्तलाई नै नेताजी बोसको सुराकी र हत्या गर्ने जिम्मेवारी सुम्प्यो । एकराति, निरा नेताजीको सुरक्षामा तैनाथ थिइन् । उनले नजिकै कोही भएको आभाष पाइन् र ‘को हो? भनेर सोध्दै टर्च बालेर हेरिन् । नजिकै आफ्नो लोग्ने श्रीकान्त हातमा पेस्तोल लिएर नेताजीलाई निशाना साधेर उभिरहेको देखिन् । उनले केही गर्न नपाउँदै गोली चल्यो । तर, गोली बोसलाई नलागी सवारी चालक निजामुद्दिनलाई लाग्यो । निराले कुनै बिलम्ब गरिनन् । श्रीकान्तको पेटमा छुरा घोपिदिइन् । सोही कारण भारत स्वतन्त्रतापछि आजाद हिन्द फौजका सबै जवान जेलबाट रिहा भएपनि उनले श्रीकान्तको हत्या गरेको सजाय भोग्नुप¥यो । बोसले जब निराले आफ्नै लोग्नेको हत्या गरेको देखे, प्वाक्क भनिदिए– नागिन । यसरी पछि उनी निरा आर्य ‘नागिन’ को नाउँले पनि चिनिन थालिन् ।
उनले हैदराबादको सडकका फुटपाथमा फूल बेचेर गुजारा चलाइन् । छाप्रोमा बस्थिन् । त्यहीँ रहँदै एकजना क्रान्तिकारी चौधरी करणसिंह तोमरले चिनेर सरकारसँग सहयोग माग्न आग्रह गरे तर निराले सरकारको तर्फबाट कुनै सहयोग लिन अस्वीकार गरिन् । उनमा राज्यले देश स्वतन्त्रताका लागि पु¥याएको योगदानको कुनै कदर नगरेको भन्दै रोष थियो । यसबीच राज्य सरकारले सरकारी भूमिमा बसेको भन्दै छाप्रो भत्काइदियो । एकदिन बाटोमा हिँड्दाहिँड्दै लडेर बेहोस भइन् । स्थानीयको हारगुहारले चार मिनारनजिकै उस्मानिया अस्पतालमा भर्ना भइन् र त्यहीं दम तोडिन् । सन् १९९८ को जुलाई २६ मा निधन हुँदा ९६ वर्षकी थिइन् । पत्रकार तेजपालसिंह धामा पुग्दा निराको शव लावारिस अवस्थामा अस्पतालबाहिर राखिएको थियो । एक असहाय, गरीब, बिरामी बृद्धाको अन्तिमसंस्कार गर्न न राज्य न कुनै निकाय अघि सरे । उनै पत्रकार धामाको हारगुहारबाट बल्ल दाहसंस्कार सम्पन्न गरियो । निराले दुइटा पुस्तक लेखेकी छन् – ‘मेरा जीवन संघर्ष’ र ‘अण्डमान की अनोखी प्रथाएँ’ ।
टिप्पणीहरू