सैनिक विमानमा सवार डेढ दर्जन चितुवाको खुराक पानी र केरा
भारतमा चितुवाको संख्या बढाउन अनेकौं प्रयास गरिएको छ । सोही क्रममा हालै मात्र दक्षिण अफ्रिकाबाट एक दर्जन चितुवा बोकेको भारतीय वायुसेनाको विमान भारत आएको छ ।
दक्षिण अफ्रिकाबाट पहिलो चरणमा आठ र दोस्रो चरणमा १२ चितुवालाई भारत ल्याउने योजना बनाइएको हो । पहिलो लटमा ल्याइएका चितुवालाई मध्य प्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा छाडिएको छ । यी चितुवासँगै भारतमा अफ्रिकी चितुवाको संख्या २० पुगेको छ ।
भारतले दक्षिण अफ्रिकाको जोहानेसवर्गबाट चितुवा ल्याउन वायुसेनाको सी–१७ विमान त्यसतर्फ पठाएको थियो । अहिले १२ वटा चितुवा ल्याइएको हो । १० घण्टाको निरन्तर उडानपछि विमान ग्वालियर विमानस्थलमा अवतरण गरेको थियो । लामो उडानमा चितुवालाई जोगाउन आकाशमा पानी र केरा खुवाइएको थियो । ग्वालियरबाट चितुवालाई मध्य प्रदेशको कुनो राष्ट्रिय निकुञ्जमा एयरलिफ्ट गरिएको हो ।
उनीहरुलाई मुख्यमन्त्री शिवराजसिंह चौहान र वातावरणमन्त्री भूपेन्द्र यादवले औपचारिक रुपमा जंगलमा छाड्ने कार्यक्रम छ । त्यतिञ्जेल ती चितुवालाई विशेष जालीले घेरिएको जंगलमा छाडिएको हो । १२ वटा चितुवामध्ये पाँच पोथी र सात वटा भाले हुन् ।
यसअघि सेप्टेम्बर २०२२ मा भारतले नामिबिया र दक्षिण अफ्रिकाबाट आठ वटा चितुवा ल्याएको थियो । ती चितुवालाई प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय निकुञ्जमा छाडेका थिए । भारत ल्याइएका विदेशी चितुवाको हेरचाह गर्न निकुञ्जका हेरालुहरूलाई आवश्यक तालिम दिइएको छ । भिन्न परिवेशबाट ल्याइएका जनावरलाई नयाँ ठाउँमा घुलमिल हुन समय लाग्ने भएकाले लामो अवधिसम्म हेरालुले विशेष निगरानी गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।
टिप्पणीहरू